• १३ असोज २०८१, आइतबार

बुङ्मतीको विकासमा जुटे स्थानीय

blog

शिवा तामाङ

बुङ्मती (ललितपुर), कात्तिक २९ गते । बुङ्मतीको विकास, सम्पदाको प्रचार प्रसार तथा व्यवस्थापन गर्न स्थानीय जुटेका छन्। उपत्यकावरपरका ऐतिहासिक ५२ वटा बस्तीमध्येको बुङ्मतीको सांस्कृतिक, धार्मिक महत्त्वका मूर्त/अमूर्त सम्पदाको संरक्षणमा यहाँका स्थानीय जुटेका हुन्। 

काठमाडौँबाट छोटो दूरीमा रहेको बुङ्मती रातो मच्छिन्द्रनाथको मन्दिरका कारण प्रख्यात छ। ललितपुर महानगरपालिका–२२ स्थित यस क्षेत्रका गल्ली, चोक र टोल ऐतिहासिक मौलिक विविध सम्पदाले भरिपूर्ण छन्। यहाँ हरेक घरपरिवार आयआर्जनका लागि विभिन्न हस्तकलाका सामग्री निर्माण गरेको दृश्य देख्न पाइन्छ। 

युरोपेली सङ्घको  यस परियोजनाले स्थानीय छ सय जनालाई विभिन्न तालिमका लागि छनोट गरी प्राथमिक तालिम प्रदान गरेको बताइएको छ। त्यसमध्ये ४५० जना र अन्तिममा ६० जनालाई उद्यमी बनाउने लक्ष्यले सम्बन्धित क्षेत्रको थप तालिमसहित करिब एक लाख रूपियाँसम्मको बीउ पुँजी दिएको यूएन ह्याबिट्याटले जनाएको छ। 

स्थानीय बासिन्दा एवं आर्किटेक्चर अनिल तुलाधरले सन् २०१५ को भूकम्पले बुङ्मतीको ऐतिहासिक महत्त्वका मूर्त सम्पदामा क्षति पु-याए पनि स्थानीयलाई यसको प्रवद्र्धनमा लाग्न प्रेरित गरेको बताउनुभयो। उहाँले बुङ्मतीको बसपार्कनजिकको पाटी (फल्चा)छेउमा रहेको शिलालेखबाट यो बस्ती अंशु बर्माको शासनकालमै बसाइएको पुष्टि हुने उल्लेख गर्नुभयो। 

काठमाडौँ र भक्तपुरलगायतका क्षेत्रमा हरेक १२ वर्षमा लाग्ने मेला, जात्राअघि सम्बन्धित क्षेत्रका देवगणले  बुङ्मती पुगेर नृत्य गरी जात्रा सुरु गर्ने परम्परा रहेको उहाँले जानकारी दिनुभयो। उक्त क्षेत्रमा रातो मच्छिन्द्रनाथको मन्दिर, मनकामना मन्दिर, प्रथमपुर विहार, नमोबुद्ध चैत्यसहित ४५ वटा बहाःबहीसमेत रहेका छन्। 

काठ र इँटाका बुट्टा दुरुस्त बनाउनुपर्ने र आर्थिक भार निकै पर्ने भएकाले हालसम्म त्यस क्षेत्रको ४० प्रतिशत मात्र पुनर्निर्माण भएको छ। यूएन ह्याबिट्याटका वरिष्ठ कार्यक्रम अधिकृत प्रवीण बज्राचार्यले मूर्त/अमूर्त सम्पदाले भरिपूर्ण  बुङ्मतीको वैभवलाई संरक्षण, प्रवद्र्धन तथा स्थानीयलाई आफ्नै सीपको उपयोग गरी आयआर्जनका लागि पर्या सम्पदाले सानो प्रयास मात्र गरेको बताउनुभयो। 

यस परियोजनाअन्तर्गत आर्थिक र प्राविधिक सहयोगले  बुङ्मतीका पानीका पुराना स्रोत तथा पोखरीको सफाइ, पाटी फल्चा, बुङ्मती बहुद्देश्यीय भवन परम्परागत शैलीमा निर्माण भएका छन्। काष्ठकलाका प्रशिक्षक कलाकार सुजेन्द्र तुलाधरले बहुद्देश्यीय भवनमा धातु, काठका मूर्ति तथा चित्रकलाको एकै स्थानमा प्रशिक्षण चलिरहेको बताउनुभयो। 

स्थानीय विद्या तुलाधरले सो परियोजनाअन्तर्गत घरमा परम्परागत रूपमा बनाइने नेवारी परिकार बनाउने तालिममा सहभागी भएपछि आफूले पासा पुच खाजाघर सञ्चालन गर्ने हिम्मत आएको बताउनुभयो। बुङ्मती घुमेर नेवारी परिकार चाख्दै बास बस्न परम्परागत घरमा स्थानीय महिला समूहले होमस्टे पनि सञ्चालन गरेका छन्।