• १३ पुस २०८१, शनिबार

पात्र

त्याग र समर्पणको जीवन

blog

 जय भट्टराई

एकातिर भर्खर प्रेम गर्न थालेको प्रेमी अर्कातिर तत्कालीन राजा महेन्द्रको उतैको केटासँग बिहे ग¥यौ भने देशलाई ठूलो नोक्सानी हुन्छ भनेर सम्झाएको कुरा सम्झिँदा उर्मिला गर्ग उपाध्यायलाई हुनसम्म दोधार प-यो । बिहेअघि नै आफैँले सर्त राखेपछि शायद उहाँको प्रेमीलाई पनि यस्तै दोधार परेको थियो होला । प्राध्यापन र समाज सेवामा लागेका कृष्णमुरारीलाई  उर्मिला गर्गको सर्त सहज लागे । विदेशी भूमिमा कमाएको सुख सयल, मान सम्मान सबै छाडेर आफ्नै माटोमा केही गर्छु भन्ने अठोटले समाज सेवा र कला सिर्जनामा जीवनको बाँकी जीवन बिताउँछु  भन्नु  सानो कुरा थिएन । झन्डै छ दशकअघि आफैँले पे्रम गरेको डा. कृष्णमुरारी गर्गलाई बिहेअघि सर्त राखेर वैवाहिक जीवनमा बाँधिने उर्मिला गर्गले आफ्ना श्रीमान्सँग त्यति समय व्यतीत गर्न पाउनुभएन । श्रीमान् विदेशमा प्राध्यापनमा, उहाँ नेपालमा समाज सेवामा । मेरा कला र समाज सेवा नै मेरा सन्तान हुन त्यसैले सन्तान नजन्माउने, आफूले सिकेका सीप, सिर्जना तुलसीमेहर महिला आश्रम, नेपालमै गएर बसेर काम गर्न चाहन्छु भन्ने इच्छा र सर्त थिए उहाँका । नेपालको पहिलो महिला कलाकार, देश विदेशमा ख्याति कमाएको कलाकारले सिर्जना र सेवाका लागि सबै कुरा छोड्नुभयो समाज सेवाको बाटो रोज्नुभयो ।

कुनै चलचित्र वा नाटकको पात्रजस्तै लाग्ने उहाँको जीवनका आधाजसो उमेर भारत, फ्रान्स, क्यानडा आदि मुलुकमै बिते । विगत चार दशकदेखि ललितपुरको धोबीघाटमा त्याग र समर्पणको जीवन बिताउँदै यहाँसम्म आइपुग्दासम्म ८३ वर्ष टेकेको हेक्का पनि छैन होला उहाँलाई । बिहानदेखि बेलुकीसम्मको समय समाज सेवा, कला सिर्जना, सीप सिकाउने, कला प्रदर्शनी गर्ने काममै बितेको जीवन । पे्रम विवाह गरेर ५६ वर्ष सँगै बसेको जीवनसाथीको निधन भए पनि डेङ्गीले दुःख दिए पनि मुटुको समस्या भए पनि केही अत्तोपत्तो नभएजस्तै आफ्नै दिनचर्यामा रमिरहनुभएको छ, मानौँ जीवन बाँच्नु भनेको अर्काका लागि हो  । 

केटाकेटीदेखि कला सिर्जना र समाज सेवामा लागेको उहाँ नेपालको पहिलो महिला कलाकार, देश–विदेशका कैयौँ ग्यालरीमा कलाकृति झुन्ड्याउन सफल कलाकार, म्याक्रामी आर्टको नेपालको पहिलो प्रशिक्षक, ग्राफिक कलाको पहिलो कलाकार । चिनारीका अनेकौँ आयाम जोड्दै समाज सेवा र त्यागको कारण उहाँको व्यक्तित्व जति चुलिएको छ, स्वभाव र व्यवहारमा त्यत्तिकै सरल र नरम पनि । साधा जीवन उच्च विचारको अब्बल उदाहरण हो उहाँ । अरूका लागि काम गर्दागर्दै जीवनमा शास्त्रीय सङ्गीतको पढाइ, साहित्यप्रतिको मोह, घर व्यवहार, सन्तान सुख, पतिसँगको सान्निध्य सबैबाट अलगजस्तै भएर अहोरात्र खट्नसक्ने उहाँको यही चिनारी नै मनग्गे छ । विदेशका विश्वविद्यालयमा कलाको प्राध्यापन गर्ने उर्मिला गर्ग उपाध्यायको नाम चिन्ने जान्नेहरूका लागि सम्मानित नाम हो । समय र उहाँको स्वभावले नि होला वर्तमान पुस्ताका लागि यही नाम अपरिचित लाग्न सक्छ । विदेशमा कमाएको नाम, सम्मान र वैभव, सुखसयलको जीवन चटक्क छाडेर आफ्नै देशमा आएर जीवन  बिताएर सेवा गर्ने रहर पालेर विगत चार दशकदेखि निरन्तर सक्रिय उहाँको जीवनको झन्डै चार दशक भारत, क्यानडा, फ्रान्स आदि मुलुकमै बित्यो कला साधना, कला प्रवद्र्धन, कला प्राध्यापन गरेर । 

