• १९ असार २०८१, बुधबार

संविधानको रक्षा र मुलुकको विकासका लागि गठबन्धन : मुख्यमन्त्री पाण्डे

blog

धादिङमा आयोजित कार्यक्रममा धारणा राख्नुहुँदै बागमती प्रदेशका मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे । तस्बिर : मुरारी अधिकारी

मुरारी अधिकारी

धादिङ, कात्तिक २७ गते। बागमती प्रदेशका मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले संविधानको रक्षा र मुलुकको विकासका लागि गठबन्धनका उम्मेदवारलाई जिताउनु पर्ने धारणा राख्नु भएको छ। 

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदातासँग भेटघाट गर्ने क्रममा प्रतिपक्षी नेकपा एमालेका अध्यक्षले संविधानमाथि प्रहार गर्दै पटकपटक सार्वभौम संसद् विघटन गरेकाले जनमतको कदर गर्न र संविधानको रक्षा गर्न गठबन्धनका उम्मेदवारलाई जिताउनु पर्ने बताउनुभएको हो। 

निर्वाचनमा धादिङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहनु भएका पाण्डेले सिद्धलेक गाउँपालिकाका मतदातासँग भेटघाट गर्दै लोकतान्त्रिक वाम गठबन्धनको औचित्यलाई निर्वाचनमा प्रमाणित गर्नुपर्ने बताउनुभएको हो। 

पाण्डेले धादिङ जिल्लाको विकासमा आफू ४० वर्षदेखि सक्रिय रहेको बताउँदै निर्वाचनपछि बन्ने साझा सरकारले मुलुकमा तीव्र विकास गर्ने र त्यसमा आफ्नो महत्त्वपूर्ण भूमिका रहने जिकिर गर्नुभएको थियो।

धादिङ क्षेत्र नम्बर १ (ख) का उम्मेदवार एवम् बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मरकट्टेलले पाँच वर्षको अवधिमा त्यस क्षेत्रको विकास निर्माण जनताको जीवनस्तर उकास्न विभिन्न योजना कार्यान्वयन गरेको बताउनुभयो। 

कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रका आफ्नो कार्यकालमा जनताले अनुभूति गर्ने काम भएको उहाँको दाबी छ। आगामी दिनमा पनि जनताको माग र आवश्यकता अनुसार विभिन्न योजना तथा बजेटमार्फत समृद्धिको यात्रामा लागिरहने प्रतिबद्धता उहाँको छ।