राष्ट्रिय विभूति (नेसनल पायोनियर) को सन्दर्भ र परिचर्चा कुनै पनि देशको गौरवशाली यथार्थ हो । पृथक् थलो, राज्य र परिवेशमा समय समयमा के कस्ता मान्छे जन्मे तथा अन्य के कस्ता छन्, विषयगत र विधागत रूपमा त्यससम्बन्धी प्रसङ्ग विशिष्ट एवं श्रवणीय हुने गर्छ । राष्ट्रिय र सामाजिक जीवनको विविधाङ्गी मानवीय क्रियाकलाप विश्लेष्य मानिन्छ । राजनीतिक, सामाजिक र सांस्कृतिक जीवन गत्यात्मक हुन्छ तथा अनेकानेक पद्धति एवं प्रवृत्ति (एट्टिचुड) ले ऐतिहासिक अंश र एकाइको निर्माण गर्छ । जीवन प्रणालीमा समुदाय, समाज, राज्य र अन्तरबाह्य पक्षको विश्लेषण हुन्छ । महापुरुष र अद्वितीय प्रतिभा कुनै पनि ठाउँमा सीमित जन्मिने र देखिने हुन्छ । वस्तुतः प्रवृत्तिसापेक्ष, संस्कृतिसापेक्ष, समयसापेक्ष र मानवतासापेक्ष तिनको आविर्भाव हुन्छ । यस क्रममा उत्तर आधुनिकतावाद (पोस्ट मोर्डनिज्म) को वैचारिक मन्थनले नेपालमा दिशा चिन्तनको नवीनता थपेको यथार्थ हो ।
आफ्नै देशको निष्पक्षताले कुरा गर्दा गोरखाधीश पृथ्वीनारायण शाह नेपालका राष्ट्रनिर्माता विभूति रहेको ऐतिहासिक तथ्य उपलब्ध छन् । असङ्ख्यले तीन सय वर्ष वरिपरिको कालखण्डमा कतिपय राष्ट्रिय महापुरुष र उत्तराधिकारी सपूतहरूले समयचेत रूपमा धेरथोर नेपालको श्रीवृद्वि गर्दै गरेको देख्छन् । सङ्क्षेपतः संवत् १८२५ को राजनीतिक समीकरणपश्चात् संवत् २०७२ को समयचेतनाले नेपालमा संवैधानिक रूपमा लोकतान्त्रिक गणतन्त्रको संवहन गरेको हो । प्रमुख समुद्देश्य भने बहुमतीय लोकसम्मति (पब्लिक ओपिनियन) र लोकेच्छा (पब्लिक बिल) रह्यो । यसैगरी कालप्रवाहको सफल नेतृत्व गर्ने कतिपय राजनेता पनि हामीले पायौँ । यस्ता युगोचित धरातलीय यथार्थ (ग्राउन्ड रियालिटी) अविस्मरणीय छन् । हामी बहुदलतन्त्रको तीन दशकीय समयप्रवाहले राजनीतिसूचक नवीन सचेतना र कतिपय युगीन सन्देश पहिल्याउन सहयोग पु¥याएको देख्छौँ । परम्परागत र आधुनिक मानवीय संस्कृति (हुमन कल्चर) भित्र पारिभाषिक दृष्टिले थुपै्र कुरा पर्छ । मूर्तामूर्त ती कुनै रूपमा रहेका होऊन ढिलो चाँडो ती बौद्धिक, सांस्कृतिक र राजनीतिक अङ्ग बन्ने गर्छन् । संस्थापन र संबद्ध तहले समय समयमा नेपाली परिधिका कतिपय महान् प्रतिभालाई राष्ट्रिय विभूति घोषणा गरेको देखिन्छ । समग्रतः ती विचारणीय र विश्लेषणीय यथार्थ बनेको भेटिन्छ । हामीले समयप्रवाहमा सुदक्ष व्यक्तित्व आफ्नो समयका वृद्ध महावीर भक्ति थापा (वि.सं. २०७८, असार १६, बुधबार) र असीम मानवतावादी बझाङी चिन्तक एवं लेखक जयपृथ्वीबहादुर सिंह (वि.सं. २०७९, असार ६, मङ्गलबार, गोरखापत्र) लाई नेपाल सरकारले राष्ट्रिय विभूति घोषित गरेको देख्यौँ जुन अत्यधिक प्रशंसनीय कदम हो ।
