शिवराज ढुङ्गाना
अछाम, मङ्सिर ९ गते । सुदूरपश्चिम प्रदेशसभाको सदस्यमा अछाम–२ को ‘ख’ मा बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका मानबहादुर रावल विजयी हुनुभएको छ । रावलले नेकपा (एमाले) का उम्मेदवार शिवप्रसाद उपाध्यायलाई दुई हजार ५५२ मतान्तरले पराजित गर्नुभएको मुख्य निर्वाचन अधिकृत कार्यालय, मङ्गलसेनले जानकारी दिएको छ ।
रावलले ११ हजार २१६ मत प्राप्त गर्नुभएको भने उपाध्यायले आठ हजार ६६४ मत प्राप्त गर्नुभएको छ । राप्रपाका उम्मेदवार दीपक विष्टले २०३ मत र स्वतन्त्र उम्मेदवार नृप विष्टले १९६ मत प्राप्त गर्नुभएको छ । विजयी हुनुभएका रावल नेपाल प्रहरीका पूर्व एसएसपी हुनुहुन्छ भने उपाध्याय राजनीतिमा रहेर २०६४ को संविधानसभा निर्वाचनमा अछाम क्षेत्र नं. २ मा निकटतम प्रतिस्पर्धी हुन् ।
अछाम–२ को ‘ख’ मा २१ हजार १३२ मत खसेका थिए । खसेका मध्ये मतगणनाका क्रममा ८२१ बदर भएका पाइएको छ । मङ्गलसेन नगरपालिका, ढकारी गाउँपालिका र कमलबजार नगरपालिकाको वडा नम्बर ६ देखि १० सम्म उक्त प्रदेश क्षेत्र पर्दछ ।
२०७४ को प्रदेशसभा निर्वाचनमा यस प्रदेशमा ९८९ मतान्तरमा नेकपा (एमाले) का उम्मेदवार विजयी हुनुभएको थियो । त्यस बेला एमालेका उम्मेदवार बलबहादुर सोडारीले १० हजार ८१६ मत र काँग्रेस उम्मेदवार बलबहादुर कुँवरले नौ हजार ८३७ मत प्राप्त गर्नुभएको थियो । सोडारी हाल नेकपा (एकीकृत समाजवादी) मा हुनुहुन्छ ।