• १३ असोज २०८१, आइतबार

ब्राजिलको विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, ११ घाइते

blog

ब्राजिलिया, मङ्सिर १० गते । ब्राजिलको एस्पिरिटो सान्तो राज्यको दुई वटा विद्यालयमा शुक्रबार एक बन्दुकधारीले गोली चलाउँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने ११ जना गम्भीर घाइते भएको  सीएनएनले ब्राजिलका अधिकारीहरूलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।

ब्राजिलमा विद्यालयमा गोली चलाउने बन्दुकधारीले सेमी अटोमेटिक हतियार बोकेको क्यामेरा फुटेजमा देखिएको छ । अनुहार छोपेको सो व्यक्तिले सेनाको पोसाक लगाएको देखिएको छ । यद्यपि गोली प्रहार गर्ने व्यक्ति १६ वर्षीय भएको आशङ्का गरिएको छ । सीएनएनका अनुसार उक्त राज्यको राजधानी भिटोरियाबाट ५० माईल उत्तरमा रहेको सानो सहर अराक्रुजमा सो आक्रमण भएको थियो ।

एस्पिरिटो सान्तोका गभर्नर रेनाटो कासाग्रान्डेले शुक्रबार ट्विटमा गर्दै, ‘सुरक्षा टोलीले आक्रमणकारीलाई पक्राउ  गरेको छ जसले कायरतापूर्वक अराक्रुजका दुई विद्यालयमा आक्रमण गरेको थियो। मैले अपूरणीय क्षतिको लागि शोकको रूपमा तीन दिनको आधिकारिक शोक घोषणा गरेको छु। हामी  घटनाको कारणबारे अनुसन्धान जारी राख्नेछौँ र चाँडै नै निष्कर्षमा पुग्नेछौँ ।’

गभर्नरका अनुसार, ‘प्रिमो बिट्टी स्कुल र प्रिया डे कोक्वेरल शैक्षिक केन्द्रमा आक्रमणहरू भएका थिए ।’

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले सो घटनाबारे ट्विट गर्दै अराक्रुज विद्यालयहरूमा भएको आक्रमणले आफू दुःखी भएको र पीडितहरूलाई क्षतिपूर्ति दिलाउन आग्रह गराएका  छन् । रासस/एएनआई