दूरदर्शी भाषासेवी, विश्लेषक र समाख्याताहरूले लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, लेखनाथ पौडेल, माधवप्रसाद घिमिरे, गोपालप्रसाद रिमाल, केदारमान व्यथित, सिद्धिचरण श्रेष्ठ, भीमनिधि तिवारी, हेमराज शर्मा (भाषाविद् र वैयाकरण), मदनमणि दीक्षित, दौलतविक्रम विष्ट, कृष्णचन्द्रसिंह प्रधान, गोविन्द गोठाले, नयराज पन्त, कमल दीक्षित, वासुदेव लुइँटेल, रमेश विकल, कुमारबहादुर जोशी, महानन्द सापकोटा, भूपि शेरचन, ईश्वर बराल, जगदीशशमशेर राणा, मोहन कोइराला, बालकृष्ण पोखरेल, तारानाथ शर्मा, मोहनराज शर्मा, जगदीश घिमिरे, घटराज भट्टराई, वासु शशी, डा.नगेन्द्र चापागाईं एवं शताब्दीपुरुष सत्यमोहन जोशी प्रभृतिलाई नेपाली भाषा र साहित्यका चिरस्मरणीय मनिषी ठहराएको भेटिन्छ ।
प्रतिभापरक समाकलन गर्दा दीर्घावधिक असाध्य सेवा, असीम साधना र समतावादी चिन्तनले गर्दा आठौँ दशक वरिपरिको आधुनिक नेपाली गणतन्त्रकालीन वाङ्मयलाई गम्भीर सचेतना र उच्च बौद्धिकता थप्ने सर्वश्री प्रा. नगेन्द्रराज शर्मा (संवत् १९९४ चैत), रोचक घिमिरे (संवत् १९९८ भदौ), धु्रवचन्द्र गौतम (संवत् २००० पुस), ध्रु्रव सापकोटा (न–रो–ध वा धु–रो–न सूत्र), परशु प्रधान, भाउपन्थी, वासुदेव त्रिपाठी, दयाराम श्रेष्ठ, अभि सुवेदी, रामदयाल राकेश, वैरागी काइला, कृष्णभक्त श्रेष्ठ, द्वारिका श्रेष्ठ, तुलसी दिवस, जगमान गुरुङ, प्रा. मोहन हिमांशु थापा, प्रा.हरिराम जोशी (‘अभिनव संस्कृतिकोष’ ग्रन्थमा संवत् २०५८ को मदन पुरस्कार विजेता) र प्रा. सनत रेग्मी प्रभृति कतिपय निश्चयतः धेरथोर भाषिक विभूतिका रूपमा चर्चा गर्न मिल्ने तेजस्वी व्यक्तित्व हुन् ।
लोकतान्त्रिक गणतन्त्रकालका यस्ता केही अजरामर साधक भाषासेवीतर्फ संस्थापनको गम्भीर ध्यान जानु उचित छ । अन्तरबाह्य दृष्टिले राष्ट्रिय, अन्तर्राष्ट्रिय र दक्षिण एसियाली परिवेशमा निर्बाध अविच्छिन्न नेपालको गौरववृद्धि गर्ने स्रष्टाको भाषिक पुरुषार्थको क्रमिक रूपमा चिनारी प्राप्त गर्दै संस्थापनले तिनलाई सम्मानजनक प्रतिष्ठा प्रदान गर्नु अत्यावश्यक छ ।
