• १३ असोज २०८१, आइतबार

स्वतन्त्र र साना दल नै ठूलालाई चुनौती

blog

दिवाकर पोख्रेल

देउखुरी, मङ्सिर १ गते । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि स्वतन्त्र र साना दल, ठूला दलका लागि चुनौती बनिरहेका छन्। दाङ क्षेत्र नं. १ मा नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र हाम्रो नागरिक पार्टीको सशक्त उपस्थितिले ठूला दललाई चुनौती थपिँदै गएको छ। दाङको तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको सशक्त उपस्थिति हुँदा क्षेत्र नं. १ मा नागरिक उन्मुक्ति पार्टीको प्रचारप्रसार झनै पृथक् र आकर्षक बन्दै गइरहेको छ। नागरिक उन्मुक्ति पार्टीले दाङ क्षेत्र नं. १ को लमहीमा ¥यालीमार्फत शक्ति प्रदर्शन गरेको छ।

नागरिक उन्मुक्ति पार्टीले थारू समुदायको भावना समात्न खोज्न खोजेको देखिन्छ। सुरेन्द्र चौधरी उक्त पार्टीको तर्फबाट क्षेत्र नं. १ मा प्रतिनिधि सभाको लागि उम्मेदवार हुनुहुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीले युवा वर्गको भावना समात्न खाजेको पाइन्छ।

यस पार्टीबाट दाङ क्षेत्र नं. १ मा शिक्षक पेसाबाट अवकाश लिनुभएका देवराज पाठक उम्मेदवार हुनुहुन्छ। यस्तै नेकपा (एमाले) पार्टी परित्याग गरी हाम्रो नेपाली पार्टीबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नुभएकी गङ्गा थारूले पनि ठूला दलबाट असन्तुष्टहरूको मत तान्ने आकलन गरिएको छ।

यस्तै दाङ क्षेत्र नं. १ मा वाम लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभाका लागि उम्मेदवार मेटमणि चौधरीको दल नेकपा (एकीकृत समाजवादी) पार्टी स्थानीय तह निर्वाचनको मतका आधारमा कमजोर रहेको देखिन्छ। उहाँको विजयी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको मतमा निर्भर छ। आफ्नो उम्मेदवार नभएका कारण कांग्रेस र माओवादीले गठबन्धनको नाताले मत दिए मात्र उहाँले जित्ने सम्भावना छ। 

नेकपा (एमाले)का तर्फबाट प्रतिनिधि सभा उम्मेदवार शान्ता चौधरीलाई हाम्रो नेपाली पार्टीका तर्फबाट उम्मेदवार रहनुभएकी गङ्गा थारूले मत काट्ने डर छ। दाङको क्षेत्र नं. २ र ३ मा नागरिक उन्मुक्ति पार्टीको प्रभाव नदेखिए पनि राष्ट्रिय स्वतन्त्र पार्टीको प्रभाव राम्रो देखिएको छ।

क्षेत्र नं. २ मा इन्जिनियर विशाल अधिकारी प्रतिनिधि सभामा उम्मेदवार बन्दा क्षेत्र नं. ३ मा कमल सुवेदीले प्रचारप्रसारलाई तीव्र पार्नुभएको छ। एमालेका महासचिव शङ्कर पोखरेल र माओवादी केन्द्रकी नेत्री रेखा शर्मासँगै राष्ट्रिय स्वतन्त्र पार्टी पनि प्रतिस्पर्धामा देखिन्छ।

दाङ क्षेत्र नं. ३ गठबन्धनबाट पूर्वमन्त्री दीपक गिरी र चर्चित गायिका एवं एमाले नेत्री कोमल ओलीबीच पनि प्रतिस्पर्धा देखिएको छ। उहाँहरूसँगै स्वतन्त्र पार्टीबाट कमल सुवेदी चुनावी दौडमा हुनुहुन्छ। प्रदेश सभातर्फ साना दल र स्वतन्त्र उम्मेदवारको दबदबा बढी देखिन्छ।