• १३ साउन २०८१, आइतबार

बालाचतुर्दशीको महत्त्व

blog

यस वर्षको बालाचतुर्दशी तिथि टुटेको छ। यो पर्व मङ्सिर ६ गते (आज) मङ्गलबार परेको छ। मार्ग कृष्ण त्रयोदशी डेढ घडी उप्रान्त भनौ बिहान ७ः१० बजेपछि चतुर्दशी सुरु हुन्छ। अघिल्लो दिन ५ गते बिहान ७:४१ बजे द्वादशी सकेर त्रयोदशी सुरु हुने हुँदा पशुपति क्षेत्रलगायत देशैभरिका शिवालयमा पितृका नाममा बत्ती एवं महादीप बाल्ने काम यसै रात्रिमा गरिन्छ। यो चतुर्दशी खासगरी अघिल्लो दिन त्रयोदशीका दिन बेलुकी शिवालयमा पितृको नाममा दीपदान गरिने, भोलिपल्ट देवालय, शिवालयमा शतबीज छर्ने पर्वका रूपमा हेरिने चलन हामीकहाँ पुरानै हो। यी दिनमा काठमाडौँको पशुपति, गौरीघाट, किराँतेश्वर, मृगस्थलीमा भक्तजनको ठूलो भीड लाग्ने गर्छ। 

के छ शास्त्रमा ?

पशुपति क्षेत्रको मृगस्थलीमा परिभ्रमण गर्दै शतबीज छर्नाले प्रत्येक दानामा एक रति सुवर्णदान सरह हुने, दिवङ्गत पितृले संसारमा भड्किनु नपर्ने, पशुपति, गुह्येश्वरीको दर्शनका साथै वासुकी नागको पूजा एवं दर्शन गर्नुपर्ने र यसो गर्नाले समस्त लोककै कल्याण हुन्छ।

दिवङ्गत पितृ उद्धार हेतु पाशुपत क्षेत्रमा गरिने धेरै कार्यमध्ये शतबीज रोपण अर्थात् शतबीज छर्ने काम पनि एक प्रमुख हो। त्यसो त शतबीज छर्नुअघि राति पितृ उद्धार हेतु दीप प्रज्वलन गर्ने, महादीप बाल्ने चलन छ, दिव्य लोकमा पितृको बास र उज्यालो होस् भनेर। साँच्चै चारै दिशाका भक्तजनको ओइरो नै लाग्ने गर्छ यहाँ। त्यसो त पशुपति आउन नसक्नेहरूले सिन्धुली जिल्लाको कुशेश्वर मन्दिरदेखि काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, मकवानपुर, ललितपुर, भक्तपुरलगायत १० विभिन्न जिल्लामा रहेका ६४ शिव ज्योतिर्र्लिङ्ग वा अन्यान्य शिवालय, देवालय तथा शक्तिपीठमा पितृका नाममा बत्ती बाल्ने, जाग्राम बस्ने भोलिपल्ट बत्ती सेलाएर शतबीज छर्ने गरिन्छ। पुनर्जन्ममा विश्वास राख्ने पूर्वीय धर्म, संस्कृति प्राचीन, अर्वाचीन छ। संसारको उदयदेखि नै आरम्भ भएको हिन्दु संस्कृति र सभ्यताले दिवङ्गत पितृहरूको अक्षय पुण्य प्राप्त गराउने विशेष पर्वअन्तर्गत बालाचतुर्दशी पनि एक हो।

