• १३ असोज २०८१, आइतबार

विकासले नछोएको 'कालमुढा'

blog

कालमुढामा रहेको जनजाति समुदायको बस्ती । तस्बिर: रमेश विश्वकर्मा

गुल्मी, मङ्सिर १ गते । गुल्मीको इस्मा गाउँपालिका–४ मा अवस्थित कालमुढा भूगोलले विकट गाउँ हो । अग्लो डाँडाको काखमा लहरै ३० घरपरिवार भन्दा बढी जनजाति समुदायको बस्ती छ । 

यो गाउँमा नत स्वास्थ्य चौकी छ नत विद्यालय नै ?  मोटर बाटो त परकै कुरा भयो । यहाँका बालबालिका दुई घण्टा हिँडेर विद्यालय पुग्ने गर्छन् । स्थानीय रुद्र पल्लीले विगतदेखि पार्टीका उम्मेदवारले आश्वासन दिएर निर्वाचन जितेर गए पनि कहिले पुरा गर्न नसकेको बताउनुहुन्छ । “उम्मेदवारहरूले विगतदेखि नै हामीलाई विकास गर्छौँ भनेर हाम्रो भोट लिएर गए । तर हाम्रो समस्या उस्तै छ । हाम्रो वस्तिको मुहार फेरिन सकेको छैन ।” उहाँले भन्नुभयो, –“आश्वासन मात्र बाँडिरहे, कहिल्यै पुरा गर्न सकेनन् । बाटो नहुँदा हामीलाई आवत–जावतमा निकै समस्या भएको छ ।” 

कालमुढा देखि पौंदी जोड्ने बाटो सहज नहुँदा आफूहरूलाई आवत–जावतमा निकै समस्या भएको पल्लीले बताउनुभयो । “हामी निकै पीडित छौँ, जति बेला पनि निर्वाचनको समयमा यहाँको विकास गर्छौैं भनेर आश्वासन पायौँ, तर पुरा गर्न सकेनन् ।” उहाँले भन्नुभयो,–“उनीहरूका झुटा आश्वासन सुन्दा–सुन्दा दिक्क भएका छौँ ।” 

अर्का स्थानीय महेन्द्र थापाले बाटो, विद्युत्, विद्यालय, खानेपानीको समस्या भएको बताउनुभयो । स्वास्थ्य चौकीको पहुँच नहुँदा सामान्य चेकजाँचका लागि पनि सदरमुकाम आउनुपर्ने बाध्यता सुनाउनुभयो । चुनावको समयमा मात्र भोट माग्न आउने अरू बेला जनताको घरमा फर्केर नहेर्ने उम्मेदवारले निर्वाचन जित्दा आफूहरूको दैनिकी नफेरिएको पल्लीको भनाई छ । 

पल्लीले भन्नुभयो,–“यहाँको विकासको लागि कसैले पनि केही गर्न नसक्दा हामी धेरै पछाडि परेका छौँ । विद्यार्थीहरू झन्डै दुई घण्टा हिँडेर छिमेकी पालिका मुसिकोट नगरपालिकाको सूर्योदय मावि पौंदिमा जान बाध्य छन् । इस्माकै हुलमा रहेको विद्यालयमा जान पनि डेढ- दुई घण्टा लाग्छ ।” कृषिमा आश्रित आफूहरू रोजगारीको अभावमा जीविकोपार्जन गर्न समेत समस्या भएको पल्ली बताउनुहुन्छ । 

सोही स्थानका भूपाल बहादुर पल्लीले आफूहरूलाई बाटो र पुलको आवश्यकता परेको बताउनुभयो । पल्लीले भन्नुभयो,–“त्यहाँबाट तारघाट हुँदै पौंदीअमराई जानका लागि पुलको अत्यन्तै आवश्यकता छ । बिरामी हुँदा स्वास्थ्य चौकी जान पनि समस्या भएको छ ।” 

स्थानीयले तारघाटको पुल निर्माण गरी पौदीसम्मको मोटर बाटो जोड्न र यस बस्तीबाट इस्मा मैदानसम्म पनि मोटर बाटो जोड्न त्यहाँ पुग्नुभएका नेपाली काँग्रेस गुल्मी सभापति खिलध्वज पन्थीसँग अनुरोध गरेका छन् । स्थानीयहरूको मागलाई सम्बोधन गर्दै काँग्रेस सभापति पन्थीले भौगोलिक रूपले पनि विकट यस बस्तीलाई विकाससँग जोड्ने बताउनुभयो । त्यहाँ रहेका समस्याहरूलाई समाधान हुने गरी स्थानीय पालिका, प्रदेश र सङ्घको समन्वयमा विकासका योजना सञ्चालन गरी सुगम बनाउने बताउनुभयो । 

Author

रमेश विश्वकर्मा