• १३ असोज २०८१, आइतबार

गठबन्धनसँगको सहकार्यलाई अगाडि बढाउनुपर्छ : अध्यक्ष नेपाल

blog

अध्यक्ष माधवकुमार नेपाल

गोरखापत्र अनलाइन

काठमाडौं, मङ्सिर १३ गते । नेकपा (एकीकृत समाजवादी) वर्तमान सत्तारुढ गठबन्धनलाई अगाडि बढाउनुपर्ने पक्षमा उभिएको छ । 

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको नेकपा (एकीकृत समाजवादी) को बैठकले वर्तमान सत्तारुढ गठबन्धनलाई अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको हो । 

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष माधवकुमार नेपालले गठबन्धनका दलहरुका बीचमा भइरहेको सहकार्यलाई अगाडि बढाएर लानुपर्ने बताउनु भयो । 

ठबन्धनका दलहरुसँगको हाम्रो सहकार्य छ, त्यो सहकार्यलाई अगाडि बढाएर लैजानुपर्छ भन्ने हामीले ठानेका छौँ ।

सहकार्यमा जोड दिँदै अध्यक्ष नेपालले भन्नुभयो, ‘‘राष्ट्रिय राजनीति कुन दिशातर्फ अगाडि बढ्छ भन्ने कुराको सन्दर्भमा हामीले गम्भीर चिन्तन, मनन गर्‍यौँ । देश कतै दक्षिणपन्थी दिशातिर त जाँदैन भन्ने कुरालाई हामीले गम्भीरताका साथ लिनुपर्ने र शतर्क हुनुपर्ने आवश्यकता महसुस गर्‍यौँ । यस हिसाबमा गठबन्धनका दलहरुसँगको हाम्रो सहकार्य छ, त्यो सहकार्यलाई अगाडि बढाएर लैजानुपर्छ भन्ने हामीले ठानेका छौँ ।’’

बैठकमा पार्टीका सम्मानित नेता झलनाथ खनालले आफ्नो निर्वाचन क्षेत्रमा पुनः मतदान हुनुपर्ने माग राख्नुभएको सन्दर्भमा सो विषयमा समेत छलफल भएको उहाँले जानकारी दिनुभयो । उहाँले बैठकमा उदयपुर जिल्लाको निर्वाचनका विषयमा पनि छलफल भएको छ भन्नुभयो ।


अध्यक्ष नेपालले भन्नुभयो, ‘‘हाम्रो पार्टीले देशभर पाएको मतको छलफल गर्‍यौँ । इलाम र उदयपुरबारे छलफल गर्‍यौँ । इलाममा अनेकौँ खालका विसङ्गति देखिए । विसङ्गति देखिएको सन्दर्भमा उम्मेदवार हुनुभएका झलनाथ खनालले गम्भीर आपत्ति जनाएर वक्तव्य दिनुभएको सन्दर्भमा कुनै कानूनी उपचारमा जाने र पुनः मतदानको माग गर्ने कुरा उहाँले उठाउनुभएको छ । त्यसबारेमा छलफल भएको छ ।’’

बैठकले पार्टीलाई मतदान गर्ने मतदाता, समर्थक, शुभचिन्तक र मतदान सम्पन्न गराउन भूमिका खेल्ने सरकारी निकायलाई धन्यवाद ज्ञापन गरेको छ । 


प्रवक्ता जगन्नाथ खतिवडाले गठबन्धनका कारण प्राप्त गरेका उपलब्धिलाई रक्षा गर्दै आगामी दिनमा पनि गठबन्धनकै भावनअनुसार काम गर्ने पार्टीको निष्कर्ष रहेको स्पष्ट पार्नुभयो । 

उहाँले भन्नुभयो, ‘‘आज जे–जस्तो मत परिणाम हामीले प्राप्त गर्‍यौँ । यो मत परिणाम हामीले सोचेजस्तो छैन तर सोचेजस्तो छैन भन्दैमा हामीले गठबन्धन सँगसँगै लागेर गठबन्धनका कारणले प्राप्त गरेका उपलब्धिलाई रक्षा गर्नुपर्छ भन्ने ठाउँमा र गठबन्धनको भावना अनुसार भोलि पनि काम गर्नुपर्छ भन्ने ठाउँमा यो निष्कर्षमा हामी पुगेका छौँ ।’’

यो पनि पढ्नुहोस

नयाँ सरकार आगामी पाँच वर्षकै लागि हुन्छ : नेकपा एस