• १३ असोज २०८१, आइतबार

आयोगको टोली अनुगमन गर्न कपिलवस्तुमा

blog

जिल्ला प्रशासन कार्यालय कपिलबस्तुमा गरिएको छलफलपछि लिएको समुहिक फोटो । तस्विरः नारद कोहार

नारद कोहार

तौलिहवा, कात्तिक ३० गते । संवैधानिक आयोगको टोली चुनावको अनुगमन गर्न कपिलवस्तु आइपुगेको छ । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको नेतृत्वमा टोली बुधबार कपिलवस्तु पुगेको हो । 

टोलीले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहित जिल्लाका सुरक्षा अधिकारीहरूसँग छलफल गरेको छ । अन्सारीले निर्वाचनको तयारी, शान्ति सुरक्षाको अवस्था लगायतका विषयमा छलफल गरिएको बताउनुभयो । 

मङ्सिर ४ को प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रले बताउनुभयो । निर्वाचनलाई लक्षित गरी निर्वाचन विशेष सुरक्षा रणनीति तयार गरी अघिबढेको उहाँले बताउनुभयो । 

‘सुरक्षाकर्मीलाई निर्वाचनका लागि सम्बन्धित स्थानमा परिचालन गरिसकेका छौ’ उहाँले भन्नुभयो । निर्वाचनमा म्यादी, नेपाल सशस्त्र प्रहरी, नेपाली सेना तथा राष्ट्रिय अनुसन्धानका कर्मचारी खटिने छन् ।

निर्वाचनको दिन ४४ भन्दा बढी सुरक्षा मोबाइल गस्ती परिचालन हुने मिश्रले बताउनुभयो । यस्तै सहायक प्रजिअ अनिल पौडेलको नेतृत्वमा सुरक्षा अनुगमन टोली समेत परिचालन गरिने बताइएको छ ।  

जिल्लामा कायम गरिएको २ सय ३५ मतदान स्थल र ४ सय ७३ वटै मतदान केन्द्रलाई नेपाली सेनाको प्राविधिक टोलीको सहयोगमा गुगल म्यापमा राखिएको छ । प्रजिअ मिश्रले भन्नुभयो ‘हरेक मतदान केन्द्रमा १० मिनेटमै सुरक्षाकर्मीको टोली पुग्ने गरी प्रबन्ध मिलाइएको छ ।’ 

अनुगमनमा अन्सारीसहित राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मनोज दुवाडी र थारु आयोगका सदस्य उमाशंकरप्रसाद चौधरी लगायतको सहभागिता छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक सूर्यबहादुर सेन वली र राष्ट्रिय अनुसन्धानका प्रमुख मोहन कुँवरको पनि सहभागिता रहेको छ ।