हामी र अरू लिलिपुट पदकधारीहरूमध्ये उहाँ उर्मिलाजी साँच्चिकै बृहत नक्षत्र जस्तै हुनुहुन्छ । सधैँ स्पष्ट वक्ता, निर्भिक, उदार मनका यो उमेरमा पनि अति कर्मठ–महान तपस्वीजस्तै भएर लागिरहनुभएका उर्मिलाजीलाई भन्न मन लाग्छ– नेपाली समकालीन कला क्षेत्रको साँच्चिकै कला साम्राज्ञी (तलेजु–५, भदौ २०७९) वरिष्ठ कलाकार शशी शाहको लेखनीले नै धेरै कुरा भन्छ । 

वि.सं. २०२५ तिर उहाँ वि.सं. १९९७ सालमा जनकपुरको बर्दिया वनचौरी गाउँमा रत्नमणि र मीनकुमारीको छोरीका रूपमा जन्मिनुभएकी उर्मिला एक वर्ष पनि नपुग्दै बनारस बस्दै आएका हजुरबाले नातिनी हेर्ने रहर गरेपछि उहाँको बाल्यकाल बनारसमै  बित्यो । केही वर्षमै काठमाडौँको पकनाजोलमा आफ्ना बुबाको घर फर्केर उहाँले  तलेजु मन्दिर नजिकै पाटीमा सञ्चालित विद्यालयमा दुई कक्षासम्म पढेपछि दरबार हाइस्कुल, कन्या स्कुल, डिल्लीबजार हुँदै चार कक्षा उत्तीर्ण हुनुभयो । यसपछि गान्धी महिला आश्रम बर्धा (भारत) मा पढ्न पुग्नुभयो । यहीबाट सुरु हुन्छ उहाँको सीप, कला, सेवाको विगत । यही सिक्नुभयो उहाँले सिलाइ, बुनाइ, चित्रकला । सङ्गीतको साधना साहित्यको अध्ययन । नौ वर्षको उमेरमै विश्वकवि रवीन्द्रनाथ ठाकुरको चित्र कोरेर कलाकार बन्ने यात्रा तय गरिसक्नुभएको थियो । यसपछि मुम्बईको जेजे स्कुल अफ आर्ट, पेरिस, क्यानडाका विश्वविद्यालयमा पढ्नुभयो । तुलसीमेहर आश्रममै आफ्नो श्रम र र सीप खर्चेर आफ्नै इच्छा बमोजिम काम गर्दै जाँदा कतिपय चाहेका काम गर्न नपाएपछि ३५ वर्षअघि नेपाल सिर्जनात्मक कला गुठीको स्थापना गरेर यसैबाट असङ्ख्य विद्यार्थीलाई गाँस, बास मात्र होइन शिक्षादीक्षा दिने र कला र सीप सिकाउने अभियानमा लाग्नुभयो । बाबु, परिवारको सम्पत्ति, श्रीमान्को कमाइ, साथीभाइको सहयोग मात्र होइन बिहेमा पाएका गरगहनासमेत बेचेर काम गरिरहनुभएको छ । उहाँले सोचेजस्तो अरूले कहाँ सोचिदिन्छन् र ? काम गर्दै जाँदा बेलाबखत आइपर्ने झैँ झमेला, अर्थको अभाव आइपर्दा पनि जीवनमा सन्ताप भने भएन रे । 

