• १३ साउन २०८१, आइतबार

गठबन्धन उम्मेदवारलाई जिताउन आग्रह

blog

अविनाश चौधरी

धनगढी, कात्तिक ३० गते । नेपाली कांग्रेसका नेता एवम् कैलालीको क्षेत्र नं. ५ (ख) बाट प्रदेश सभा सदस्यका उम्मेदवार प्रकाश देउवाले मङ्सिर ४ गतेको निर्वाचनमा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभएको छ । 

धनगढीमा बुधबार भएको युवा भेलालाई सम्बोधन गर्दै उहाँले २०७४ को निर्वाचनमा भएका गल्तीलाई सुधार गरेर सङ्घ र प्रदेश सबैतर्फ गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभएको हो । 

गठबन्धनका उम्मेदवार कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनमोर्चा र लोकतान्त्रिक समाजवादीको साझा उम्मेदवार रहेकाले जित्ने लगभग निश्चित रहेको उहाँको भनाइ छ । ‘जित्ने उम्मेदवारलाई नै भोट हाल्न सबैलाई म आग्रह गर्छु ।’ 

नेता देउवाले मङ्सिर ४ पछि सङ्घ र प्रदेश सबै ठाउँमा गठबन्धनकै सरकार बन्ने बताउनुभयो । क्षेत्र नं. ५ मा सबैभन्दा बलियो सङ्गठन रहेको पार्टी कांग्रेस रहेको भन्दै थप्नुभयो, ‘जसको सङ्गठन बलियो छ, चुनाव उसैले जित्ने हो । हामीसँग अहिले गठबन्धन पनि छ ।’ 

स्वतन्त्र उम्मेदवारहरु जितेर केही काम गर्न नसक्ने उहाँको भनाइ छ । ‘उहाँ (स्वतन्त्र उम्मेदवार) कांग्रेसबाटै विभिन्न समय चुनाव जितेर विभिन्न पदमा पुग्नुभयो’ देउवाले भन्नुभयो, ‘अहिले टिकट नपाएपछि स्वतन्त्र उठेकाहरु जिते पनि केही काम गर्न सक्नुहुन्न ।’ 

क्षेत्र नं. ५ मा गठबन्धनतर्फबाट प्रतिनिधि सभा सदस्यतर्फ डिल्लीराज पन्त र प्रदेश सभा सदस्यतर्फ (क) मा माओवादी केन्द्रका रमेश धामी र (ख) मा प्रकाश देउवा उम्मेदवार रहनुभएको छ । उहाँहरुको प्रतिस्पर्धा नेकपा (एमाले) का उपम्मेदवारसँग रहने आँकलन मतदाताहरुले गर्नुभएको छ ।