• १२ असोज २०८१, शनिबार

धान भित्र्याउने चटारो

blog

सन्तोष राउत

सोलुखुम्बु, कात्तिक २७ गते । निर्वाचनको चहलपहल भइरहँदा सोलुखुम्बुका किसानलाई खेतमा पाकेको धान काट्न र थन्क्याउन भ्याइनभ्याइ छ । 

यस जिल्लाको सल्यान, नेचाको तल्लो क्षेत्र, काँगेल, पञ्चन, जुबु, मुक्ली, देउसालगायतका स्थानका किसानलाई धान थन्क्याउने चटारो भएको हो । सिँचाइको सुविधा भएको, रोगको प्रकोप नभएको क्षेत्रमा भने धानको उत्पादन सन्तोषजनक भएको अनुमान गरिएको छ । 

सल्यान–७ का तेजबहादुर बस्नेतले गाउँमा निर्वाचनको चहलपहल बढेको भए पनि धान पाकेकाले किसान खेतमै व्यस्त भएको बताउनुभयो । “समयमा धान नथन्क्याए असिनापानी आउन सक्छ र वर्ष दिन खाने धान स्वाहा हुन्छ । त्यसैले किसानको प्राथमिकतामा पाकेको बाली भित्र्याउने नै परेको हो,” उहाँले भन्नुभयो । 

यस पटक दशैँतिहार छिटो भएकाले चाडपर्व सकिएलगत्तै खेतमा धान काट्न थाल्नुपरेको उहाँले बताउनुभयो । मौसम राम्रो भएकाले धान काट्न, सुकाउन र थन्क्याउन कुनै समस्या नभएको स्थानीयवासी बताउँछन् ।

अर्का किसान देवीबहादुर राउतले सबैको धान पाकेकाले धमाधम भएको र काम गर्ने मानिसको अभाव भएको सुनाउनुभयो । किसानलाई धान काट्नेसँगै दाइँ गर्ने, पराल थन्काउने, हिउँदे आलु लगाउने कामको भ्याइनभ्याइ छ । 

मौसम जुनसुकै बेला प्रतिकूल हुन सक्ने भएकाले असिनापानी पर्ने डरले धान भित्र्याउने समयमा किसान निकै चिन्तित हुन्छन् । 

पछिल्ला वर्ष चाँडो धान लगाउन थालिएकाले पनि धान छिट्टै पाकेको कृषक बताउँछन् । अलि ढिलाे रोपेको ठाउँमा भने धान अझै पाकेको छैन । 

विगतका वर्षको तुलनामा समयमा पानी परेको तथा धानमा लाग्ने रोगको प्रकोप खासै नदेखिएका कारण यस वर्ष धान उत्पादनमा केही वृद्धि भएको कृषकले बताएका छन् । 

सोलुखुम्बुमा एक हजार ६२५ हेक्टरमा धान खेती गर्ने गरेको तथ्याङ्क छ । यस जिल्लाका कृषकले मोटा धानका रूपमा दुधेमार्सी, ताइचिन, मकवानपुरे, दोलाखे, पोखरेलीलगायत जातका धान र मसिनो धान लगाउँछन् ।