• १२ असोज २०८१, शनिबार

चुनावको समयमा तस्करी बढ्यो

blog

भारतीय बजारबाट तस्करी गरेर ल्याइएको रासायनिक मल। तस्बिर: लक्ष्मण पौडेल

लक्ष्मण पौडेल

भैरहवा, कात्तिक २६ गते। प्रहरी निर्वाचनको सुरक्षामा खटिएको मौका पारेर सीमावर्ती क्षेत्रमा तस्करी मौलाएको छ। किसान भारतीय बजारबाट लुकिछिपी मल ल्याउने ध्यानमा लागेका छन्। जसको फाइदा तस्करले उठाइरहेका छन्। तस्करले खुलेआम मोटरसाइकलले थेग्न नसक्ने गरी सुरक्षाकर्मीकै युनिट अगाडिबाट तस्करी गरिरहेको पाइएको छ।

मर्चवारको कदमहवा नाकाबाट ट्याक्टरमै तस्करी हुने गरेको छ। चिनीको मुख्य तस्करी नाकाको रूपमा परिचय मर्चवारकै दुर्गौलियामा सीमा क्षेत्रका घरमा चिनीको गोदाम नै छ। भारतबाट चीन अवैध रूपमा ल्याएर गोदाममा राख्ने र आवश्यकताअनुसार भैरहवा, बेथरी, अमवा, मणिग्राम बुटवलसम्म मोटरसाइकलमा लोड गरेर दैनिक लाने गरेको स्थानीय सुनाउँछन्। 

त्रिलोकपुर नाकाबाट मोटरसाइकलमै अवैध माछा दैनिक रूपमा नेपाल आउने गरेका छन्। चिनी, माछा, कपडा मात्रै होइन पछिल्लो समय दैनिक उपभोग्य वस्तु, हार्डवेयर, मेसिनरी तथा इलेक्ट्रिकलगायतका सामान दुर्गौलिया, कदमहवा, बगौली, हरिनगढ, वंशी डिहवा, करौता, ठोठरी, तरैनी, खैराघाट, कञ्चनपुर, दुई मोहना, हर्दीडाली, बनगाई, सेमरपानी, भुजौली, पिपरहिया, केवटिलया, शंकरपुर, मेउडिहवा, नौडिहवा, बगहा, मैनिहवा, फरेनियालगायतका नाकाबाट तस्करी हुने गरेको छ। पिकअप, ट्याक्टर, मोटरसाइकल र साइकल ठाउँअनुसार तस्करले प्रयोग गर्ने गरेका छन्।

केही महिनाअघि मात्रै यही नाकाबाट भारतीय एसएसबी र कस्टमको संयुक्त टिमले तीनवटा कपडासहितको पिकअप नियन्त्रणमा लिएको थियो। गत मंगलबार भैरहवा भन्सार कार्यालयमा दुई करोड बढीको सामान नियन्त्रणमा लिइएको थियो। भन्सार हुने सामान पनि तस्करीको बाटो लागेकाले लक्ष्य प्राप्त गर्न गाह्रो भएको कार्यालयका प्रमुख मणिराम पौडेलले जानकारी दिनुभयो। बरामद वस्तुमा सुर्ती, कपडा, जुत्ता र गुटखा उद्योगका कच्चा पदार्थ र प्याकिङका सामान छन्।

बेथरी, पिपरहिया, मैनहिया, बगहा, दुर्गौलिया, मर्यादपुर, मेउडिहवालगायतका चौकीको अगाडिबाटै तस्करीका सामान निर्धक्क साथ आउने गरेको छ। सशस्त्र प्रहरी र नेपाल प्रहरीले सीमा क्षेत्रमै तस्करी नियन्त्रण गर्ने रणनीति बनाएको छ। सीमा सुरक्षा र तस्करी नियन्त्रणका लागि जिल्लाको सुरक्षाका लागि सशस्त्र प्रहरी उपरीक्षकको कमान्डमा सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर हेडक्वाटर छ।

सीमाको सुरक्षा तथा अन्य गरेर अहिले जिल्लामा १५ वटा सशस्त्र प्रहरी बलको युनिट छन्। एउटा गण, ६ वटा बोर्डर आउट पोष्ट र गुल्म, सुरक्षा बेस, जिल्ला कमान्ड पोस्ट सुख्खा बन्दरगाह र आईसीपी क्याम्प नौडिहवालगायतमा सशस्त्र प्रहरीकै युनिट छन्। भारतसँग ५९ दशमलव ७ किमी जोडिएको सीमासहित समग्र जिल्लाको सुरक्षा यिनै सुरक्षा निकायले गर्दै आएका छन्। तर, पनि तस्करी रोकिएको छैन।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार यस आर्थिक वर्षमा एक करोड ७५ हजार ५ सय २१ रुपैयाँ बराबरको किराना, विद्युतीय, सवारीसाधन, लत्ताकपडा, तथा पशु चौपायालगायतका चोरी तस्करीका सामान भैरहवा भन्सार कार्यालय पठाएको छ। पाँच लाख ४९ हजार ४११ रुपैयाँ बराबरको सुन बरामद गरेर भन्सार पठाएको छ।

सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर हेडक्वाटरका अनुसार यस आर्थिक वर्षमा दुई करोड दुई लाख ४४ हजार ८३४ रुपैयाँ बराबरको चिनी, कपडा, कुखुरा, माछा, मोटरपार्टस तथा हार्डवेयर, किरानालगायतका चोरी तस्करीका सामान भैरहवा भन्सार कार्यालय पठाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी रवीन्द्र रेग्मीले निर्वाचनलाई मध्यनजर गरेर थप जनशक्ति परिचालन गरेको बताउनुभयो। सशस्त्र प्रहरी बलका एसपी गगन श्रेष्ठले अरू जिल्लाको तुलनामा रुपन्देहीमा तस्करी नियन्त्रण भइरहेको दाबी गर्नुभयो।