• १२ असोज २०८१, शनिबार

ओखलढुङ्गामा मतगणना सुरु

blog

शेरबहादुर राई

ओखलढुंगा, मङ्सिर ५ गते। ओखलढुङ्गामा मतगणना सुरु भएको छ। सोमबार दिउँसोदेखि मतगणना सुरु गर्ने भनिए पनि केही विषयमा भएको विवाद समाधान नहुँदा मतगणनामा ढिलाइ भएको हो। 

६४ वटा मतपत्र प्रतिनिधिसभाको मतपेटिकामा खसेपछि मात्र त्रुटि थाहा भएको थियो। सो विषयमा विवाद भएपछि आइतबार मतदान सम्पन्न गर्न तत्काल तीन प्रमुख दलका प्रतिनिधि राखेर सूर्यमा खसेको मत सूर्यमा नै र हसिया हथौडामा खसेकोलाई रुख चिह्न मान्ने सर्तमा मतदान थालिएको थियो। सोही मतलाई गणनाको बेला के गर्ने भन्ने विषयमा मुख्य निर्वाचन अधिकृतले निर्णय दिन नसक्दा मतगणना हुन नसकेको हो।

मुख्य निर्वाचन अधिकृत टिकाराम आचार्यले निर्वाचन आयोगलाई लेख्नु भएको थियो। उक्त पत्रको आयोगले पठाएको सुझाव पत्रमा दलबीच सहमति जुटेपछि मतगणना सुरुभएको मुख्य निर्वाचन अधिकृत आचार्यले बताउनुभयो। अहिले प्रदेशसभा प्रत्यक्ष तर्फको मतगणना भइरहेको छ। 

हाल प्रदेशसभा तर्फको निर्वाचन क्षेत्र (क) को खिजीदेम्बा गाउँपालिका वडा नम्बर १ र २ र प्रदेश (ख) तर्फ लिखु गाउँपालिका वडा नम्बर १ र २ को मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय ओखलढुङ्गाले जनाएको छ।