विदेशमा कला अध्ययन र प्राध्यापन, समाज सेवा र कला सिर्जनाबाट नाम कमाइसक्नु भएकी उहाँले सन् १९५४ मै बम्बईमा पहिलो कला प्रदर्शनी गरेर प्रशंसित भइसक्नु भएको थियो । नेपाल आएर सन १९५९ मा काठमाडौँमा भव्य एकल कला प्रदर्शनी गर्नुभयो जसको उद्घाटन तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले गर्नुभएको थियो । त्यसको भोलिपल्ट तत्कालीन राजा महेन्द्रले कला प्रदर्शनी हेर्ने इच्छा व्यक्त गरेको खबर पाउनुभयो । उहाँ अतीततिर फर्कनुहुन्छ– त्यसको भोलिपल्टै राजदरबारबाट चिठी आयो । सुरुमा त डर पनि लाग्यो, दरबारले मेरा बाजे बराजुलाई पनि त्यस्तै व्यवहार गरेर दुःख दिएका थिए । पत्र खोलेर हेरेपछि पो थाहा पाएँ महेन्द्र सरकार तपाईंको कला हेर्न आउनु हुन्छ, आफ्ना मातापितासहित तपाईं सांस्कृतिक केन्द्र आउनु होला भन्ने लेखिएको रहेछ । यसैक्रममा राजा महेन्द्रसँग कुरा हुँदा आर्टिस्टको धाम पेरिस जाने इच्छा व्यक्त गरेँ । राजाले  ‘उताको केटासँग बिहे ग¥यौ भने देशलाई ठूूलो नोक्सानी हुन्छ’ भन्नुुभयो । साथै मेरा पेन्टिङहरू पाँचगुणा बढी मूल्यमा खरिद गरी फ्रेन्च मुुद्रा दिएपछि थप अध्ययनको बाटो खुल्यो । मेरो कलाकारिता जीवनमा मैले राजा महेन्द्र र विश्वेश्वरप्रसाद कोइरालाको गुन बिर्सन सक्दिनँ ।  

 तिहार सकिन पनि पाएको थिएन, एकाबिहानै पुग्छु उहाँको निवास, धोबीघाट । तीन साताअघि मात्र हृदयाघात भएर डाक्टरको सल्लाहमा घरमै आराम गरिरहनु भएकी उहाँ गुठीकै चिन्तामा हुनुहुन्थ्यो, आफ्ना विद्यार्थीले घेरिएर बस्नुभएको थियो । त्यतिखेरै भन्नुभयो उहाँले– सारा सुख सयल, मान सम्मान छाडेर आफ्नै माटोको सुगन्ध, यहाँका मान्छेका माया, उनीहरूले भोगेका दुःख मेरो मनमा थियो, आँखामा थियो कहाँ बिर्सन्थे र म ? 

म आफ्नै इच्छाले यो क्षेत्रमा लागेकी हुँ । संसारमा कैयौँ महान् काम भएका छन् तिनको तुलनामा मैले के नै गर्न सकेको छ र ? जे जति गरेँ त्यसैमा खुसी छु, सन्ताप पनि छैन, असन्तुष्टि पनि छैन । 

उर्मिला गर्गले पछिल्ला समय कलाकारितामा भन्दा समाज सेवामा बढी समय दिनुभयो भन्छन् नि ?

यहीँनिर मलाई दुःख लाग्छ । कला भनेको, सिर्जना भनेको पेन्टिङ मात्र होइन । सिलाइ, बुनाइ सबै सिर्जना हुन् । यही कुरा धेरैले बुझिदिएनन् । मैले सिलाइ बुनाइबाटै कला सिर्जना गरिरहेकी छु र धेरैलाई सिकाएँ पनि । 

 नेपालकै माटोमा काम गर्न पाउनु र कृष्णमुरारीजस्ता देवतातुल्य पति पाएँ जीवनको ठूलो प्राप्ति त्यही नै हो जस्तो लाग्छ । उहाँ गणितका प्राध्यापक क्यानडामै बस्नुहुन्थ्यो, म नेपालमा । हामी धेरै वर्ष सँगै बस्न पनि पाएनौँ । उहाँले छाडेर गए पनि उहाँको साथ, सहयोग सधैँ स्मरणीय छन् मेरा लागि । 

महात्मा गान्धी, विनोवा भावे, जयप्रकाश नारायण, मदर टेरेसा जस्ता व्यक्तित्वसँग नजिकिने अवसर पाउने उर्मिला गर्ग उपाध्यायलाई प्रेरणा र प्रोत्साहन यहीँको माटोले दियो । कोमल मन, सिर्जनात्मक हात र उदार भावनाले जीवन अरूकै लागि बिताउँदा बिताउँदै ८३ वर्ष टेक्दासम्म रोग के हो भन्नेसम्म थाहा थिएन । पति कृष्णमुरारीको निधन, डेङ्गीबाट पीडित, हृदयाघात सबै एकसाथ आइपरे । त्यसमा पनि कोभिडको चपेटामा परेर कला गुठीमा आएको शिथिलताले दुःखी बन्नु भएको छ । सिर्जना र सेवामा जीवन बिताउन पाउनु नै आफ्नो जीवनको उपलब्धि र सुख ठान्ने उर्मिला गर्ग सम्मानित मात्र होइन अनुकरणीय नाम बन्न सफल हुनुभएको छ ।