• १३ असोज २०८१, आइतबार

कर्मचारीलाई मतदान केन्द्रमा पुग्ने चटारो

blog

दाङको निर्वाचन क्षेत्र नम्बर १ लमहीमा निर्वाचन अधिकृतको कार्यालयमा पुगेका कर्मचारी।तस्बिर : दिवाकर पोख्रेल

दिवाकर पोख्रेल

देउखुरी, कार्तिक ३० गते। मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न गराउनका लागि कर्मचारी खटनपटनको चटारोमा छन्। निर्वाचन अधिकृतको कार्यालयबाट मतदानस्थल टाढा रहेका क्षेत्रमा मङ्गलबारबाटै निर्वाचन सामग्रीसहित कर्मचारी मतदान केन्द्रतर्फ लागेका छन्।दाङको विकट क्षेत्रमा रहेका मतदानस्थलमा पनि कर्मचारी खटनपटनको काम भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

विशेष गरेर दाङको पहाडी क्षेत्र बंगालाचुली क्षेत्र, बबई गाउँपालिका विकट क्षेत्र मानिन्छ।उक्त क्षेत्रमा रहेका मतदानस्थलमा जाने कर्मचारी नियुक्तिपत्र बुझ्नका लागि निर्वाचन अधिकृतको कार्यालयमा पुग्दा भीडभाड भएको हो।

यस्तै दाङको निर्वाचन क्षेत्र नम्बर १ मा खट्ने कर्मचारी पनि निर्वाचन अधिकृतको कार्यालयमा जम्मा भएका छन्।दाङ जिल्लाभर एक सय ५३ मतदानस्थलमा दुई वटा अस्थायी मतदान केन्द्रसहित जम्मा चार सय ६५ मतदान केन्द्र छन्।जिल्लाभर तीन हजार सात सय ३० कर्मचारी परिचालन हुने जिल्ला निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुवँरले जानकारी दिनुभयो।

दाङको क्षेत्र नम्बर १ मा सुरक्षाकर्मी र स्वयंसेवक कर्मचारीबाहेक एक हजार दुई सय सोह्र कर्मचारी निर्वाचनका लागि खट्नेछन्।दाङको क्षेत्र नम्बर १ मा ५१ मतदानस्थलका एक सय ५२ मतदान केन्द्रमा खट्ने सबै कर्मचारीलाई निर्वाचन सामग्री दिएर काममा पठाइएको हो।