• ९ मंसिर २०८१, आइतबार

केन्द्रीय कारागारका कैदीबन्दीले गरे मतदान

blog

काठमाडौं, मङ्सिर ४ गते । केन्द्रीय कारागार जगन्नाथदेवल मतदान केन्द्रबाट सात कैदीबन्दीले मतदान गरेका छन् । आठ कैदीबन्दीको मतदाता नामावलीमा नाम रहे पनि सात कैदीबन्दीले मतदान गरिसकेको मतदान अधिकृत ईश्वरीप्रसाद अर्यालले जानकारी दिनुभयो ।

एक कैदीबन्दीको भने यसअघि नै अर्को कारागारमा स्थानान्तरण भएको थियो । बिहान ७ बजे नै मतदान सुरु भएकामा ८ बजेअगावै उनीहरुले मतदान गरेका हुन् । सो मतदान केन्द्रमा आठ कैदीबन्दी र १२ कर्मचारी गरी २० जनाको मतदाता नामावली कायम थियो ।

मतदाता सूचीमा रहेका १२ मध्ये ११ कर्मचारी निर्वाचनमा खटिइएकाले मतदान अधिकृत अर्यालले मात्र सो केन्द्रबाट मतदान गर्नुभयो । उहाँहरुले प्रतिनिधिसभाको समानुपातिकतर्फ मात्र मतदान गर्नुभएको हो । समानुपातिकको मत आयोगमा दर्ता भएका राजनीतिक दलले मात्र पाउने प्रावधान छ ।

केन्द्रीय कारागार मातहत रहेका तीनवटा कारागारमध्ये केन्द्रीय कारागारमा चार र भद्र बन्दीगृहका तीन बन्दीले मतदान गरेका हुन् । महिला कारागारमा रहेका कैदीबन्दीको भने मतदाता नामावलीमा नाम नरहेको बताइएको छ । केन्द्रीय कारागारमा तीन हजार चार सय कैदीबन्दी छन् ।

निर्वाचन आयोगले पहिलोपटक मतदाता नामावलीमा नाम समावेश भएका कैदीबन्दीलाई मतदान गर्ने व्यवस्था गरेको थियो ।