• १३ असोज २०८१, आइतबार

फूलको लगानी उठाउन टिकटकको सहारा

blog

सयपत्री फूल बिक्री नहुँदा आम्दानी उठाउन वैकल्पिक उपाय अपनाउँदै व्यवसायी । तस्बिर : लीलाधर वली

लीलाधर वली
घोराही, मङ्सिर २ गते ।
दाङमा उत्पादन भएको सयपत्री फूल बिक्री नहुँदा व्यवसायीहरुले आम्दानीका लागि वैकल्पिक उपाय अपनाएका छन् ।

कृषि फर्मभरि सयपत्री फूलले ढकमक्क ढाके पनि बिक्री नहुँदा घोराही उपमहानगरपालिका–१५ भरतपुरस्थित १०८ कृषि फर्मका सञ्चालकले फर्मभित्रै फूलैफूलका मालाहरुले सजाएर फोटो तथा भिडियो बनाउनका लागि पार्क निर्माण गरेका हुन् ।


जसले गर्दा पछिल्लो समय फर्ममा फोटो र भिडियो खिच्ने मानिसहरुको भीड बढ्न थालेको छ । फर्ममा भिडियो र फोटो खिच्नेहरुको भीड बढ्न थालेपछि व्यवसायीहरुले थोरै भए पनि आम्दानी गर्न थालेका छन् ।

तिहारलाई लक्षित गरेर रोपिएका सयपत्रीका बिरुवाहरु दशैंको समयमा परेका वर्षाका कारण ढिलाे फुलेपछि व्यवसायीलाई सयपत्री फूल बिक्री गर्न समस्या भएपछि वैकल्पिक उपाय अपनाएर आम्दानी लिन थालेका छन् ।


फूलहरु बिक्री नहुने र कोल्ड स्टोरमा राख्दा खर्च बढी हुने भएपछि कृषि फर्ममै फोटोदेखि भिडियो खिच्नका लागि फूलैफूलका मालाले सजाएर आकर्षक टिकटक स्पट र पार्क बनाएपछि पछिल्लो पटक घोराही बजारमा विद्यार्थी र युवायुवतीहरु फोटो तथा भिडियो बनाउनका लागि आउने गरेको १०८ कृषि फर्मका सञ्चालक भाष्कर पंगेनीले बताउनुभयो ।

फूलैफूलले सजिएको पार्क अवलोकनसँगै फोटो तथा भिडियो खिच्नका लागि आकर्षक देखिने हुँदा मानिसहरुको चलहपहल बढेको सञ्चालक पंगेनी बताउनुहुन्छ ।


‘‘तिहारलाई लक्षित गरी सयपत्री रोपेका थियौं । तर दशैंमा परेको पानीका कारण फूल फूल्न केही समय ढिलाे भयो,’’ सञ्चालक पंगेनीले भन्नुभयो, ‘‘जसले गर्दा अहिले बिक्रीका लागि समस्या भएपछि  विकल्प अपनाएर फूलकाे व्यवस्थापनमा लागेका छौं ।’’

माग भए अनुसार जिल्लासँगै बाहिर पनि पठाउने काम गरिरहेको उहाँले बताउनुभयो । तर बिक्री नभएका फूललाई सजाएर आकर्षक पार्क बनाएपछि पछिल्लो समय केही भए पनि आम्दानीको बाटो बनेको उहाँ बताउनुहुन्छ ।

‘‘वैकल्पिक व्यवस्था गरेर भए पनि लगानी उठाउने प्रयास गरिरहेका छौं । थोरै भए पनि आम्दानी भइरहेको छ,’’ सञ्चालक पंगेनीले भन्नुभयो, ‘‘चाडपर्व भएको भए राम्रो आम्दानी हुने थियो तर अहिले हुन सकेको छैन ।’’



तिहारमा दश लाखभन्दा बढीको फूल बिक्री भएको उहाँको भनाइ छ । जिल्लामा फूलको माग घटेसँगै मूल्य पनि घटेको छ । अहिले एउटा मालालाई ५० देखि ६० रूपियाँसम्ममा बिक्री गर्ने गरेको अर्का व्यवसायी लोकेन्द्र रोका मगरले बताउनुभयो ।

‘‘मौसममा एक सय रूपियाँभन्दा बढी मूल्यमा माला बिक्री हुने गरेको थियो तर अहिले बिक्री छैन ।,’’ उहाँले भन्नुभयो । फूलहरु खेर जान दिनुभन्दा सस्तोमा बिक्री गर्ने गरेको उहाँ बताउनुहुन्छ ।

डेढ बिघा जग्गा भाडामा लिएर फूलखेती गर्दै आउनुभका व्यवसायी रोकाले मङ्सिर लागेसँगै विवाहलगायत अन्य औपचारिक कार्यक्रमहरु बढ्ने भएकाले फूलको खपत बढ्ने अपेक्षा गर्नुभएको छ ।


घोराही उपमहानगरपालिका–१४ झिँगौरामा व्यावसायिक फूलखेती गर्दै आउनुभएका रोका मगरले पनि टिकटक बनाउने स्पट र फूलको पार्क निर्माण गरेर थोरै भए पनि आम्दानी गर्दै आएको बताउनुभएको छ ।

‘‘खेर जान थालेको फूललाई सदुपयोग गर्नका लागि यस प्रकारको कार्य गरिएको हो,’’ व्यवसायी मगरले भन्नुभयो, ‘‘सहज रूपमा फूल बिक्री भएको भए यस प्रकारको काम गर्नुपर्ने थिएन ।’’ रोकाले करिब एक बिघाभन्दा बढी जमिनमा फूलखेती गर्नुभएको छ ।