• २५ वैशाख २०८१, मङ्गलबार

प्रकाशमान सिंहको विजयी जुलुस (भिडियो)

blog

काठमाडौं, मङ्सिर ११ गते । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह सहितको टोलीले विजयी जुलुस निकालेको छ। काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा कांग्रेस नेता सिंह र प्रदेश सभामा निर्वाचन १ (क) मा कांग्रेसबाट नै दीपेन्द्र श्रेष्ठ र निर्वाचन १ (ख) बाट कांग्रेसकै सुरजचन्द्र लामिछाने निर्वाचित हुनुभएको थियो। 

शुक्रबार निर्वाचन अधिकृतले विजयी भएको प्रमाणपत्र दिएसँगै विजयी जुलुस निकालेको हो। विजयी जुलुसको कार्यक्रम बानेश्वर बैंक्वेटबाट सुरु भएर ओखरबोट मार्ग, रत्नराज्य स्कुल, पूजा प्रतिष्ठान, भेनस हस्पिटल, सानो गौचरण, सेतो पुल, मैतीदेवी, सूर्योदय स्कुल, घट्टेकुलो, वरको बोट, पुतलीसडक, पद्योदय, भृकुटीमण्डप, भद्रकाली, सुनधारा, भोटेबहाल, विश्वनिकेतन, त्रिपुरेश्वर, थापाथली, आलोकनगर, प्रयाग मार्ग, कोटेश्वरलगायत आफ्नो निर्वाचन क्षेत्रको परिक्रमा र मतदातासँग धन्यवाद  दिइएको छ। 

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट नेता सिंह १२५ को झिनो मतान्तरले विजयी बन्नुभएको थियो। उहाँको निकटतम प्रतिद्वन्द्वी रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले ७ हजार १८ मत प्राप्त गर्नुभएको थियो। नेता सिंह वि.सं. २०५२ सालमा राष्ट्रिय सभा सदस्य बन्नुभएको थियो भने २०६५ र २०७० मा संविधान सभा सदस्य र २०७४ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो।