अमृतप्रसाद पौडेल / साधन घर्ती
म्याग्दी, मङ्सिर १ गते । हिमाली जिल्ला म्याग्दीमा निर्वाचन पूर्वको आवश्यक तयारी पूरा भएको छ। चुनावका लागि १२० वटा मतदान केन्द्रहरूमा मतदान अधिकृतसहित सुरक्षाकर्मी टोलीहरू प्रस्थानको तयारीमा छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनअन्तर्गत मतदान केन्द्रलाई समावेशी बनाउन आठवटा मतदान केन्द्रमा महिलालाई मतदान अधिकृतको जिम्मेवारी तोकिएको छ। जिल्लाको दुर्गम मतदानस्थलमा खटिएको टोली गन्तव्यस्थलतर्फ हिँडिसकेका छन् भने अन्य टोली बुधबारदेखि खटिने जनाइएको छ। धौलागिरि गाउँपालिकाको गुर्जा र मुदी बगर मतदान केन्द्रमा मतदान अधिकृतसहितको टोली बुधबार नै त्यसतर्फ प्रस्थान गरेको छ।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी चित्रनाथ शर्माले मतपत्रबाहेकका अन्य सामग्रीहरू आधाभन्दा धेरैले बुझिसकेको जानकारी दिनुभयो। टाढाका मतदान केन्द्रकाले सामान बुझिसक्नुभएको छ। मतदान स्थलको भौगोलिक अवस्थाअनुसार अपाङ्गमैत्री बनाउन मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्देशन दिएको छ।
म्याग्दी जिल्लामा ८२ स्थानमा ११९ मतदान केन्द्र र जिल्ला कारागारमा एउटा अस्थायी मतदान केन्द्र कायम गरिएको छ। निर्वाचन सम्पन्न गराउन सुरक्षा जनशक्ति र स्वयंसेवकबाहेक मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी गरी ९५२ जना कर्मचारी परिचालन गरिएको जानकारी शर्माले दिनुभयो।
निर्वाचन सुरक्षा संवेदनशीलता तथा अन्य अवस्था अवलोकनका लागि यस जिल्लाका छवटै स्थानीय तहका अधिकांश मतदान स्थलको निरीक्षण गरिएको उहाँको भनाइ छ।
एउटा प्रतिनिधि सभा क्षेत्र रहेको म्याग्दीमा दुईवटा प्रदेश निर्वाचन क्षेत्र छन्। विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ जना उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन्। महिला ४४ हजार ६४, पुरुष ४२ हजार ५५ र अन्य गरी कुल ८६ हजार १२० जना मतदाता छन्।
प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले चुनावी सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र म्यादी प्रहरी परिचालन गरिएको बताउनुभयो। प्रत्येक मतदान स्थलमा १० मिनेटभित्र पुग्ने गरी सशस्त्र प्रहरी बलको टोली तैनाथ गरिएको छ।
यस जिल्लाभित्रका ८२ वटै मतदान स्थल अधिकतम १५ मिनेटभित्रै पुग्नेगरी सेनाको टोली परिचालन गरिएको छ। त्यस्तै ४३३ प्रहरी र ७३३ म्यादी प्रहरी चुनावी सुरक्षामा खटिएका छन्।
निर्वाचनलाई धाँधलीरहित, भरपर्दो र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षा रणनीतिका साथ सुरक्षा टोलीको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी रानाको भनाइ छ।
सुरक्षा निकायबाट मतदानस्थल तथा केन्द्रको अवस्था बुझ्ने, सूचना सङ्कलन गर्ने र स्थलगत निरीक्षण गरी चुनावी सुरक्षा चुनौती र जटिलताका बारेमा जानकारी लिने काम भइरहेको उहाँले बताउनुभयो।
गृह मन्त्रालयको निर्देशनअनुसार निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन एकीकृत तथा छुट्टाछुट्टै रणनीतिक सुरक्षा योजना निर्माण गरी संयन्त्र परिचालन सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले बताउनुभयो।
उहाँले निर्वाचन विशेष सुरक्षा कार्ययोजना बनाएर निर्वाचन हुनुभन्दा पूर्व, मतदानको बेला र मतदान सम्पन्न भएपछिको प्रक्रिया तथा मतगणना समयमा सुरक्षा व्यवस्थालाई भरपर्दो बनाएको बताउनुभयो। बागलुङ समाचारदाताका अनुसार प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन सम्पन्न गर्नका लागि बागलुङमा मतदान अधिकृतसहितको कर्मचारी तथा सुरक्षाकर्मीको टोली मतदान स्थलतर्फ जान सुरु गरेका छन्।
निर्वाचनका लागि आवश्यक सामग्री र बन्दोबस्तीका सामग्री बोकेर कर्मचारीहरू मतदानस्थलमा जान थालेका हुन्। भौगोलिक दूरीले टाढा रहेका अधिकांश मतदानस्थलका कर्मचारीले निर्वाचन सामग्री बुझेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत सूर्यबहादुर भण्डारीले जानकारी दिनुभयो।
उक्त सामग्री बुझेका अधिकांश कर्मचारी तोकिएको मतदानस्थलतर्फ लागेको र केही कर्मचारी बिहीबार साँझसम्म मतदानस्थल पुग्ने जनाइएको छ।
बागलुङमा निर्वाचनका लागि २३१ जना मतदान अधिकृत, २३५ जना सहायक मतदान अधिकृत, एक हजार १५५ जना सहायकस्तरका कर्मचारी, २३३ जना सहयोगी कर्मचारी र ९२६ जना स्वयंसेवक गरी दुई हजार ७९० कर्मचारी परिचालन भएका छन्।
मतदानस्थल पुगेका कर्मचारीले बिहीबार सूचना प्रकाशन गर्ने, मतदान स्थलको तयारी गर्न सर्वदलीय बैठक राख्नेलगायतका काम थाल्ने भण्डारीले बताउनुभयो। सदरमुकामबाट नजिकै रहेका मतदानस्थल जाने कर्मचारीले भने बिहीबार मात्रै निर्वाचन सामग्री बुझ्नेछन्।
निर्वाचनका लागि खटिएका सुरक्षाकर्मी र कर्मचारी मतदान स्थलतर्फ लागेपछि चुनावी रौनक झनै बढेको छ। गाउँ–गाउँमा कर्मचारी र सुरक्षाकर्मी पुगेपछि निर्वाचन हुनेमा मतदाता ढुक्क छन्।
निर्वाचनका लागि आवश्यक सबै तयारी पूरा भएकाले मतदानस्थल केन्द्रित तयारी सुरु भएको जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले बताउनुभयो। जिल्लाभर १०६ मतदान केन्द्र र २३१ मतदानस्थल छन्।