• १५ असार २०८१, शनिबार

डोटीमा चौध हजार ३५६ मत बदर

blog

दिपायल समाचारदाता

दिपायल, मङ्सिर ११ गते । डोटीमा प्रत्यक्ष र समानुपातिक गरेर १४ हजार ३५६ मत बदर भएको छ। मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणामअनुसार ठूलो मात्रामा मत बदर भएको हो। प्रत्यक्षतर्फको आठ हजार ६२० र समानुपातिकतर्फका पाँच हजार ७३६ मत बदर भएको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेयले बताउनुभयो। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणामअनुसार प्रतिनिधि सभातर्फ ६३ हजार ५५२ मत खसेको थियो। जसमध्ये आठ हजार ६२० मत बदर हुँदा ५४ हजार ९३२ मत मात्रै सदर भएको छ।

समानुपातिकतर्फ ६४ हजार २७८ मत खसेको थियो। जसमध्ये ५८ हजार ५४२ मत सदर हुँदा पाँच हजार ७३६ मत बदर भएको हो। एउटा प्रतिनिधि सभा र दुईवटा प्रदेश सभा रहेको डोटीमा प्रतिनिधि सभातर्फको चार हजार ९६९ मत बदर भएको मुख्य निर्वाचन अधिकृत पाण्डेयले जानकारी दिनुभयो। उहाँका अनुसार प्रदेश सभा (क)तर्फ ३३ हजार ३२२ मत खसेको थियो। जसमध्ये एक हजार ९१९ मत बदर भएको छ। ३० हजार २३४ मत खसेको प्रदेश सभा (ख)तर्फ एक हजार ७३२ मत बदर भएको छ।

प्रतिनिधि सभातर्फ नेकपा (एकीकृत समाजवादी)का प्रेमबहादुर आलेमगर चार हजार २०६ मतको अन्तरले विजयी हुनुभएको छ। प्रदेश सभा (क)मा नेकपा (एमाले)का चक्र मल्ल ४५० मतको अन्तरले मात्रै विजयी हुनुभएको छ भने प्रदेश सभा (ख)मा नेकपा (माओवादी केन्द्र)का शिवसिंह ओली ९१८ मतको अन्तरले मात्रै विजयी हुनुभएको छ।

उम्मेदवारबीचको मतान्तर हेर्दा बदर मतको सङ्ख्या घटेको अवस्थामा नतिजा फरक आउने देखिन्छ। निर्वाचन आयोगले मतदाता शिक्षालाई प्रभावकारी रूपमा सञ्चालन गर्न नसक्दा बदर मत बढेको उम्मेदवारहरूको गुनासो छ।

व्यक्ति विजयी पार्टी कमजोर 

नेकपा (एकीकृत समाजवादी) पार्टीले समानुपातिकतर्फ दुई हजार ३७३ मत मात्रै पाएको छ। प्रतिनिधि सभामा प्रत्यक्षतर्फ समाजवादीका प्रेमबहादुर आलेमगर २७ हजार २१० मतसहित विजयी हुनुभएको छ। सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका आले गठबन्धनकै मतले विजयी हुनुभएको हो। समानुपातिकतर्फको मत हेर्दा उहाँको पार्टी जिल्लामा कमजोर देखिएको छ।

प्रतिनिधि सभातर्फ समानुपातिकमा नेपाली कांग्रेसले सबैभन्दा बढी मत पाएको छ। मुख्य निर्वाचन अधिकृत पाण्डेयका अनुसार प्रतिनिधि सभामा कांग्रेसले २२ हजार ५१६ मत पाएको छ भने नेकपा (एमाले)ले २२ हजार ४५६ मत पाएको छ। कांग्रेसले एमालेभन्दा ६० मत बढी प्राप्त गरेको हो। तेस्रो स्थानमा भने नेकपा (माओवादी केन्द्र) रहेको छ। सो पार्टीले छ हजार ९२४, नेकपा (एकीकृत समाजवादी)ले दुई हजार ३७३ र राष्ट्रिय स्वतन्त्र पार्टीले एक हजार २४८ मत प्राप्त गरेका छन्।

प्रदेश सभातर्फ भने नेकपा (एमाले)को अग्रता छ। प्रदेशतर्फ नेकपा (एमाले)ले २२ हजार ७५३ मत पाएको छ। सो पार्टीले प्रदेश (क)बाट १३ हजार ९५ र (ख)बाट नौ हजार ६५८ मत पाएको छ।

