गुलरिया समाचारदाता
गुलरिया (बर्दिया),जेठ १ गते । बर्दियामा १० महिनादेखि अक्सिजन उत्पादन बन्द हुँदा बिरामीले सास्ती भोगिरहेका छन् । बर्दिया अस्पतालमा कोभिडको दोस्रो लहरको समयमा उत्पादन सुरु भएको अक्सिजन बन्द भएको र अक्सिजन प्लान्ट बन्द भएपछि बर्दियावासी नेपालगन्ज अक्सिजन लिन जान बाध्य भएका हुन् ।
उत्पादन हुन छोडेपछि बर्दिया अस्पतालमा अक्सिजन पूर्तिका लागि समस्या परेको छ । घरमा नै राखेर अक्सिजन दिनुपर्ने बिरामीका लागि सिलिन्डर बोकेर नेपालगन्ज पुग्नुपर्ने बाध्यता छ । जिल्लामा अक्सिजन उपलब्ध नहुँदा अक्सिजनमा आधारित उद्योगसमेत मर्कामा पर्ने गरेका छन् ।
बर्दिया अस्पतालका मेडिकल रेकर्डर एवं सूचना अधिकारी केशव न्यौपानेले बर्दिया अस्पताललाई मासिक २३० थान ठुलो सिलिन्डरको अक्सिजन आवश्यक पर्ने गरेको बताउनुभयो । अक्सिजन उत्पादन हुँदा आन्तरिक र बाह्य खपत राम्रैसँग हुने गरेको थियो । उहाँले भन्नुभयो, “अहिले अस्पताल आफँैले नेपालगन्जदेखि ल्याउने पर्ने बाध्यता छ ।”
बर्दिया अस्पतालमा अक्सिजनको समस्या भएपछि कोरोनाको समयमा सङ्घीय सरकारको सहयोगमा तीन वर्षअघि अक्सिजन प्लान्ट स्थापना भएको थियो । सङ्घीय सरकारको करिब ८२ लाख लगानीमा प्लान्ट स्थापना गरिएको थियो भने प्लान्टका लागि १८ लाख रुपियाँ लगानी गरेर भवन निर्माण गरिएको थियो । अक्सिजन प्लान्ट निर्माण भएपछि बर्दिया अस्पतालले करिब ४५ लाखको लागतमा अस्पतालभित्र पाइपलाइन विस्तार गरेको छ ।
उत्पादित अक्सिजन स्टोरका लागि ७५ लिटरका दुई वटा सिलिन्डर जडान गरिएको छ । दैनिक २० एमएम अक्सिजन उत्पादन गर्न सक्ने क्षमता भएको प्लान्ट हाल मर्मतसम्भारका लागि बजेट नहुँदा अलपत्र परेको छ । अक्सिजन प्लान्ट बजेट अभावमा ‘सर्भिसिङ’ को गर्न नसक्दा बन्द भएको बर्दिया अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुभाष पाण्डेयले बताउनुभयो ।
उहाँले करिब छ लाख रुपियाँ प्लान्ट बनाउन लाग्ने बताउँदै प्लान्ट सञ्चालन गर्न विद्युत्लगायत सञ्चालन खर्च अत्यधिक लाग्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्लान्ट सञ्चालन र अक्सिजन खरिद करिब उस्तै पर्ने गरेको छ ।” सङ्घीय सरकारले अक्सिजन प्लान्ट राखेर सञ्चालन र मर्मतसम्भारका लागि रकम उपलब्ध नगराएको बताउनुभयो ।