प्रथम उत्तर आधुनिक नेपाली महाकाव्यकार (फस्र्ट पोस्ट मोर्डनिष्ट इपिक राइटर अफ नेपलिज लिटरेचर) गोपाल पराजुली (नयाँ ईश्वरको घोषणा, संवत् २०६०), महाकाव्यकार चन्द्र प्र. न्यौपाने (चन्द्रयुग, बृहत्तर काव्य, संवत् २०६५), महाकाव्यकार रमेश खकुरेल (सरिता नानी, संवत् २०४९, स्रग्धरा, संवत् २०५९ र अघोरी, संवत् २०७३), महाकाव्यकार बुनु लामिछाने (याचना, संवत् २०६०), विद्रोही इन्द्रकुमारी (संवत् २०६४) तथा महाकाव्यकार सोमराज अभय (विद्रोही काले, संवत् २०६५, महार्चन, संवत् २०७०) जस्ताको भाषा र साहित्यसम्बन्धी सेवा विश्लेषणीय रहेका छन् । यसैक्रममा महाकाव्यवेत्ता जगदीशशमशेर राणा (नरसिंह अवतार, संवत् २०३७, उत्तर आधुनिकतावाद र बाहुल्य विस्फोट, सन् २०१३) को कृति अभिग्र्रहणीय र विवेचनीय रहेको यथार्थतिर असङ्ख्य जिज्ञासुको ध्यान जानुपर्ने देखिन्छ । भाषा र साहित्य भनेको कुनै चानचुने एवं सामान्य कुरा होइन । मानवीय सभ्यताको प्रारम्भिक परिचय व्यवहार, संस्कार, समन्वय र संस्कृतिबाट थालनी भएको मानिन्छ । वाङ्मयिक सचेतना र संस्कृतिले ओतप्रोत स्रष्टालाई प्रायःगरी थुपै्रले मन पराउने गर्छन् तथा त्यस्ता केहीलाई असीम श्रद्धा गर्छन् ।
वस्तुतः एक्काइसौँ शताब्दीको वैश्विक परिवेशको संस्कृतिचेत विश्वव्यापीकरणको चेष्टा (रिजल्टस अफ ग्लोबलाइजेसन) नियाल्दा मान्छेको जीवन अत्यधिक वस्तुमूलक र उपभोक्तावादी बन्दै गएको स्थिति छ । यथार्थवादी अस्तित्ववादी दृष्टिले सोच्दा मानवीय गतिविधि वस्तुतथ्यमा अश्रित हुनु कुनै नौलो कुरा मानिँदैन । पारस्परिक सहकार्य र सहसम्बन्धनको व्यापक उष्म नभएको मानवीय क्रियाकलाप एक प्रकारले मूल्यहीन ठहरिन्छ । यस्ता स्थितिबाट बच्दै प्रत्येक नागरिकले युगचेत समसामयिकतालाई सङ्गेटनु आवश्यक छ । वैयक्तिक वैभवले उठेका थुप्रैले वर्गीय उच्चतालाई समष्टिचेत नमानी याथार्थिक स्थायी प्राप्ति ठान्ने भूल गरेको भेटिन्छ । धन र सत्ताले जतिसुकै चुलिए पनि बहुलतासूचक साझा आत्मबोध नभएमा मानवीय पूर्व सुकर्म निरर्थक बन्न जाने सम्भावना हुन्छ ।
