• १२ असोज २०८१, शनिबार

चुनावी मैदानमा खेलकुदका मुद्दा अघिसार्दै कुमार

blog

घरदैलो कार्यक्रममा मत माग्दै दीर्घबहादुर केसी (कुमार) ।

गोविन्द रेग्मी/छविलाल पाण्डे 

बुटबल, कात्तिक २६ गते । रुपन्देहीका अधिकांश उम्मेदवारले अहिले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि घरदैलो कार्यक्रममा मतदातासँग सडक, खानेपानी, सिँचाई, स्वास्थ्य शिक्षाको विकासका कुरा उठाएका छन् । 

तर, रुपन्देहीको–२ अन्तर्गत प्रदेश सभा (क) का उम्मेदवार दीर्घबहादुर केसी (कुमार) ले भने रुपन्देहीमा विकासको अन्य मुद्दासँगै खेलकुदका मुद्दालाई पनि मतदातामाझ प्रमुख रूपमा अगाडि सार्नु भएको छ । 

मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धन दलको समर्थनमा नेपाली कांग्रेसबाट प्रदेश सभामा उम्मेदवारी दिनुभएका कुमार राजनीति र समाजसेवासँगै खेलकुद क्षेत्रमा परिचित नाम हो । 

नेपाल ओलम्पिक कमिटी (एनओसी) को सदस्य र नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को उपाध्यक्षसमेत रहनुभएका कुमारले रुपन्देहीलाई खेलकुदको माध्यमबाट देश विदेशमा चिनाउन सकिने बताउनुभयो । 


‘‘मैले चुनावी घरदैलो कार्यक्रममा जनतासँग खेलकुद क्षेत्रको भौतिक संरचना निर्माण र खेलाडी उत्पादनका विषयलाई जोडतोडका साथ उठाएको छु । खेल क्षेत्रको विकासका लागि नीतिनिर्माण तहमा पुगेर मात्र केही गर्न सकिने रहेछ । एनओसी र एन्फामा छँदैछु । तर नीतिनिर्माण तहमा बुझेको मानिस नहुँदा धेरै कुरा सोचेर पनि गर्न सकिँदो रहेनछ । मेरो उम्मेदवारी त्यसैको लागि हो,’’ ५० वर्षीय कुमारले गोरखापत्रसँग भन्नुभयो । 

उहाँले अहिलेको युवा जमातको सोचाई अनुसार काम गर्न आफु चुनावी मैदानमा होमिएको पनि बताउनुभयो । ‘‘म आफ्नो क्षेत्रमा केही गरौं भनेर चुनावी मैदानमा उत्रिएको हुँ । म जे बोल्छु त्यो गरेर देखाउँछु । रुपन्देहीमा अन्तर्राष्ट्रिय विमानस्थल बन्यो, सडक, खानेपानी, विजुली, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत क्षेत्रमा राम्रा काम भईरहेका छन् । यसको साथै खेलकुदको माध्यमबाट पनि विकास सम्भव छ । यही कुरा जतनालाई बुझाई रहेको छु । रुपन्देहीमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाएरै छाड्ने मेरो हिजो देखिको योजना हो,’’ कुमारले भन्नुभयो । 

अहिले मतदाताले युवा खोजिरहेको अवस्थामा आफ्नो उम्मेदवारी र योजना युवाको सोचसँग मिलेकोले जित सुनिश्चित भएको उहाँको दावी छ । रुपन्देही र बुटबलको प्रतिष्ठाको रुपमा रहेको ‘तिलोत्तमा गोल्ड कप’ लाई अगाडि बढाउन समेत कुमारको ठूलो हात छ । 

ऐतिहासिक गोल्ड कपले २२औं संस्करण पूरा गर्दा १७औं देखि २२औं सम्मको आयोजना सम्पन्न गर्ने काम कुमारकै अगुवाईमा सम्पन्न भएको थियो । सोही गोल्डकपको चामलाई बुझेका रुपन्देही–२ प्रदेश सभा (क) का जनताले घरदैलो कार्यक्रममा आफुलाई जितको प्रेरणा दिईरहेको पनि उहाँले बताउनुभयो । 

प्रदेश सभामा समेत छुट्टै प्रतिबद्धता–पत्र तय गरेर चुनावी मैदानमा होमिनु भएका कुमारले बुटबलको एन्फा एकेडेमी मैदानलाई अन्तर्राष्ट्रिय आधुनिक रंगशाला बनाउने, तिलोत्तमा नगरपालिकाको वडा नं ४ को डिंगरनगरमा रंगशाला बनाउने, खेलकुदको राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना, खेलाडी उत्पादन, युवालाई लागू पदार्थ दुव्र्यसनीबाट मुक्त गराई खेलकुदको माध्यामबाट उनीहरुको जीवन शैलीमा सुधार गर्ने जस्ता रचनात्मक योजना समेत अगाडि सार्नु भएको छ । 

‘‘म भनेको कुरा पूरा गर्ने मान्छे हुँ । मैले यसअघि खेलकुद र सामाजिक क्षेत्रमा काम गरिनै रहेको छु । कुमारले भन्नुभयो,‘‘खेलकुदसँगै प्रतिबद्धता–पत्रमा खानेपानी तथा सरसफाई, स्वास्थ्य, शिक्षा, रोजगारी, युवा विकास, शुसासन, कृषि, पर्यटन, मानव संसाधन, बुटबलमा औधोगिककरण, भूमिहिन तथा सुकुम्बासीको ब्यवस्थापन, मजदुरको उत्थान, कला संस्कृतिको संरक्षण, सहकारी प्रवद्र्धन र सञ्चार लगायत क्षेत्रको विषय पनि समेटेको छु । जनताको आवश्यकता नै मेरो प्राथमिकता हो ।’’ 

यस प्रदेश सभामा कुमारको प्रतिस्पर्धीका रुपमा नेकपा एमाले नेता लिला गिरी चुनावी मैदानमा हुनुहुन्छ । दोस्रो पटक चुनावी मैदानमा उत्रिनु भएका गिरीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र लोसपाको साथ रहेको छ । 

गत वैशाखमा भएको स्थानीय निर्वाचनमा रुपन्देही–२ प्रदेश सभा (क) अन्तर्गतका वडाहरुमा गठबन्धन दलको मत एमालेको भन्दा तीन हजार ३१९ ले अगाडि थियो । त्यतिवेला एक्लै लडेको जनमूक्ति दलले अहिले गठबन्धन दललाई साथ दिएको छ । गठबन्धनले स्थानीय निर्वाचनमा यस क्षेत्रमा दुई हजार १३७ मत पाएको थियो ।