• १७ वैशाख २०८२, बुधबार

घोराही सडकमा बन्दै डिभाइडर

blog

घोराहीको सडकहरूमा सडक लेन र जेब्रा क्रसिङ बनाइँदै । तस्बिरः सन्तोष दहित

सन्तोष दहित

दाङ, वैशाख १६ गते ।  डिभाइडर नहुँदा सडक दुर्घटना बढेपछि दाङको घोराही बजारमा भित्री सडकहरूमा डिभाइडर बनाउन सुरु गरिएको छ । गत चैत ५ गते गोरखापत्र अनलाइनमा ‘डिभाइडर नहुँदा सडक दुर्घटना बढ्यो’ भन्ने शीर्षकमा समाचार प्रकाशन गरिएको थियो । 

घोराही उपमहानगरपालिकाको सहकार्यमा जिल्ला ट्राफिक कार्यालयले घोराही बजार क्षेत्रमा अक्सपाल्ट प्रविधिबाट हालै बनाएका सडकहरुमा सडक लेन र जेब्रा क्रसिङ बनाउन थालेको हो । घोराही बजारभित्रका सडकहरूमा जेब्रा क्रसिङ बनाउन लागेको घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीका प्रेस सल्लाहकार निमुसङ्गम घर्तीले जानकारी दिनुभयो । 

उहाँको अनुसार दिपशिखा रोड सहिद १० ठाउँमा जेब्रा क्रसिङ बनाउन लागिएको हो । जेब्रा क्रसिङले सडक दुर्घटनामा कमी आउने विश्वास गरिएको छ ।

सडकको स्तरोन्नति तथा कालोपत्रे गरिए पनि सडका डिभाइडर नबनाउँदा दुर्घटनाको जोखिम बढेको स्थानीयहरूको गुनासो गर्दै आएको थिए । स्थानीय एवम् घोराही उपमहानगरपालिका–१७ गुलरियाका अशोक चौधरीले जेब्रा क्रसिङले सडक दुर्घटनामा कमी आउने बताउनुभयो । ‘यसले बालबालिका र ज्येष्ठ नागरिक र पैदल यात्रुहरूलाई सहज हुने हुन्छ, उहाँले भन्नुभयो, “दुर्घटनामा समेत कमी आउँछ ।’ विशेषगरी विद्यार्थीलाई स्कुल जाने आउनेमा सहज भएको उहाँको भनाइ छ ।