• १२ असोज २०८१, शनिबार

क्षेत्र ५ मा विकासले फड्को मारेको छ : नेता पोखरेल

blog

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक २६ गते । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष एवम् काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलले निर्वाचन क्षेत्रमा भौतिक पूर्वाधार तथा सामाजिक विकास नै आफ्नो निर्वाचन जित्ने आधार भएको बताउनुभएको छ । 

आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि घरदैलो अभियानमा व्यस्त रहनुभएका नेता पोखरेलले कामको मूल्याङ्कन गरेर मतदाताले आफूलाई निर्वाचित गर्ने विश्वास व्यक्त गर्नुभयो । २०७४ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय पालिकाको सहकार्यमा सडक निर्माण र स्तरोन्नति तथा खानेपानीको क्षेत्रमा व्यापक योजना तथा कार्यक्रमहरु अघि बढेको उहाँको भनाइ छ । 

यसैगरी, सांस्कृतिक सम्पदाहरुको संरक्षण र संवर्धनमा आफूले थुप्रै काम गरेको उहाँले बताउनुभयो । यो बीचमा काठमाडौं महानगरपालिका, टोखा तथा बूढानीलकण्ठमा विभिन्न पार्क तथा मन्दिरको पुनर्निर्माण कार्य सम्पन्न भएको उहाँले बताउनुभयो । २०७४ को निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभामा नेता पोखरेल, प्रदेश सभा (क) मा नारायण सिलवाल र दीपक निरौला निर्वाचित हुनुभएको थियो ।  

के के काम भए 

नेता पोखरेलका अनुसार टोखा नगरपालिका चण्डेश्वरी हुँदै बूढानीलकण्ठ जोड्ने ४ किमी सडक कालोपत्रेको काम सम्पन्न भएको छ । बूढानीलकण्ठ नगरपालिका ३ चपली घुम्तीदेखि श्रीराम स्कुलसम्मको सडक स्तरोन्नति कार्य सम्पन्न भएको छ । बूढानीलकण्ठ वडा ४ स्थित प्रगति पुस्तक पसल, गोल्डेन चोक, कपुरचोक हुँदै बूढानीलकण्ठ ६ जोड्ने सडक स्तरोन्नतिको काम सम्पन्न भएको छ ।

त्यस्तै, बूढानीलकण्ठ नगरपालिका ७ हात्तीगौंडा चोकदेखि विष्णुमतीसम्मको सडक कार्य सम्पन्न भएको छ । बूढानीलकण्ठ नगरपालिका ७ गोल्फुटारदेखि च्यासिङ्डोलसम्मको सडक स्तरोन्नतिको काम सम्पन्न भएको छ । साथै, च्यासिङ्डोलदेखि विष्णुमतिसम्म सडकको टेण्डर भई आगामी वर्ष काम सम्पन्न हुने चरणमा रहेको छ ।

सोहीअनुसार, देउराली जनता भगवती मन्दिर–टोखा रोडसम्मको सडक स्तरोन्नतिको काम सम्पन्न भएको छ । टोखा रोड–झुडोलमार्ग निर्माण सम्पन्न भइसकेको छ । त्यस्तै, झोर र टोखा जोड्ने मालुङ सडक स्तरोन्नतिको काम भइरहेको छ ।  

त्यस्तै, बूढानीलकण्ठ नगरपालिका ५ स्थित टुसालको पहिरो नियन्त्रणमा पहल गरिएको तथा काठमाडौं महानगरपालिका ४ र ५ हुँदै बग्ने खहरे खोला व्यवस्थित हुने चरणमा रहेको छ । काठमाडौं महानगरपालिका –५ स्थित सार्वजनिक जग्गा र बौद्ध विहार संरक्षण गर्न कम्पाउन्ड वाल निर्माण सम्पन्न भएको छ । यसैबीच काठमाडौं महानगरपालिका –३ स्थित शिवपुरी माविको स्तरोन्नतिका लागि विद्यालयलाई ल्यापटप वितरण गरिएको छ । 

सोहीअनुसार बूढानीलकण्ठ ७ स्थित पानचोक सामुदायिक भवन र पानचौर सामुदायिक भवन निर्माण कार्यका लागि बजेट विनियोजन भइ काम शुरुभएको छ । टोखा २ मा दिगो वातावरणमैत्री सामुदायिक भवन र चण्डेश्वरी सामुदायिक भवन निर्माण भएको छ । यसैबीच, काठमाडौं महानगरपालिकाभित्र स्थानीयको माग बमोजिम रानीबारी सामुदायिक भवन, विश्व शान्ति चिरन मिलन क्याम्पस भवन र बाँसबारी भवन निर्माण तथा सुधारको काम अघि बढेको छ ।