• १२ असोज २०८१, शनिबार

नयाँ सरकार गठन र टिकाउन दुवै गाह्रो हुन्छ : अध्यक्ष ओली

blog

झापा क्षेत्र ५ मा निर्वाचित हुनुभएपछि एमाले अध्यक्ष केपी शर्मा ओली मतदाताहरुसँग खुशी साट्नुहुँदै । तस्बिर : विष्णुप्रसाद पोखरेल

विष्णुप्रसाद पोखरेल

दमक, मङ्सिर १० गते । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनबाट आएको मत परिणामले सहज रूपमा सरकार गठन हुने अवस्था नदेखिएको बताउनुभएको छ । सरकार गठन हुनै गाह्रो भयो भने टिकाउन झन् गाह्रो हुने उहाँको भनाइ छ । 

झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्यमा नवनिर्वाचित अध्यक्ष ओलीले आफ्ना निर्वाचन क्षेत्रका मतदातासँगको घरदैलो कार्यक्रममा शनिबार सो कुरा बताउनुभएको हो । जटिल अवस्थामा आफूहरूको भूमिका थप महत्त्वपूर्ण हुने भएकाले त्यो भूमिका निर्वाह गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । 


‘एमालेलाई यहाँहरूले विश्वास गर्नुभएको छ, त्यो विश्वासअनुसार देशलाई सङ्कटमा पर्न दिँदैनौँ’ ओलीले भन्नुभयो, “अहिलेको निर्वाचन परिणामको गणितले देशमा अस्थिरता आयो भन्ने प्रष्ट देखिएको छ ।” राजनीतिलाई फोहोरी खेलतर्फ जानसक्ने भन्दै ओलीले यस्तो खेललाई निस्तेज पार्न आफूहरू लागिपर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

ओलीले देशको अन्य क्षेत्रभन्दा झापामा आएको निर्वाचन परिणामले आफू धेरै उत्साहित भएको बताउनुभयो । “मूलकमा स्थिरता ल्याउन जुन किसिमले झापाका मतदाताहरूले हामीलाई विश्वास गरेर मत दिनु भयो, त्यस्तो मूलकभर हुन सकेन” अध्यक्ष ओलीले बताउनुभयो । 

कतिपय ठाउँमा धाँधली र सत्ताको दुरुपयोग भएको उहाँले आरोप लगाउनुभयो । यस विषयमा निष्पक्ष छानबिन हुनुपर्ने उहाँको भनाइ छ । अध्यक्ष ओली क्षेत्र नं. ५ अन्तर्गतको कमल गाउँपालिका, गौरादह नगरपालिका, गौरीगन्ज गाउँपालिका, दमक नगरपालिकाका मतदाताहरूको घरदैलोमा पुगेर विजय उत्सवमा सहभागी हुनुभयो । 


झापाको ३ क्षेत्रमा एमाले जित

झापामा प्रतिनिधि सभामा ५ वटा क्षेत्रमध्ये ३ वटा क्षेत्रमा एमाले, १ वटामा कांग्रेस र १ वटामा राप्रपाले जित हासिल गरेको छ । झापामा प्रतिनिधि सभा सदस्यतर्फ सत्तारुढ गठबन्धनका उम्मेदवार झापा १ मा विश्वप्रकाश शर्माले जित हासिल गर्नुभयो । झापा ३ मा एमालेको समर्थनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन विजयी बन्नुभयो । क्षेत्र नं. २ मा एमालेका देवराज घिमिरे र क्षेत्र ४ मा लालप्रसाद साँवा विजयी हुनुभएको छ ।