• १३ साउन २०८१, आइतबार

राष्ट्र बैंकको कार्यविधिविरुद्ध निजी क्षेत्र आन्दोलित

blog

राष्ट्र बैंकको चालु पुँजी कर्जा कार्यविधिविरुद्ध मङ्गलबार बर्दिबासमा सडक प्रदर्शन गर्दै स्थानीय व्यवसायी । तस्बिर : गोरखापत्र

रवीन्द्र उप्रेती

बर्दिबास, मङ्सिर ६ गते । नेपाल राष्ट्र बैंकले जारी गरेको चालू पुँजी कर्जा कार्यविधिविरुद्ध यहाँका व्यवसायी आन्दोलित भएका छन् । बर्दिबास उद्याेग वाणिज्य सङ्घको अगुवाइमा मङ्गलवार यहाँका व्यवसायीले सडक प्रदर्शन गरेका छन् । 

‘चर्को ब्याजदर कम गर, बैंक आतङ्क बन्द गर, ब्याजदर चर्को भो गरिखान गाह्रो भो, उद्योग व्यवसाय घाटामा बैंक जति नाफामा’ जस्ता नारा लेखिएका प्लेकार्डसहित बर्दिबास चोकबाट निस्केको जुलुसले नगर परिक्रमा गरेको थियो । 

प्रदर्शनकै क्रममा उद्याेगी व्यवसायीले प्रशासन कार्यालय, बर्दिबास नगरपालिका तथा बैंकर्स एसोसियसन सङ्घको कार्यालयमा पुगेर विज्ञप्ति पनि बुझाएका थिए । सात बुँदे विज्ञप्तिमा बैंकहरुले सम्झौताविपरीत असुलेका सेवा शुल्क फिर्ता गर्नुपर्ने, कर्जामा एक अङ्कको ब्याजदर कायम गर्नुपर्ने, बैंकहरुले ब्याजबाहेक कुनै शुल्क लिन नपाउने माग समेटिएको छ । 

विज्ञप्तिमार्फत राखिएका अन्य मागमा बैंकहरुले अगाडि बढाएका लिलामी प्रक्रिया तत्काल स्थगन गर्नुपर्ने, चालु पुँजी कर्जा कार्याविधि ०७९ खारेज गर्नुपर्ने, कर्जाको नवीकरण म्याद ३ वर्ष गर्नुपर्ने लगायत छन् ।

स्थानीय व्यापारीका सङ्गठित जुलुुुुुस प्रदर्शनपछि पुन बर्दिबास चोकमा पुगि कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बाेधन गर्दै बर्दिबास उद्याेग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद गौतमले माग सम्बाेधन नभए चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिनुभयो ।

त्यस्तै सङ्घका पूर्व अध्यक्ष सुरेश राउत तथा स्थानीय व्यवसायी विष्णु खड्काले कात्तिक १ गतेदेखि राष्ट्र बैंकले लागु गरेको कार्यविधिका कारण निजी क्षेत्रका उद्याेगधन्दा,व्यापार व्यवसाय धराशायी हुने अवस्थामा पुगेकोले उद्याेग  व्यवसायी मैत्री नीति अवलम्बन गर्न राष्ट्र बैंकसँग माग गर्नुभयो । 

‘‘एकातिर बैंकहरुले मनोगत ढङ्गमा ब्याज बढाउने र अर्कोतिर शुल्कमाथि शुल्क थपेर उद्योगी ब्यवसायीलाई तनावमाथि तनाव थपेकाले समग्र निजी क्षेत्र एकजुट भएर अगि बढ्नुको विकल्प नभएकोले आन्दोलनमा उत्रन बाध्य हुनुपरेको हो’’ उहाँले भन्नुभयो । निजी क्षेत्रको आन्दोलनप्रति बर्दिबासस्थित नेपाल सुनचाँदी व्यवसायी सङ्घले समेत ऐक्यबद्धता जनाएको छ ।