• १३ असोज २०८१, आइतबार

सुदूरपश्चिममा प्रतिनिधि सभा र प्रदेश सभामा कांग्रेस पहिलो दल

blog

सुदूरपश्चिम, मङ्सिर १० गते । मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा प्रतिनिधि सभा सदस्यका १५ र प्रदेश सभाका ३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको अन्तिम नतिजा आइसकेको छ ।

प्रदेशमा प्रतिनिधि सभाका १६ र प्रदेश सभाका ३२ निर्वाचन क्षेत्रमध्ये बाजुरा जिल्लाको नतिजा आउन बाँकी छ । मतदानको दिन उत्पन्न असहज परिस्थितिका कारण रोकिएको बाजुराको एक केन्द्रमा आज (शनिबार) मतदान भइरहेको छ ।

सुदूरपश्चिमको डडेलधुराबाट प्रतिनिधित्व गर्नुहुने प्रधानमन्त्री शेरबहादुर देउवासहित नेपाल सरकारका दुई मन्त्री प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति देउवाका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकाल रहनुभयो । वि.सं २०४८ यता भएका निर्वाचनमा देउवा विजयी हुँदै आउनुभएको छ ।

दार्चुलाबाट प्रतिनिधित्व गर्नुहुने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवं कांग्रेस नेता दिलेन्द्रप्रसाद बडू विजयी हुनुभयो । उहाँले एमालेका नेता गणेशसिंह ठगुन्नालाई पराजित गर्नुभयो । बडू यसअघि वि.सं २०७४ मा भएको निर्वाचनमा कांग्रेसको समानुपातिक सूचीबाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको थियो ।

यसैगरी, श्रम तथा रोजगारमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का नेता शेरबहादुर कुँवर अछाम–१ बाट निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका झपटबहादुर बोहरा रहनुभयो । नेकपा एमाले र तत्कालीन नेकपामा आएको विभाजनसँगै उहाँ नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्नुभएको थियो ।

नेपाली कांग्रेसबाट डडेलधुरामा प्रधानमन्त्री देउवा, कञ्चनपुर ३ बाट रमेश लेखक, कञ्चनपुर २ बाट एनपी साउद, कैलाली ४ बाट वीरबहादुर बलायर, कैलाली ५ बाट डिल्लीराज पन्त, दार्चुलाबाट उद्योगमन्त्रीसमेत रहेका बडू र अछाम २ बाट पुष्पबहादुर शाहसहित सात जना प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

यस्तै, नेकपा (एकीकृत समाजवादी) बाट अछाम १ मा श्रममन्त्रीसमेत रहनुभएका कुँवर, बझाङमा भानुभक्त जोशी र डोटीबाट प्रेमबहादुर आलेमगर निर्वाचित हुनुभएको छ । नागरिक उन्मुक्ति पार्टीबाट कैलाली १ मा रञ्जिता श्रेष्ठ चौधरी, क्षेत्र २ मा अरुण चौधरी र क्षेत्र ३ मा गङ्गाराम चौधरी प्रतिनिधि सभामा निर्वाचित हुनुभयो । टीकापुरको हिंसात्मक घटनामा अदालतबाट दोषी ठहर रेशमलाल चौधरीकी पत्नी रञ्जिता नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष हुनुहुन्छ ।

नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवार रहनुभएका बैतडीका नरेन्द्र कुँवर (विजयसुन्दर) कञ्चनपुर १ का बीना मगर, कैलाली २ का भगत बडुवाल र ३ का कृष्णकुमार चौधरी प्रतिनिधिसभा सदस्यमा पराजय व्यहोर्नुभएको छ । प्रतिनिधि सभा सदस्यमा सुदूरपश्चिमबाट नेकपा माओवादी केन्द्र शून्य भएको छ ।

नेकपा एमालेका प्रदेश अध्यक्ष दामोदर भण्डारी बैतडीबाट र तारालामा तामाङ कञ्चनपुर १ बाट प्रतिनिधि सभामा निर्वाचित हुनुभयो । तामाङ पार्टी विभाजनका बेला एमालेबाट नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेर निर्वाचनअघि पुनः एमालेमै फर्किनुभएको थियो ।

एमालेका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट कैलाली ४ मा कांग्रेस नेता वीरबहादुर बलायरसँग पराजित हुनुभयो । प्रदेश सरकारका बहालवाला दुई मन्त्रीले पराजय हुँदा दुई मन्त्री भने विजयी हुनुभएको छ ।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावल कैलाली क्षेत्र १ को प्रदेश सभा २ बाट पराजित हुनुभएको छ । उहाँ नागरिक उन्मुक्ति पार्टीका प्रत्याशीसँग पराजित हुनुभएको हो । डा. रावल पाँच वर्ष अघि प्रत्यक्षतर्फको निर्वाचनमा सोही क्षेत्रबाट विजयी हुनुभएको थियो ।

