• १३ साउन २०८१, आइतबार

मिश्रित परिणाम आउने सङ्केत

blog

दीपकप्रसाद गौतम

वीरगञ्ज, मङ्सिर ६ गते  । पर्साका चारवटै निर्वाचन क्षेत्रको मतगणना जारी छ। क्षेत्र नम्बर १ र २ को मतगणना सोमबार दिउँसो १.३० बजेदेखि सुरु भएको र क्षेत्र नं. ३ र ४ को मतगणना दिउँसो २.३० बजेबाट सुरु भएको मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले जानकारी दिनुभयो। 

पर्सा निर्वाचन क्षेत्र नं. १ र २ को वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा भइरहेको छ। निर्वाचन क्षेत्र नं. ३ र ४ को मतगणना पोखरिया नगरपालिकाका उच्चाङ्गल रामदेवप्रसाद कलवार माविमा भइरहेको मुख्य निर्वाचन अधिकृत पोखरेलले बताउनुभयो।

यहाँ एक लाख ९४ हजार ९०४ पुरुष, १ लाख ५१ हजार आठ महिला र अन्य १६ जना गरी कुल तीन लाख ४५ हजार ९२८ जना मतदाता छन्। त्यसको ६९ प्रतिशत अर्थात् दुई लाख ३८ हजार ५४ जनाले मतदान गरेको  पोखरेलले जानकारी दिनुभयो। 

जिल्लाका चारवटै प्रतिनिधि सभा सदस्यका लागि ५८ र आठवटै प्रदेश सभा सदस्यका लागि १०३ गरी कुल १६१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहनुभएको छ। पर्साको निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यतर्फ जसपाका प्रदीप यादवले अग्रता लिनुभएको छ। उहाँलाई स्वतन्त्र उम्मेदवार अजयकुमार द्विवेदीले पछ्याइरहनुभएको छ भने सत्ता गठबन्धनका लक्ष्मणलाल कर्णले न्यून मत ल्याउनुभएको छ।  

पर्सा निर्वाचन क्षेत्र नम्बर १ को (क) मा स्वतन्त्र उम्मेदवार जन्नत अन्सारी (जिप)ले अग्रता लिनुभएको छ। उहाँलाई नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका रहबर अन्सारीले  पछ्याइरहनुभएको छ भने नेकपा एमालेका विचारी यादव पछाडि पर्नुभएको छ। 

पर्साको निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यतर्फ नेपाली कांग्रेसका अजय चौरसिया अगाडि हुनुहुन्छ। जसपाका सुरेन्द्र कुर्मीले उहाँलाई पछ्याउनुभएको छ भने तेस्रो स्थानमा राप्रपाका नरेशकुमार साह हुनुहुन्छ। 

पर्साको निर्वाचन क्षेत्र नम्बर २ (क)बाट प्रदेश सभा सदस्यतर्फ नेपाली कांग्रेसका श्याम पटेल अगाडि हुनुहुन्छ। उहाँलाई जसपाका रामनरेश यादवले पछ्याउनुभएको छ। 

पर्सा क्षेत्र  नम्बर ४  मा पनि नेपाली कांग्रेस अगाडि देखिएको छ। कांग्रेसका उम्मेदवार रमेश रिजालको अग्रता रहेको छ। नेकपा एमालेका जालिम मियाँले उहाँलाई पछ्याउनुभएको छ।