• १३ असोज २०८१, आइतबार

निर्वाचनविरोधी समूहमाथि प्रहरीको कडा निगरानी

blog

काठमाडौँ, कात्तिक २९ गते । आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन बहिष्कार गरेका समूहमाथि प्रहरीले कडा निगरानी थालेको छ ।

प्रहरीले देशका विभिन्न स्थानबाट निर्वाचन बिथोल्ने गरी हिंसात्मक गतिविधि गर्ने तयारीमा रहेका विभिन्न समूहका ११५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रण लिएकामध्ये ११ जनाविरुद्ध मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईका अनुसार निर्वाचन बहिष्कार गर्ने समूहमाथि निगरानी बढाउने क्रममा ११ जनाको साथमा विस्फोटक पदार्थ (बारुद) फेला परेको जानकारी दिनुभयो । तीमध्ये सात जना तनहुँबाट तथा चार जना बागमती प्रदेशअन्तर्गतका विभिन्न जिल्लामा पक्राउ परेका हुन् । पक्राउ परेकामध्ये १०४ जनालाई हाजिरी जमानतमा रिहा गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन विभिन्न ३१ वटा समूहले बहिष्कार गर्ने घोषणा गरेका छन् । बहिष्कार गरेका समूहले शान्तिपूर्ण गतिविधि गर्ने घोषणा गरे पनि शान्ति सुरक्षामा असर पर्ने गरी गतिविधि सञ्चालन गरेको शङ्कामा ती समूहसँग आबद्ध व्यक्तिमाथि प्रहरीले कडा निगरानी सुरु गरेको हो । निर्वाचनबारे भ्रम फैलाउने र शान्ति सुरक्षामा असर पर्ने गरी कुनै गतिविधि गरे तत्काल नियन्त्रण गर्ने गरी पूर्वतयारीमा रहन प्रहरी प्रधान कार्यालयले देशभरका प्रहरी युनिटलाई परिपत्रसमेत जारी गरेको छ । देशभरका २२ हजार ५३४ मतदान केन्द्रको सुरक्षाका चारवटै सुरक्षा निकायबाट झन्डै तीन लाख सुरक्षाकर्मी परिचालन गरिनेछ ।

निर्वाचनमा सुरक्षाको दृष्टिले मतदान स्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन किसिममा वर्गीकरण गरिएको छ । देशभरका तीन हजार ३२२ मतदान स्थल अति संवेदनशील, तीन हजार ९८८ संवेदनशील तथा तीन हजार ३६१ मतदान स्थल सुरक्षाको दृष्टिले सामान्य रूपमा वर्गीकरण गरिएको छ ।

प्रहरी प्रवक्ता राईले निर्वाचन सुरक्षा बलियो बनाउन एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाल प्रहरी मदतान स्थलको सुरक्षा व्यवस्थापनमा खटिएको बताउनुभयो । निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन प्रहरी प्रधान कार्यालयले उपत्यकाका विभिन्न विभागमा कार्यरत लगायत सञ्चित जनशक्तिलाई विभिन्न जिल्लामा खटाइएको छ । जिल्ला प्रहरी प्रमुख मातहत रहने गरी प्रहरी मुख्यालयले सिपाहीदेखि प्रहरी नायब उपरीक्षक (डीएसपी)सम्मलाई निर्वाचन सुरक्षाका लागि केन्द्रबाट परिचालन गरेको छ । निर्वाचन सुरक्षाको विश्लेषणसँगै तयारीका लागि प्रहरी प्रधान कार्यालयले सातवटै प्रदेश तहमा सुरक्षा गोष्ठीसमेत सम्पन्न गरिसकेको छ ।