काठमाडौँको प्रसिद्ध पाशुपत क्षेत्रस्थित लप्सीका रुख भएको श्लेष्मान्तक वनलाई अघि बालावन भनिन्थ्यो। बालावनमा शैव धर्मावलम्बी अघोरी बाबा धेरै बस्दथे। भनिन्छ, त्रेता युगमा पुलस्त्य ब्राह्मण कुलका रावण, कुम्भकर्ण, शुर्पणखा पनि यहीँ बस्थे। बागमती तट गोकर्ण क्षेत्रमा कडा तप गरे तिनले! विश्वका प्रसिद्ध पशुपतिनाथको ज्योतिर्लिङ्ग उदय भएपछि शैवमार्गी यस क्षेत्रमा धेरै भए। तीमध्ये एक नायक थिए बालानन्द। त्यतिबेला मसानघाटमा भोज भतेर खाने प्रचलन रहेछ। एकदिन खानेकुरा खाँदाखाँदै, घाटमा जलाउँदै गरेको एउटा लासको टाउको फुटेर गिदी उछिट्टियो र उनै बालानन्दको खानामा पर्न गयो। थाहा नपाई उनले त्यो खाना खाएपछि उनको तेज र फूर्ति धेरै बढेछ। अब त उनले घाटमा जलाउन ल्याएका सबैजसो लास तान्दै वनमा लग्दै खाँदै गर्न थालेछन्। यसो हुँदा हिन्दु धर्म परम्पराअनुसार काजकिरिया गर्न नपाउँदा सर्वसाधारणले ठूलै समस्या भोग्नु परेछ। अन्ततः त्यतिबेलाका राजा भुवनकेसरसम्म जाहेरी भएछ। आसुरी प्रवृत्ति बढ्दै गएपछि त्यो बालानन्दको नाम बालासुर हुन पुगेछ। त्यहाँको वनलाई पनि बालावन भनिन थालेछ। सर्वसाधारणको उजुरीपछि राजाले बालासुरलाई वध गर्न आदेश दिएछन्।

बालासुर निकै बलशाली थियो। जो कोहीले उसलाई वध गर्न सक्ने थिएन। तसर्थ बालासुरकै पत्यारिलो साथी खोजी गर्दा वृषसिंह भन्ने एक व्यक्ति फेला परेछन्। राजाको आज्ञाले बालासुरको वध गर्न उनैलाई भनिए छ। तर, वृषसिंह आफैँमा त्यस्तो सामथ्र्य नभएपछि शिवजीको कठोर तप गर्न लागेछन्। कठोर तपबाट खुसी भई घुम्न आएका शिव दम्पतीले बालावनमा वृषसिंहलाई वरदान माग्न भनेछन्। उनले पनि आसुरी शक्ति बालासुरलाई मार्न सक्ने वरदान दिनुहोस् भन्दा शिवजीले हुन्छ भन्नु भएछ। तर, एउटा सर्तमा कि उसलाई मारेपछि उसको शिर भने शिवजीलाई नै दिनुपर्ने गरी। 

वृषसिंह शक्ति सम्पन्न त भए तर मन मनै खिन्न पनि! साथीको हत्या आफैँमा ठूलो अपराध थियो! तैपनि बालासुरलाई नमारी नहुने भो भनेर उनले विभिन्न योजना बनाए। चिउरा, मदिरा, मासुका परिकार, साथीलाई मनपर्ने ठानी भरियाका साथमा ठूलै भीड लिएर वृषसिंह घाटतिर जाँदै थिए एकदिन। बालासुरले घाटमा लास जलाउन ल्याएको भन्ने ठान्यो र लासलाई खोस्न लाग्यो, साथी वृषसिंहलाई पनि देख्यो। आपसी संवाद हुँदै जाँदा वृषसिंहले भने – लामो समयपछि तपाईंलाई भेट्न आएको, खाली हात कसरी आउँ भनेर केही खानेकुरा उपहार ल्याएको छु। बालासुर खानामा लोभी थियो अघाउन्जेल उपहार र खाना खायो। केही बेरपछि मदिराले मात्तिएर ढलपल गर्न लाग्यो। यही मौकामा वृषसिंहका भरियाले उसलाई डोरीले बाँधे, गहिरो इनारमा खसाले, त्यहीँ ढुङ्गा मुढा गरेर मारिदिए। वृषसिंह उसको टाउको लिएर राजाकहाँ पुगे र भने यो टाउको शिवजीलाई नै अर्पण गर्नुपर्छ, राजाले हुन्छ भने। वृषसिंह टाउको लिएर पशुपति गए। शिवजी खुसी भएर वरदान माग भन्नुभयो। वृषसिंहले आफ्नो कामप्रति पछुतो मान्दै मित्रहत्याको अपराध नलागोस् भनी वरदान मागे। 