नेपाली कांग्रेसले प्रदेश सभा (क)मा १२ हजार ४६ तथा प्रदेश (ख)बाट नौ हजार ७९१ मत गरेर कुल २१ हजार ८३७ मत पाएको छ। नेपाली कांग्रेसले प्रदेश (ख)मा नेकपा (एमाले)भन्दा बढी मत बटुले पनि प्रदेश (क)मा कम मत पाएको छ। (माओवादी केन्द्र)ले प्रदेश (क)बाट एक हजार ९८० तथा प्रदेश (ख)बाट चार हजार ३१८ मत गरेर कुल छ हजार २९८ पाएको छ। यस्तै नेकपा (एकीकृत समाजवादी)ले तीन हजार ८३३ मत मात्र ल्याएको छ, जसमा प्रदेश (क)बाट एक हजार ७४३ तथा प्रदेश सभा (ख)मा दुई हजार ९० मत पाएको थियो।   

कैलाली–३ मा चौध हजार ८४९ मत बदर

घोडाघोडी समाचारदाताका अनुसार कैलाली क्षेत्र नं. ३ मा प्रत्यक्ष र समानुपातिकतर्फ १४ हजार ८४९ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ। प्रतिनिधि र प्रदेश सभा सदस्यको प्रत्यक्षतर्फ सात हजार ५१४ र समानुपातिकतर्फ सात हजार ३२६ मत बदर भएको कैलाली क्षेत्र नं. ३ का निर्वाचन अधिकृत लक्ष्मीनारायण दाहालले जनाउनुभयो।

उहाँले मतदाता सङ्ख्या एक लाख सात हजार ६५९ रहेको सो क्षेत्रमा प्रत्यक्षतर्फ प्रतिनिधि सभामा खसेको जम्मा मत सङ्ख्या ६३ हजार ७४० रहेकामा चार हजार २१ मत बदर रहेको जानकारी दिनुभयो।

त्यसैगरी समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्यमा ६४ हजार १४८ खसेको मतमा चार हजार ३३८ मत बदर भएको छ। प्रदेश सभा सदस्यतर्फ प्रत्यक्षमा (क)मा खसेको मत सङ्ख्या ३३ हजार ९२६ मा एक हजार ६१७ बदर भएको छ भने (ख)मा ३० हजार पाँच खसेको मत सङ्ख्यामा एक हजार ८७६ मत बदर भएको छ।  समानुपातिकतर्फ प्रदेश सभा सदस्यका लागि (क)मा जम्मा खसेको मत सङ्ख्या ३३ हजार ९८४ मा एक हजार ९९३ मत बदर भएको छ। (ख)मा जम्मा खसेको मत सङ्ख्या १८ हजार ३०८ मध्ये ९९५ मत बदर भएको जनाइएको छ।

कैलाली–३ समानुपातिकतर्फ नाउपा पहिलो 

कैलाली क्षेत्र नं. ३ को समानुपातिकतर्फ प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि सबैभन्दा बढी मत नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पाएको छ। क्षेत्र नं. ३ को निर्वाचन कार्यालयबाट प्राप्त मतपरिणामअनुसार समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्यका लागि २१ हजार ५४९ मत प्राप्त गरेर नाउपा अग्रस्थानमा रहेको छ।  प्रतिनिधि सभा सदस्यका लागि समानुपातिकतर्फ नेपाली कांग्रेसले १० हजार सात मत प्राप्त गरेर दोस्रो स्थानमा छ भने नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आठ हजार ४१६ मत प्राप्त गरी तेस्रो स्थानमा रहेको छ । सो क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले समानुपातिकतर्फ सात हजार ५३१, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन हजार ३९२, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले दुई हजार ६६१ मत पाएको छ।

त्यसैगरी समानुपातिकतर्फ प्रदेश सभा सदस्यका लागि (क) र (ख) दुवैमा समेत नागरिक उन्मुक्ति पार्टीले नै बढी मत पाएको छ। (क)मा १३ हजार ६८९, (ख)मा सात हजार ६९५ मत पाएर नागरिक उन्मुक्ति अग्रस्थानमा छ। नेपाली कांग्रेसले (क)मा पाँच हजार ८६३ र (ख) मा तीन हजार ८६६ मत प्राप्त गरेको छ। शुक्रबार मतगणना सम्पन्न भएको सो क्षेत्रमा माओवादी केन्द्रले प्रदेश (क)मा पाँच हजार ९६९ र (ख)मा दुई हजार ८३३ मत पाएको छ। एमालेले (क) तीन हजार ४७८ र (ख)मा एक हजार ३५४ मत, राप्रपाले (क)मा एक हजार ४११ र (ख)मा ९७२ मत पाएका छन्। प्रतिनिधि सभा सदस्यका लागि समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले तीन हजार ८२१ मत प्राप्त गरेको निर्वाचन अधिकृत लक्ष्मीनारायण दाहालले जानकारी दिनुभयो। सो क्षेत्रमा प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यमा सबैभन्दा बढी २३ हजार १२० मत प्राप्त गरी नागरिक उन्मुक्तिका गङ्गाराम चौधरी विजयी हुनुभएको छ।