• १३ साउन २०८१, आइतबार

निर्वाचनका लागि ७२ घण्टा सीमा सिल हुने

blog

सीमा समन्वय समितिको बैठकका सहभागीहरु । तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह

जनकपुर, कात्तिक २७ गते । भारतीय सीमासँग जोडिएको मधेश प्रदेशका जिल्लाको सीमा नाका ७२ घण्टा बन्द (सिल) गरिने भएको छ । सुरक्षित, व्यवस्थित एवम् भयरहित वातावरणमा आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ७२ घण्टा नेपाल–भारत सीमानाका बन्द गरिने निर्णय भएको हो ।  

नेपाल–भारत जिल्लास्तरीय सीमा समन्वय समितिको बैठकले नेपाल–भारत सीमानाका बन्द गरिने निर्णय गरेको छ । मधेश प्रदेशका आठ वटै जिल्ला भारतीय सीमासँग जोडिएको छ । भारत बिहार राज्यको मधुवनी जिल्लास्थित जयनगरमा बसेको समितिको बैठकले यस्तो निर्णय गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । 

दुवै देशका सुरक्षा अधिकारीको सहभागिता रहेको सो बैठकमा खुला सीमा नाकाका कारण निर्वाचनका बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले मङ्सिर ४ गते हुने मतदानको ७२ घण्टा अगाडिदेखि सीमा नाका बन्द गर्ने निर्णय भएको प्रजिअ पौडेलले बताउनुभयो । 

बैठकमा दुवै देशको सीमा भएर हुने अपराध, अवैध हातहतियार, चोरी पैठारी, लागूऔषध ओसारपसार लगायत अवैध कारोबार नियन्त्रण गर्ने विषयमा छलफल भएको उहाँले बताउनुभयो । बैठकमा नेपालतर्फको नेतृत्व प्रजिअ पौडेलले र भारततर्फको नेतृत्व मधुवनी जिल्लाका डीएम अरविन्दकुमार बर्माले गर्नुभयो ।  

सो बैठकमा नेपालका तर्फबाट धनुषा, महोत्तरी, सिरहा र सप्तरीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरीका प्रमुख, भन्सार कार्यालयका प्रतिनिधि र भारतको तर्फबाट मधुवनी जिल्लाको मजिस्ट्रेट (डीएम) तथा भन्सार कार्यालयका प्रतिनिधिको सहभागिता  थियो ।

गत बुधबार यस्तै बैठक सर्लाहीको मलङ्गवामा बसेको थियो । सो बैठकमा सर्लाही, महोत्तरी र रौतहट तथा भारतको सीतामढी जिल्लाका पदाधिकारी र सम्बद्ध अधिकारीको सहभागिता रहेको थियो । जिल्लास्तरीय सीमा समन्वय समितिको सो बैठकले पनि मतदानको ७२ घण्टा अघिदेखि सीमा नाका बन्द गर्ने निर्णय गरेको थियो । 

निर्वाचन सुरक्षालाई मध्यनजर गरी मङ्सिर १ गतेदेखि नाका ‘शील’ गर्ने निर्णय भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो । सो बैठकमा पनि सीमा सुरक्षा तथा सीमा अपराध नियन्त्रण, अन्तर्राष्ट्रिय सीमा अतिक्रमण, मानव बेचबिखन, मदिरा तथा लागूऔषध ओसारपसार नियन्त्रण, अवैध मुद्राको कारोबार नियन्त्रण लगायतका विषयमा आपसी सहयोग र समन्वयका साथै निर्वाचनमा सुरक्षा व्यवस्थापनका विषयमा सौहार्दपूर्ण वातावरणमा छलफल भएको प्रमुख जिल्ला अधिकारी गौतमले बताउनभयो । 

मदिरा बिक्रीमा प्रतिबन्ध

मधेश प्रदेशका जिल्ला प्रशासन कार्यालयले मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाएका छन् । प्रदेशका सप्तरी, सिरहा, धनुषालगायतका जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी सम्बद्ध जिल्लाभर मदिरा बिक्री वितरण, सेवन तथा ओसारपसारमा रोक लगाएको छ ।

मङ्सिर ४ गते हुन गइरहेका प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, सुरक्षित तथा भयरहित वातावरणमा सम्पन्न गर्न ऐनमा भएको व्यवस्थाअनुसार सो प्रतिबन्ध लगाइएको सुरक्षा निकायको भनाइ छ ।

निषेधित अवधिमा मादक पदार्थ ओसारपसार, विक्री वितरण र सेवन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।