• १२ असोज २०८१, शनिबार

नेपालगन्ज

बाँके– ३ मा राठौर र कक्षपतिबीच कडा प्रतिस्पर्धा

blog

बाँके–३ का तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार किशोरसिंह राठौर, किस्मतकुमार कक्षपति । तस्बिर: सिराज खान

नेपालगन्ज, कात्तिक २७ गते । बाँके क्षेत्र नम्बर ३ मा वाम–लोकतान्त्रिक  गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेपाली काँग्रेसका सह महामन्त्री किशोरसिंह राठौर र एमालेका जिल्ला अध्यक्ष किस्मत कक्षपतिबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

राठौर र कक्षपति दुबैजना प्रतिनिधिसभाका लागि सो क्षेत्रमा नयाँ उम्मेदवार हुनुभएकोले पनि प्रतिस्पर्धा रोचक र कडा हुने देखिएको सो क्षेत्रका मतदाताहरू बताउँछन् । सो क्षेत्रमा राठौर गठबन्धनका उम्मेदवार हुनुहुन्छ भने कक्षपति एमाले र राप्रपाका साझा उम्मेदवार हुनुहुन्छ । 

यसअघि बर्दियालाई कार्यक्षेत्र बनाए पनि नेपालगन्जमा घर भएका राठौरले बाँके ३ बाट उम्मेदवारी दिएपछि उहाँलाई कतिपयले टुरिस्ट उम्मेदवारको संज्ञा दिएका छन् । तर गठबन्धनले गत स्थानीय निर्वाचनमा पाएको मतलाई हेर्ने हो भने उहाँ कक्षपति भन्दा अगाडि देखिनुहुन्छ । 

खजुरा गाउँपालिकाका निवर्तमान अध्यक्ष रहनुभएका कक्षपतिले आफूलाई स्थानीय भएको र विगतमा पालिका अध्यक्ष रहँदा यो क्षेत्रका लागि धेरै काम गरेकोले आफ्नो अवस्था बलियो रहेको दाबी गर्नुभएको छ । 

दुवै उम्मेदवारले क्षेत्रको भौतिक पूर्वाधारको विकासलाई आफ्नो मुख्य एजेन्डा बनाउनुभएको छ । काँग्रेस उम्मेदवार राठौरले २०४८ सालदेखि यहाँबाट निर्वाचित हुँदै आएका सांसदले विकासमा ध्यान नदिएकोले नै आफूले उम्मेदवारी दिएको बताउनुभएको छ ।  

उहाँले सडक, सिँचाइ, स्वास्थ्यजस्ता सामान्य विषयमा समेत विगतमा केही नगरिएकाले आफूले गर्ने प्रतिबद्धता जनाएर समर्थन मागिरहनुभएको छ । एमालेका कक्षपतिले भने आफूले विगतमा धेरै काम गरेको र बाँकी रहेका काम गर्न जनताले फेरि पनि अवसर दिने विश्वास व्यक्त गर्नुभएको छ । 

खजुरा ३ का मतदाता दीपक केसी राठौरको पहुँच सिधै केन्द्रमा भएको र भोलिका दिनमा उहाँ मन्त्री बन्ने सम्भावनासमेत रहेकोले उहाँको जितमा यो क्षेत्रको विकास हुनसक्ने बताउनहुन्छ । सत्ता गठबन्धनभित्र कुनै गडबडी नहुने हो भने राठौरको जित सहज रहेको पनि केसीको दाबी छ । 

तर, खजुरा ५ का रमेश थापाले भने काँग्रेसका राठौरलाई बर्दियाबाट ल्याएर उम्मेदवार बनाएकोले धेरै जनताले उहाँलाई नचिनेको र जितेपछि फर्किने हुन् कि होइनन् भन्ने आशङ्का भएकोले पहिलेदेखि नै जनतामा भिजेका कक्षपतिको जित पल्लााभारी रहेको दाबी गर्नुभयो । उहाँले दुई जना मात्र मुख्य उम्मेदवार भएकोले प्रतिस्पर्धा निकै रोचक र कडा हुने अनुमान गरिएको पनि बताउनुभयो । 

क्षेत्र नम्बर ३ मा हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा सत्तारुढ गठबन्धन अगाडि देखिन्छ । सत्तारुढ गठबन्धनमा रहेका दलहरूका वडा अध्यक्षका उम्मेदवारले पाएको मत जोड्दा ४३ हजार ८९२ देखिन्छ । एमाले–राप्रपा गठबन्धनको मत जोड्दा २६ हजार ८०० देखिन्छ ।

स्थानीय तहको निर्वाचन अनुसार यो क्षेत्रमा काँग्रेसको २५ हजार ६८९, एमालेको २२ हजार १५९, माओवादीको १४ हजार ८१८, राप्रपाको ४ हजार ६४१, जसपाको ४ हजार १९९, नेकपा एकीकृत समाजवादीको २ हजार ३४८, लोसपाको एक हजार ३७ मत छ ।

यो पनि पढ्नुहोस

सङ्घीयताको अनुभूति नै गर्न पाएनौँ: दोलखाबासी

स्याङ्जामा गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा

दाङका ६१ मतदान केन्द्रको नेतृत्व महिलालाई

स्वतन्त्र उम्मेदवारले गठबन्धनलाई डर, एमालेलाई भर

Author

सिराज खान