• १३ असोज २०८१, आइतबार

काभ्रेका सबै मतदान केन्द्रमा मतदान जारी

blog

नेपाली कांग्रेसका नेता शिवप्रसाद हुमागाईं र नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटा मतदान गर्नुहुँदै ।

काभ्रेपलाञ्चोक, मङ्ंसिर ४ गते । प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन सुरु भएको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मतदान गर्नका लागि मतदाताहरू उत्साहित भएर बिहानैदेखि लाइनमा लागेका छन् । जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्बर १ र २ का सबै मतदान केन्द्रमा आइतबार बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । 

प्रतिनिधि सभा क्षेत्र नम्बर १ निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधि सभा १ अन्तर्गतका एक सय ८९ वटै मतदान केन्द्रमा मतदान सुरु भएको जनाएको छ । यसैगरी प्रतिनिधि सभा क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधि सभा २ अन्तर्गतका दुई सय वटै मतदान केन्द्रमा मतदान सुरु भएको छ । मतदान सुरु भएसँगै प्रतिनिधि सभा १ का उम्मेदवार नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सूर्यमान तामाले तेमाल गाउँपालिका ९ स्थित वडा कार्यालय, एमालेका पोलिटब्युरो सदस्य रेशम बहादुर लामाले नमोबुद्ध नगरपालिका १० स्थित बाल उज्ज्वल माविमा मतदान गर्नु भएको छ । यसैगरी प्रतिनिधि सभा १ अन्तर्गतका प्रदेश सभा (क) का उम्मेदवारहरू बागमती प्रदेशका युवा तथा खेलकुद विकासमन्त्री रत्नप्रसाद ढकालले चौरीदेउराली गाउँपालिका ५ स्थित अरनिको मावि, दिलबहादुर तामा (दिलीप) ले रोशी गाउँपालिका ११ स्थित पोक्रा माविमा रहेको मतदान केन्द्रमा मतदान गर्नुभएको छ । 

यसैगरी प्रतिनिधि सभा १ को प्रदेश सभा (ख) का उम्मेदवार नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थबहादुर लामाले रोशी गाउँपालिका ६ स्थित कालीदेवी मावि, एमाले काभ्रेका उपाध्यक्ष तथा बागमती प्रदेशका पूर्व कृषिमन्त्री चन्द्रबहादुर लामाले नमोबुद्ध गाउँपालिका ८ स्थित सेतीदेवी माविमा मतदान गर्नुभएको छ । यसैगरी प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँले आइतबार बिहानै पनौती नगरपालिका ९ स्थित शारदा मावि, एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मण्डनदेउपुर नगरपालिका ४ स्थित महाकाली माविमा आइतबार बिहान पहिलो मत हाल्नु भएको छ । यस्तै स्वतन्त्र उम्मेदवार मनोज पण्डितले धुलिखेल नगरपालिका ४ स्थित नापी तालिम केन्द्र, स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश हुमागाईँले पनौती नगरपालिका १२ स्थित बालप्रकाश माविमा रहेको मतदान केन्द्रमा मतदान गर्नुभएको छ । 

प्रतिनिधि सभा क्षेत्र नम्बर २ अन्तर्गतको प्रदेश सभा (क) का उम्मेदवार नेपाली काँग्रेस बागमती प्रदेशका महामन्त्री कञ्चनचन्द्र वादेले बनेपा नगरपालिका ९ को वडा कार्यालय, एमालेका बागमती प्रदेश कमिटी सदस्य कुमार थापाले पनौती नगरपालिका ११ स्थित लड्केश्वर आधारभूत विद्यालय, स्वतन्त्र उम्मेदवार विश्वेश्वर बञ्जाराले पनौती नगरपालिका ८ स्थित भालेश्वर मावि र रञ्जित श्रेष्ठले धुलिखेल नगरपालिका ३ स्थित पञ्चकन्या आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्नुभएको छ । यस्तै प्रतिनिधि सभा २ अन्तर्गतको प्रदेश सभा (ख) का उम्मेदवार कुमार खकुरेलले पाँचखाल नगरपालिका ११ स्थित गङ्गादेवी प्रावि, लक्ष्मण लम्सालले मण्डनदेउपुर नगपालिका ७ स्थित साबिक गाविस भवन कुन्तामा रहेको मतदान केन्द्रमा मतदान गर्नु भएको छ । जिल्लामा प्रतिनिधि सभा १ को सदस्य पदका लागि १७ जना, प्रतिनिधि सभा १ प्रदेश सभा (क) र (ख) का लागि नौ नौ जना, प्रतिनिधि सभा २ को सदस्य पदका लागि १६ जना, प्रतिनिधि सभा १ को प्रदेश सभा (क) का लागि छ जना र प्रदेश सभा (ख) का लागि सात जनाले उम्मेदवारी दर्ता गराउनु भएको छ । 

जसले आफैलाई भोट हाल्न पाउनु भएन 

आइतबार भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्लामा उम्मेदवारी दिनु भएका दुई उम्मेदवारले आफू आफैलाई मतदान गर्न पाउनु भएन । मतदाता नामावली भएको क्षेत्र र उम्मेदवारी दिएको क्षेत्र फरक परेका कारण जिल्लामा प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराउनु भएका शिवप्रसाद हुमागाईँ र प्रतिनिधि सभा क्षेत्र नम्बर १ अन्तर्गतको प्रदेश सभा (ख) का उम्मेदवार तीर्थ बहादुर लामाले आफैलाई मतदान गर्न नपाउनु भएको हो । 

प्रतिनिधि सभा २ मा गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका हुमागाईँको मतदाता नामावली पनौती नगरपालिका–९ स्थित शारदादेवी मावि मतदान केन्द्रमा रहेको छ । उक्त मतदान केन्द्र प्रतिनिधि सभा क्षेत्र नम्बर १ अन्तर्गत रहेको छ । यसै गरी गठबन्धनको तर्फबाट प्रतिनिधि सभा १ अन्तर्गतको प्रदेश सभा (ख) मा उम्मेदवारी दर्ता गराउनु भएका लामाको मतदाता नामावली रोशी गाउँपालिका–६ स्थित कालीदेवी आधारभूत विद्यालय पिनडाँडामा रहेको छ । उक्त मतदान केन्द्र प्रतिनिधि सभा १ को प्रदेश सभा (क) अन्तर्गत पर्दछ । मतदाता नामावली रहेको क्षेत्र र उम्मेदवारी दर्ता गराएको क्षेत्र फरक परेका कारण हुमागाईँ र लामाले आफूलाई मतदान गर्न नपाउनु भएको हो । 

यसैगरी जिल्लाको प्रतिनिधि सभा १ का स्वतन्त्र उम्मेदवार रुक्मिणी श्रेष्ठले पनि आफैलाई मतदान गर्न नपाउनु भएको छ । काठमाडौँ महानगरपालिका १० की उहाँले जिल्लाको प्रतिनिधि सभा १ का लागि उम्मेदवारी दिनुभएको छ । यस्तै नेपाल मजदुर किसान पार्टीका तर्फबाट प्रतिनिधि सभा १ मा उम्मेदवारी दिनु भएका पूर्ण सिं तामाङ र नेमकिपाकै तर्फबाट प्रतिनिधि सभा १ को प्रदेश सभा (ख) का उम्मेदवारले पनि आफैलाई मत हाल्न नपाउनु भएको हो । उहाँहरू दुवै जिल्लाको प्रतिनिधि सभा २ का मतदाता हुनुहुन्छ । 


Author

केदार तिमल्सिना