• १७ वैशाख २०८२, बुधबार

सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

blog

सेभ द चिल्ड्रेनले गरेको समाजिक परीक्षण कार्यक्रमका सहभागी । तस्बिरः धर्बेन्द्र झा

धर्बेन्द्र झा  

जनकपुरधाम, वैशाख १६ गते । मधेश प्रदेशको चार जिल्लामा सञ्चालित कार्यक्रम प्रभावकारी भए नभएको विषयमा लेखाजोखा गर्न मंगलबार महोत्तरीको बर्दिबासमा सेभ द चिल्ड्रेनले समाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । 

उक्त कार्यक्रममा सो संस्थाले सरोकारवालाको बिचमा लेखा परीक्षणको प्रारम्भिक प्रतिवेदन समेत सार्वजनिक गरेको छ । बालबालिकाको क्षेत्रमा काम गर्दैआएको सेभ द चिल्ड्रेनले नेपालमा गरेको यो पहिलो सामाजिक परीक्षण रहेको नेपाल भुटान कार्यालयका राष्ट्रिय निर्देशक तारा क्षेत्रीले बताउनुभयो । 

उहाँले मधेशका बालबालिकाको लागि राम्रो काम गर्ने संस्थासँग निरन्तर सहकार्य जारी रहने भन्दै यो प्रयास बालबालिका र समुदायका आवाजलाई केन्द्रमा राखेर अझ उत्तरदायी ढङ्गले काम गर्नेतर्फ केन्द्रित रहेको बताउनुभयो । उहाँले बालबालिका र समुदायका लागि गरिने  कामको गुणस्तरमा हामीले कहिल्यै सम्झौता नगरी सरकार र सरोकारवालामा सहकार्य गर्दै, उत्तरदायी संस्थाको रुपमा अघि बढने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

समाजिक परीक्षणका लागि नियुक्त परामर्शदाता दुर्लभकुमार बोगटीले सेभ द चिल्ड्रेनको सेवा क्षेत्रमा पुगेर सहभागितामूलक अन्तरक्रिया गरिएको र सो अन्तरक्रियामा सहभागीले संस्थाले गरेका कामकाजको विषयमा दिएको प्रतिक्रिया प्रशंसनीय रहेको बताउनुभयो । 

सामाजिक परीक्षणको उद्देश्यबारे बर्दिबास फिल्ड कार्यालयका प्रमुख धन भूसालले संस्थाको सामाजिक लेखा परीक्षण कार्यले संस्थाको पारदर्शिता, जवाफदेहिता र सञ्चालित सबै कार्यक्रममा बालबालिकासँग र बालबालिकाको लागि सहकार्य गर्ने प्रतिबद्धता भएको बताउनुभयो ।

कार्यक्रममा मधेश प्रदेशको पालिका प्रमुख, खेलकुद तथा समाजकल्याण मन्त्रालयका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि र पत्रकारको सहभागिता रहेको थियो ।