• १२ असोज २०८१, शनिबार

दल कमजोर हुँदा लोकतन्त्र खतरामा पर्छ : खनाल

blog

रमेश विश्वकर्मा

गुल्मी, कात्तिक २६ गते । मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले राजनीतिक दलहरू कमजोर हुँदा लोकतन्त्र खतरामा पर्ने बताउनुभएको छ । मानव अधिकार तथा शान्ति समाज गुल्मी शाखाको दोस्रो साधारण सभामा खनालले सो कुरा बताउनुभएको हो । 

राजनीतिक दलहरूले शुद्धीकरण गर्न नसक्दा लोकतन्त्र कमजोर हुनसक्ने बताउनुभयो । “लोकतन्त्रमा राजनीतिक दलहरू मजबुत हुनुपर्छ, राजनीतिक दलहरू स्वस्थ हुनुपर्छ ।” उहाँले भन्नुभयो, “मानव अधिकारको विकासका लागि लोकतन्त्रलाई बलियो बनाउनुपर्छ । स्वतन्त्रता मानिसको जन्मसिद्ध र नैसर्गिक अधिकार हो ।” लोकतन्त्र बलियो नभए मानव अधिकार खतरामा पर्ने उहाँको भनाइ छ । 

समाजका उपसभापति कृष्ण रावलले मानवअधिकार तथा शान्ति समाजले नेतालाई नभई नीतिलाई प्रमुख मान्ने मानव अधिकार तथा शान्तिवादी संस्था भएको बताउनुभयो । संविधानमा व्यवस्था भएको मौलिक हक स्वतन्त्र ढङ्गले उपभोग गर्न पाए मात्र मानव अधिकार सुनिश्चित हुने उहाँले बताउनुभयो । 

कार्यक्रममा विष्णुप्रसाद भुसाल, गुल्मी जिल्ला अदालत बार एसोसिएसनका चिरञ्जीवी शर्मा, नागरिक समाज गुल्मीका संयोजक पदमप्रसाद पाण्डेय, सुशासन अभियान गुल्मीका विनोद पाण्डे, नेपाल पत्रकार महासङ्घ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले शुभकामना मन्तव्य राख्नुभयो ।

मानवअधिकार तथा शान्ति समाज गुल्मी शाखाको सभापतिमा ढुण्डिराज पोखरेल, उपसभापतिमा डोरविक्रम श्रीस, सचिवमा गणेश अधिकारी, सहसचिवमा बालसिंह खत्री, कोषाध्यक्षमा शान्ति नेपाली निर्वाचित हुनुभएको निर्वाचन अधिकृत चन्द्रकान्त पन्थीले जानकारी दिनुभयो । 

त्यस्तै, सदस्यहरूमा निर्मला अर्याल, लक्ष्मी अर्याल, दिलीपकुमार थापा, रमेश विश्वकर्मा, रामकृष्ण पौडेल, रामबहादुर बस्नेत, कमलप्रसाद अर्याल, मुना बराल, सुरेश परियार, शारदा भलामी निर्वाचित हुनुभएको पन्थीले बताउनुभयो ।