• १२ असोज २०८१, शनिबार

सुनसरी-४ को मतगणना स्थगित

blog

सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ को मतगणना स्थगित भएपछि बसेको सर्बदलीय बैठक ।

सचिन पोख्रेल 

इटहरी, मङ्सिर १० गते । इनरुवास्थित भगवती माध्यमिक विद्यालयमा भइरहेको सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ को मतगणना स्थगित भएको छ। 

मतगणनामा धाँधली गरेको आशङ्कासहित नेपाली कांग्रेसले मुख्य अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएपछि मतगणना स्थगित गरेर सर्वदलीय बैठक बोलाइएको छ। शुक्रबार राति सार्वजनिक गरेको मत परिणाम सूचीमा नेकपा (एमाले) को मत परिणाममा ६०६ मत थप गरेर सार्वजनिक गरेपछि कांग्रेसले मतगणना स्थगित गर्न माग गरेको सुनसरी ४ का क्षेत्रीय सभापति एयुब अन्सारीले जानकारी दिनुभयो। 

सुनसरी ४ अन्तरगत पर्ने वराहक्षेत्र नगरपालिका–८ को मतगणना सम्पन्न भएपछि सार्वजनिक गरेको मत परिणाममा वराहक्षेत्र नगरपालिका–८ मा ६०६ मत थप गरेर २० हजार २११ मत परिणाम मुख्य निर्वाचन अधिकृतको कार्यालय इनरुवाले सार्वजनिक गरेको थियो। मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले समस्याका सन्दर्भमा छलफल गर्न सर्वदलीय बैठक बोलाइएको बताउनुभयो। 

छलफलमा सुनसरी-४ मा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार सञ्चार तथा सूचना प्रविधि एवम् कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (एमाले) का तर्फबाट जगदीशप्रसाद कुसियैत लगायतका विभिन्न पार्टीका नेताको सहभागिता रहेको छ।

पछिल्लो मत परिणाम अनुसार कांग्रेसका उम्मेदवार कार्कीले २३ हजार ४३९ मतका साथ अग्रता कायम गर्नुभएको छ। त्यसैगरी, एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतले २३ हजार ३४१ मत ल्याउनु भएको छ।