शिवजीले भन्नुभयो, त्यसो भए एउटा काम गर, यसको टाउको चाँदीको बनाऊ र उसलाई मारेको दिन पारेर मेरो शिरमा मुकुटका रूपमा राख। बालासुरलाई मारेको दिन मार्गकृष्ण चतुर्दशी रहेछ। त्यसैदिन पारेर पशुपतिमा चाँदीको मुकुट लगाइदिने नयाँ चलन चल्यो जुन अद्यापि छ। मेरो शिरमा राख्नु अनि दोष लाग्दैन भने, शिवले। बालासुरलाई मारेको दिन पारेर पशुपतिमा चाँदीको मुकट लगाउनाले र 

यसै दिन श्लेष्मान्तक क्षेत्रमा भ्रमण गर्नाले सम्पूर्ण दिवङ्गत पितृको उद्धार हुन्छ भन्ने पनि वरदान मिल्यो। बालावन जसलाई श्लेष्मान्तक वन भनिन्छ, त्यहाँ बालाकै नामबाट रहेको तिथि बालाचतुर्दशीमा जसले शतबीज छर्छन् तिनका पितृको मुक्ति मिल्छ भन्ने तारतम्य मिलाइयो। 

शतबीज र बहिरो गणेश

मार्गकृष्ण चतुर्दशीमा त्यहाँ ठूलो मेला लाग्ने र पशुपतिको विशेष दर्शन गर्ने पनि चलन छ। सके सयथरी अन्नको बीउ, नसके सातथरी धान, गहुँ, मकै, जौ, मुगी, भटमास, बोडी आदि एकै ठाउँमा मिलाएर शतबीज बनाउने र छर्ने चलन छ, खासगरी उम्रने वस्तु आवश्यक हो, अहिले फलफूल, उखु अन्य वस्तुका टुक्रा पनि राख्ने गरेको देखिन्छ। शतबीजलाई सद्मी भन्ने गरिन्छ। अघिल्लो दिनदेखि नै महादीप बाली जाग्राम बस्ने पशुपति क्षेत्रपरिसरमा धुमधामको जात्रा गर्ने, भजन कीर्तन गर्ने पनि चलन छ। भोलिपल्ट चतुर्दशीका दिन शतबीज छर्दा र पशुपति, गुह्येश्वरी, वासुकी, मृगस्थली भ्रमण मात्र गर्दा पनि मानव जन्ममा जन्म–मरणको चक्र दूर हुन्छ भनी स्कन्द पुराण हिमवत् खण्ड मृगस्थली माहात्म्य एवं हेमाद्री संहितामा उल्लेख छ। सद्मी छर्ने प्रमुख स्थानमा विश्वरूप, किराँतेश्वर, चौसठी क्षेत्र आदि मुख्य हुन्। मृगस्थली नजिकै विश्वरूपाअगाडि बहिरा गणेश छन् तिनको छुट्टै महत्व छ। सद्मी छर्न जानेले उनको मूर्ति हल्लाउँदै मूर्तिको कानमा ठूलो स्वरले कराउनुपर्छ। यसो गर्दा यमलोकमा रहेका मृतकका आफन्त मृतकका लागि सद्मी छर्न आएका छन् भनी ती बहिरा गणेशले मृतकलाई भनिदिन्छन्, खबर पु¥याइदिन्छन्। सद्मी छरेको अभिलेख राख्ने काम यी गणेशले गर्ने गर्छन्। अन्य मठमन्दिरमा पनि हनुमान, गणेश आदिको तस्बिर, मूर्ति हामी पाउने गर्छौं जसले मन्दिरमा को कहिले आए के गरे सबै अभिलेख राख्ने गर्छन् भनिन्छ।

शतबीजको एक दाना एक रति सुन बराबरको पुण्य हुने हुनाले सद्मीका बीजको अनगन्ती पुण्य हुने कुरा धर्मशास्त्रमा उल्लेख भएको पाइन्छ। शिवजीले मृग रूप लिएर यसै मृगस्थलीमा भ्रमण गरेकाले यहाँको नाम मृगस्थली रहेको र बालाचतुर्दशीकै दिन शिवले एकसिङे मृग रूप लिएकाले यस दिन मृगस्थलीमा पुग्ने र शतबीज छर्नेहरू जो कोही पनि दीर्घजीवी हुने गर्छन्।