• १५ असार २०८१, शनिबार

पढाउनभन्दा विद्यार्थी जोगाउनै चुनौती

blog

रामेछाप समाचारदाता 

रामेछाप, मङ्सिर १२ गते । सुरक्षित र सुन्दर भवन, बालमैत्री कक्षाकोठा, चुस्त दुरुस्त प्रशासनिक तथा व्यवस्थापकीय कक्षहरू, बालमैत्री एवं छात्रामैत्री शौचालय, सिर्जनात्मक अभ्यास कक्ष, इन्डोर र आउटडोर खेल मैदानहरू हरेक विद्यालयको न्यूनतम आधारभूत आवश्यकताहरू हुन् तर रामेछापको मन्थली नगरपालिका–६, भलुवाजोरमा रहेको भीमेश्वर आधारभूत विद्यालयमा यी कुनै पनि पूर्वाधार पुग्न सकेको छैन। 

मन्थली नगरपालिका–६, भलुवाजोरस्थित डाँडाखर्कमा रहेको यो विद्यालयमा कक्षा १ देखि कक्षा ३ सम्म पढाइ हुन्छ। यो विद्यालयसँग ३४ जना विद्यार्थी पढिरहेको तथ्याङ्क भए पनि नियमित पढ्न विद्यालय आउने विद्यार्थी निकै कम छन्। 

यो विद्यालय भौगोलिक रूपमा निकै अप्ठेरो ठाउँमा छ। डाँडाखर्क गाउँकै अप्ठेरो भीरमा रहेको यो विद्यालयमा विद्यार्थीलाई पढ्नुभन्दा पनि जोगिनु र शिक्षकलाई विद्यार्थीलाई पढाउनुभन्दा जोगाउनु ठूलो चुनौती बनेको छ। यो विद्यालयमा विद्यार्थीलाई खेल्ने चौर त परकै कुरा, नियमित लाइन राख्नेसमेत ठाउँ छैन। 

कक्षाकोठाको ढोकाबाट निस्कँदा विद्यार्थी सामान्य तरिकाले हुत्तिए मात्रै भने पनि सिधै भीरबाट खस्ने र ठूलो दुर्घटना हुन सक्ने जोखिम छ। 

यस्तो ठाउँमा रहेको विद्यालयमा सामान्य घेराबारसमेत गरिएको छैन। विद्यार्थी लड्ने डरले बालबालिकालाई दिनभरि कक्षामा थुनेर पढाउनु यहाँका शिक्षकहरूको दैनिकी बनेको छ। यहाँका शिक्षकलाई पढाउनेभन्दा पनि विद्यालय आएका विद्यार्थीलाई कसरी सकुशल घर पठाउन सकिन्छ भन्ने चिन्ताले सताउने गरेको छ। ३४ विद्यार्थी र तीन शिक्षक रहेको यो विद्यालयमा खानेपानी र शौचालयको पनि समस्या छ। विद्यालय नजिकै शौचालय निर्माण गरिएको छ तर प्रयोगमा आएको छैन। शौचालयमा ताला लगाइएको छ। खानेपानीको धारा बनेका छन् तर पानी आउँदैन। 

विद्यालय भौगोलिक रूपमा निकै जटिल ठाउँमा बन्नु नै यहाँको मुख्य समस्या रहेको विद्यालयकी शिक्षिका लक्ष्मी सुवेदीले बताउनुभयो। उहाँले भन्नुभयो, “डरलाग्दो भीरमा विद्यालय छ, सामान्य घेराबार पनि छैन। विद्यार्थीलाई पढाउनुभन्दा पनि लड्छन् कि भन्ने चिन्ता बढी छ।” 

अप्ठेरो भीरमा विद्यालय भएकै कारण सामान्य खेल्ने चौर पनि नभएकाले विद्यार्थी कक्षाकोठामै खेल्न, खाजा खान बाध्य रहेको उहाँले सुनाउनुभयो। “नगरपालिका त्यसमा पनि जिल्ला सदरमुकाम मन्थली नजिकै रहेको विद्यालयको यस्तो हालत देख्दा दुःख लाग्छ। अब दुःख लागेर पनि के गर्नु, जसोतसो पढाएकै छौँ,” उहाँले भन्नुभयो। 

मन्थली नगरपालिकाका प्रमुख लवकुमार श्रेष्ठले अत्यन्तै जोखिमयुक्त ठाउँमा बनेको यो विद्यालय व्यवस्थापनमा आफूहरू गम्भीर रूपमा लागेको बताउनुभयो। उहाँले भन्नुभयो, “विद्यालय आएका बालबालिका भीरबाट लड्न सक्ने ठूलो जोखिम छ, यसलाई ध्यान दिएर नगरपालिकाले तत्काल आवश्यक घेराबारको व्यवस्था गर्नेछ।”