समावेशी बहुदलीय पद्धतिले नेपालमा अपरम्परागत लोकमार्गको दिशा पहिल्याएको यथार्थ हो । युगसापेक्ष पद्धति र प्रवृत्ति हुने गर्छ एवं हुनुपर्छ पनि । स्वस्थ पद्धति भनेकै बहुसङ्ख्यक विवेकशील बुद्धिजीवीको प्रवृत्तिगत स्वच्छता हो । प्रायःगरी थुप्रैले सिद्धार्थ गौतमवादी चिन्तनभन्दा वस्तुवादी यथार्थवादमा अत्यधिक चासो राखेकाले विश्वप्रणाली राष्ट्र–राष्ट्रबीच अविश्वासको कूटनीतिमा अलमलिएको देख्ने गर्छन् । प्रथम उत्तर आधुनिकतावादी नेपाली महाकाव्यकार गोपाल पराजुली (नयाँ ईश्वरको घोषणा, संवत् २०६०)ले युद्धभन्दा विश्ववासीले बुद्धप्रति आकृष्ट हुनुपर्छ भन्नुमा शान्तिसूचक प्रमुख आशय रहेको हुनु सुखद छ ।
पुस्तागत युगबोधलाई बेवास्ता गर्ने कुपथमा संलग्न कतिपय स्वार्थी दुर्जनलाई एकदिन समयले दण्ड दिने म निश्चित देख्छु । यसर्थ परिवर्तित समय प्रवाहको मूलदिशा र शिष्टाचारलाई सबैले ठम्याउनु पर्छ । अधिकार अर्थात् सहुलियत प्रयोगका दृष्टिले देशका सम्पूर्ण नेपाली नागरिक जन सम्प्रभु हुन् । विश्वविद्यालयसित सम्बद्ध वीरगञ्ज महानगरनिवासी मेरा श्रद्धेय गुरु प्रखर राजनीतिशास्त्री डा.पार्थकुमार चक्रवर्तीले आदर्शनगरको पशुपति चोकमा एक समय भन्नु भएको मलाई स्मरण हुन्छ, ‘नेपालको संविधानअनुसार तीन कोटि वरिपरिका सम्पूर्ण नेपाली नागरिक समान रूपमा देशका सम्प्रभु (सोवेरन) र विधाता हुन् । त्यसैले सबै जनाले संवैधानिक पद्धतिसापेक्ष न्यायिक सचेतनालाई आत्मग्रहण गर्नु अनिवार्य छ ।’ अन्य वा अन्यान्यलाई कुन किसिमको दृष्टिले नियाल्ने तथा वस्तुगत सम्मान दिने त्यससम्बन्धी समयसापेक्ष चिन्तन सम्बद्धमा फुर्नु आवश्यक छ । आफू सत्ता र समाजार्थिक दृष्टिले उठेपछि अरूप्रति पृथक् व्यवहार (आइसोलेटेड बिहेबियर) गर्ने थुप्रै मान्छेको कमी छैन जनजीवनमा । ‘कसैको वेदान्त, अन्यको प्राणान्त’ भनेझै कर्ण कटु सम्भाषण दिँदै हिँड्ने असङ्ख्य व्यक्तिको कमी छैन यहाँ । प्रविधिगत रूपमा मानवीय समाज अर्कै चरणमा पुगेको यथार्थ हो । जसले गर्दा कतिपयमा व्यस्तता र अत्यधिक स्वार्थी तामसी प्रवृत्तिको दिन प्रतिदिन वृद्धि भएको देखिन्छ । अरूले जेसुकै रूपमा अथ्र्याओस् वर्गीय समाज र बौद्धिक परिवेश यथार्थतः नितान्त बदलिएको परिस्थिति छ स्वदेशमा ।
हामी र हाम्रो परिवेशमा सामाजिक र भाषिक क्षेत्रमा देखिने र भेटिने कतिपय अभिनन्दनीय राष्ट्रमान्य र विश्वमान्य प्रतिभालाई संस्थापन (?) ले समयमै ठम्याएर समुचित एवं उत्कृष्ट ढङ्गको सम्मान प्रदान गर्नु अत्यावश्यक रहेको मैले पाएँ । यस सन्दर्भमा संस्थापन र त्यस वरिपरि रहेका व्यक्तित्व कठोर एवं कृपण नबन्नु जरुरी देखिन्छ ।