प्रदेशका सामाजिक विकासमन्त्री एवम् कांग्रेस नेता गोविन्दराज बोहरा डडेलधुरा २ को प्रदेशसभा सदस्यमा पराजित हुनुभएको छ । उहाँ स्वतन्त्र उम्मेदवार डा. तारा जोशीसँग पराजित हुनुभयो । बोहरा पाँच वर्षअघिको निर्वाचनमा कांग्रेसको समानुपातिक सूचीबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का नेता मानबहादुर धामी दार्चुलाको प्रदेशसभा सदस्यमा दोस्रो पटक निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका हरदेव जोशी रहनुभएको छ । 

प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का नेता दीर्घबहादुर सोडारी कैलाली ४ बाट र सोही पार्टीका नेता एवम् आर्थिक मामिलामन्त्री प्रकाश रावल कञ्चनपुर ३ बाट प्रदेशसभामा निर्वाचित हुनुभयो । दोस्रो पटक प्रदेशसभामा निर्वाचित सोडारी र रावलले क्रमशः एमालेका भीमबहादुर देउवा र माओवादी केन्द्रका टेकेन्द्रप्रसाद भट्टलाई पराजित गर्नुभयो ।

प्रदेशसभाका निवर्तमान सदस्य, नेकपा (एकीकृत समाजवादी)का नेता अमरबहादुर साउद कैलालीबाट र लालबहादुर खड्का कञ्चनपुरबाट प्रदेशसभा सदस्यमा पराजित हुनुभएको छ । नेकपा (माओवादी केन्द्र)का नेता अक्कलबहादुर रावल अछामको प्रदेशसभाबाट दोस्रो पटक निर्वाचित हुँदा सोही पार्टीका नन्दबहादुर साउद भने कैलालीको प्रदेशसभा सदस्यमा पराजित हुनु भयो । प्रदेशसभाका निवर्तमान सदस्य एवं एमालेका नेताद्वय पठानसिंह बोहरा डडेलधुरा र लीलाधर भट्ट बैतडीको प्रदेशसभा सदस्यबाट पराजित हुनुभयो ।

निर्वाचनअघि एमालेबाट नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेर प्रदेशसभा सदस्यको टिकट पाउनुभएका प्रदेशसभाका निवर्तमान सदस्य रतनबहादुर थापा कैलालीबाट पराजित हुनुभयो । यस्तै प्रदेशसभाका निवर्तमान सदस्य तराई–मधेस लोकतान्त्रिक पार्टीका कृष्णबहादुर चौधरी कैलाली १ को प्रदेशसभा सदस्यमा पराजित हुनुभयो ।

सुदूरपश्चिम प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसबाट कैलालीका प्रकाशबहादुर देउवा, प्रकाश बम र कमलबहादुर शाह, कञ्चनपुरबाट दिवानसिंह विष्ट, बहादुरसिंह थापा र बेलबहादुर रानामगर, अछामबाट मेघराज खड्का र मानबहादुर रावल, बझाङबाट पृथ्वीबहादुर सिंह, बैतडीबाट शिवराज भट्ट, दार्चुलाबाट विक्रमसिंह धामीसहित ११ जना निर्वाचित हुनुभएको छ ।

यस्तै प्रदेशसभा सदस्यमा निर्वाचित हुनेमा नेकपा माओवादी केन्द्रबाट रमेश धामी, कैलाली, खगराज भट्ट, डडेलधुरा, शिवसिंह ओली, डोटी, ओमविक्रम भाट, कञ्चनपुर, भीम भण्डारी बझाङ, मानबहादुर धामी, दार्चुला र अछामबाट अक्कलबहादुर रावल र झपटबहादुर साउदसहित आठ जना हुनुहुन्छ ।

नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभा सदस्यमा कैलालीबाट रामेश्वर चौधरी, कैलाश चौधरी, लक्ष्मणकिशोर चौधरी, घनश्याम चौधरी र खुसीराम चौधरीसहित पाँच जना र नेकपा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी, प्रकाश रावलसहित दुई जना निर्वाचित हुनुभएको छ ।

यस्तै नेकपा एमालेबाट प्रदेशसभामा निर्वाचित हुने तीन जनामा वीरबहादुर थापा कञ्चनपुर र सुरेन्द्र पाल बैतडी र चक्र मल्ल डोटी हुनुहुन्छ । डडेलधुराबाट स्वतन्त्र उम्मेदवार डा तारा जोशी पनि प्रदेशसभामा विजयी हुनुभएको छ । प्रदेशसभामा ५३ सदस्य रहेका छन् । प्रत्यक्षतर्फको बाजुराको दुई नतिजा र समानुपातिकको २१ सदस्यको नतिजा आउन बाँकी छ । रासस