• ११ चैत २०८२, बुधबार

कैलालीको सबै क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीको अग्रता

blog

अविनाश चौधरी

धनगढी, मङ्सिर ६ गते । कैलालीको क्षेत्र नम्बर १, २, ३ मा नागरिक उन्मुक्ति पार्टीले सुरुदेखि अग्रता कायमै रहेको छ । तीन वटै ठाउँमा गठबन्धन उम्मेदवारलाई पछाडि पार्दै रेशम चौधरी संरक्षक रहनुभएका पार्टीका उम्मेदवारहरू अगाडि रहनुभएको हो । 

क्षेत्र नम्बर ३ मा ३९ हजार २९४ मत गणना गर्दा नागरिक उन्मुक्ति पार्टीका गंगा चौधरीले १३ हजार ८५८ मतका साथ अगाडि हुनुहुन्छ। ११ हजार १६२ मतका साथ गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार कृष्ण चौधरी कुन्दनले पछ्याइरहनु भएको छ । 

यद्यपि, आधाभन्दा बढी मतगणना भइसक्दा दुवैबीचको मतान्तर भने बढ्दै गएको छ । त्यस्तै, नेकपा (एमाले) का उम्मेदवार पूर्वमन्त्री गौरीशङ्कर चौधरीले छ हजार ९२९ मत प्राप्त गर्नुभएको छ। 

क्षेत्र नम्बर १ मा १२ हजार २६५ मत गणना हुँदा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले पाँच हजार ४९० मतका साथ अग्र स्थानमा हुनुहुन्छ । उहाँलाई गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रामजनम चौधरीले तीन हजार ५९३ मतका साथ पछ्याइरहनु भएको छ । 

त्यसैगरी, कैलाली क्षेत्र नम्बर २ मा पनि नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अरुण चौधरीको अग्रता कायम छ । पाँच हजार ४२ मत गणना गर्दा चौधरीले एक हजार ५६५ मत प्राप्त गर्नु भएको छ । गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार भगत बडुवालले एक हजार ६० मत प्राप्त गर्नुभएको छ । 

कैलाली क्षेत्र नम्बर ४ मा भने एमालेले अग्रता लिएको छ । सात हजार ५४५ मत गणना हुँदा एमाले उम्मेदवार लेखराज भट्टले तीन हजार ४९४ मत प्राप्त गर्नु भएको छ । त्यस्तै, गठबन्धनकोतर्फबाट नेपाली कांग्रेसका उम्मेदवार वीरबहादुर बलायरले तीन हजार ४७३ मत प्राप्त गर्नुभएको छ । दुवैबीच रोचक प्रतिस्पर्धा भइरहेको छ । 

पाँच वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा चारवटामा मतगणना भइरहेको छ । क्षेत्र नम्बर ५ मा अहिले बिहान ८ बजेबाट मतगणना प्रारम्भ हुँदैछ ।