• १ जेठ २०८२, बिहिबार

मुक्त कमैया अधिकारविहीन

blog

कोहलपुर–२, लोकनगरको मुक्त कमैया बस्ती । तस्बिर : लक्ष्मी तिमिल्सेना

जमुनाह समाचारदाता 

जमुनाह,जेठ १ गते  । मुक्त कमैयाको हैसियतले प्राप्त गरेको जग्गा किनबेच गर्न नपाउने भनी तोकिएको १० बर्से अवधि व्यतीत भइसक्दासमेत जग्गा फुकुवा नहुँदा सुकुमवासी, भूमिहीन, मुक्त कमैया  मर्कामा परेका छन् । २३ वर्षअघि मुक्त कमैयाको हैसियतले प्राप्त गरेको जग्गा उनीहरूले भोगचलन त गरिरहेका छन् तर आवश्यक परेको खण्डमा अन्य कुनै पनि काममा प्रयोग गर्न पाएका छैनन् । 

तत्कालीन अवस्थामा तोकिएको १० बर्से अवधि सकिएको पनि एक दशकभन्दा बढी भइसकेको छ । कोहलपुर नगरपालिका–११, लोकनगरका मुक्त कमैया कालीराम थारूले आफूहरूले उपभोग गरिरहेको जग्गा फुकुवा हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले हामीलाई लालपुर्जासहितको जग्गा वितरण गरे पनि ती जग्गा न किनबेच गर्न मिल्ने छन्, न त धितो राखेर कुनै आर्थिक सहायता लिने सुविधा उपलब्ध छ ।” मुक्त कमैया यसै पनि विपन्न वर्गका भएकाले सरकारले जग्गा फुकुवा गरिदिनुपर्ने उहाँको तर्क छ । 

२०५७ सालमा मुक्त कमैयालाई नेपाल सरकारले प्रदान गरेको लालपुर्जासहितको जग्गा प्राप्त गर्नुभएका उहाँले अहिलेसम्म त्यसको उपभोग गरिरहनुभएको छ तर उहाँले त्यो जग्गा काम परेको बेला बेचबिखन÷हक हस्तान्तरण÷अंशबन्डा तथा धितोसमेत राख्न पाउनुभएको छैन । 

कोहलपुर नगरपालिका–२, मुक्तिनगरका अगनिया थारूले आफूहरूको समस्या थाहा नपाउने नेता कोही पनि नभएको तर समस्या समाधानका लागि कसैले पनि पहल नगरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी भोट बैङ्कका रूपमा मात्रै प्रयोग भयौँ । समस्या समाधानमा भने कहिल्यै पहल भएन ।”

अनौपचारिक क्षेत्र सेवा केन्द्र ‘इन्सेक’ का लुम्बिनी प्रदेश संयोजक भोला महतले मुक्त कमैयालाई जमिनमाथिको पूर्ण अधिकार दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मुक्त कमैया यसअघि सयौँ वर्ष जमिनदारको बँधुवा भएर बसे । अब फेरि बँधुवा जस्तै बनाइनु हुन्न ।” बाँकेमा १४ हजार पाँच सयको सङ्ख्यामा मुक्त कमैया छन् । उनीहरू २७ हजार पाँच सय कट्ठामा बसोबास गर्दै आएका छन् । जमिनमाथिको पूर्ण अधिकारका लागि मुक्त कमैया अदालतसम्म पुगेका छन् ।