• १३ असोज २०८१, आइतबार

स्याङ्जा–२ र बाजुरामा मतगणना गर्न कांग्रेसका वरिष्ठ नेता पौडेलको आग्रह

blog

स्याङ्जा क्षेत्र नं. २ र बाजुराको मतगणना सुरु गर्न आग्रह गर्दै निर्वाचन आयोग पुग्नुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौं, मङ्सिर १३ गते । नेपाली कांग्रेसले स्याङ्जा क्षेत्र नं. २ र बाजुराको मतगणना गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । मङ्गलबार कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति तथा स्याङ्जा क्षेत्र नं. २ मा कांग्रेसको तर्फबाट उम्मेदवार धनराज गुरुङ, नेता प्रदीप पौडेललगायतको टोली निर्वाचन आयोग पुगेर स्याङ्जा -२ को मतगणना सुरु गर्न आग्रह गर्नुभएको हो ।

त्यस्तै, बाजुराको पनि मतगणना गर्न आग्रह गरिएको छ । कांग्रेस नेताहरुले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरुलाई भेट गरी मतगणना सुरु गर्न आग्रह गर्नुहुँदै ज्ञापनपत्र बुझाउनुभएको छ । प्रमुख निर्वाचन आयुक्तसँगको भेटपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्नुहुँदै कांग्रेसका वरिष्ठ नेता पौडेलले आयोगलाई तुरुन्त मतगणना कार्य सुरु गर्न आग्रह गरिएको जानकारी दिनुभयो ।


स्याङ्जा-२ मा विधिवत् रूपमा निर्वाचन सम्पन्न भएको भन्दै मतगणना रोक्नु आवश्यक नभएको उहाँको धारणा छ । निर्वाचनको समय अवधिभर कुनै पनि घटना नभएको जिकिर गर्नुहुँदै वरिष्ठ नेता पौडेलले छानबिन समिति गठन गर्नु गलत भएको बताउनुभयो । बाजुरामा पनि तुरुन्त मतगणना गर्नुपर्ने उहाँको भनाइ छ ।

कांग्रेसका वरिष्ठ नेता पौडेलले भन्नुभयो, ‘‘अनधिकृत कमिटी बनाएर फेरि अर्को खेल खेल्न खोजेको हो कि ? भन्ने लाग्यो । छानबिन समिति पठाएको नै गलत भयो । ५ बजेभित्र मतदान सम्पन्न भइसकेपछि त्योभित्र भएको घटनामा छानबिन गर्ने हो । त्योभित्र केही घटना भएको छैन र केही भएको छैन । कसैले बतासे उजुर गर्दैमा मतगणना रोक्नु हुँदैनथ्यो । यो गलत भएको छ । तुरुन्त मतगणना होस् । त्यसै गरेर बाजुरामा पनि तुरुन्त मतगणना होस् ।’’

स्याङ्जा २ मा कांग्रेसका तर्फबाट उम्मेदवार रहनुभएका कांग्रेस उपसभापति धनराज गुरुङले निर्वाचन अधिकृतले समेत निर्वाचनमा धाँधली नभएको र कुनै पनि बुथ कब्जा नभएको राय दिइसकेकाले निर्वाचन आयोगले मतगणना सुरु गर्नुपर्ने बताउनुभयो । उहाँले स्याङ्जा २ मा शान्तिपूर्ण रूपमा मतदान भएको जानकारी दिनुभयो ।


‘‘नियम, कानुनबमोजिम, निर्वाचन ऐन निर्वाचन निर्देशिका बमोजिम निर्वाचन सम्पन्न भएको थियो र बुथमा सबै दलका प्रतिनिधि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म बसेर मतदान गराउनुभयो । मुचुल्का उठाएर, सहीछाप लगाएर मतपेटिकाहरू मत गणनास्थलमा ल्याएर, त्यहाँ पनि मतपेटिकाहरू थन्क्याउने र अन्तिममा मुचुल्का उठाएर त्यसमा कांग्रेस,एमालेलगायत सबै दलले सही गरेको अवस्था छ ।,’’ कांग्रेस उपसभापति गुरुङले भन्नुभयो, ‘‘त्यसपछि निर्वाचन अधिकृतले समेत आफ्नो किटानी रायमा त्यहाँ तत् तत् ठाउँमा कुनै धाँधली नभएको, कुनै पनि बुथ कब्जा नभएको र कुनै पनि अशान्ति नभएको भनेर किटानी राय दिइसकेको अवस्थामा निर्वाचन आयोगले आजसम्म मतगणना नगरिदिएकोमा विशेष ध्यानाकर्षण गराएका छौँ ।’’

उहाँले निर्वाचन आयोगले निर्वाचन अधिकृतलाई मतगणना गर्न निर्देशन दिने विश्वास व्यक्त गर्नुभयो ।