• १३ साउन २०८१, आइतबार

निर्वाचन सामग्री आइपुग्यो

blog

सर्लाही समाचारदाता

सर्लाही, कात्तिक २६ गते । सर्लाहीमा मङ्सिर ४ को निर्वाचनका लागि मतपत्रसहित सम्पूर्ण निर्वाचन सामग्री आइपुगेको छ। निर्वाचन आयोगबाट प्रतिनिधि सभा प्रत्यक्षतर्फको मतपत्र र मतदानका लागि आवश्यक सम्पूर्ण सामग्री आइपुगेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख निर्मल पोख्रेलले जानकारी दिनुभयो। 

उहाँका अनुसार आयोगबाट प्राप्त मतपत्रसहितका सामग्री सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा समेत पठाइसकिएको छ। जिल्ला निर्वाचन अधिकारी पोख्रेलले कुल मतदाता सङ्ख्याभन्दा पाँच प्रतिशत बढी मतपत्र प्राप्त भएको बताउनुभयो। सर्लाहीमा चार लाख ७९ हजार ३८ जना मतदाता छन्। 

मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले निर्वाचनको तयारीलाई तीव्र पारिएको बताउनुभयो। निर्वाचनका लागि जिल्लामा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगी छनोट भइसकेका छन्। 

मतदान अधिकृतलाई मङ्सिर १ गते मतदान केन्द्रमा पुगिसक्न भनिएको छ। एउटा मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, पाँच जना सहायक कर्मचारी र एक जना कार्यालय सहयोगी खटिनेछन्। 

जिल्लामा ३१२ मतदान स्थलअन्तर्गत छ सय मतदान केन्द्र छन्। ती मतदान केन्द्रमा चार हजार आठ सयभन्दा बढी कर्मचारी परिचालन हुनेछन्। निर्वाचनलाई लक्षित गरी जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका थप जनशक्ति आइरहेका छन्। 

नेपाल प्रहरी र सशस्त्र प्रहरीले चारवटै निर्वाचन क्षेत्रमा प्रहरी नायब उपरीक्षकको नेतृत्वमा निर्वाचन सुरक्षा बेस क्याम्प राखिएको छ। नेपाली सेनाले पनि सुरक्षाको हिसाबले अति संवेदनशील मानिने क्षेत्र नं. ४ को धनकौलमा निर्वाचन बेस क्याम्प राखेको छ। 

प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले निर्वाचनलाई निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न सुरक्षा प्रबन्ध मिलाउन लागिपरेको बताउनुभयो। जिल्लामा तीनवटा अस्थायी मतदान केन्द्र कायम गरिएको छ। नवलपुरस्थित नेपाली सेनाको भैरवी दल गण पाँच कुमारी ब्यारेक नजिकको आधारभूत विद्यालय पुनर्वासको मैदान, कविलासीस्थित सशस्त्र प्रहरीको गण अगाडिको गोलघर र सदरमुकाम मलङ्गवास्थित तीन बिघे मैदानमा अस्थायी मतदान केन्द्र कायम गरिएको हो। पाँचकुमारीस्थित सेनाको ब्यारेकमा २५८ जना र सशस्त्रको गणमा ८३ जना अस्थायी मतदाता रहेका छन्। 

सेना र सशस्त्रका जनशक्तिले सुरक्षा प्रदान गर्दै प्रतिनिधि सभाको समानुपातिकतर्फ मतदान गर्न सक्ने व्यवस्था मिलाइएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ। मलङ्गवाको तिन बिघे मैदानमा सरकारी कर्मचारी र अन्य सुरक्षाकर्मीलाई मतदानको व्यवस्था मिलाइएको छ। 

अस्थायी मतदाताहरूले ती केन्द्रबाट मतदान गर्न पाउने छन्। मतदान  केन्द्रमा  नखटिने  कर्मचारी  र  सुरक्षाकर्मी, वृद्धाश्रममा  रहेका  व्यक्ति,  निर्वाचन कसुरमा सजाय पाएकाबाहेक कारागारमा रहेका कैदी, बन्दीलगायतका व्यक्तिहरूले मतदान गर्ने व्यवस्था मिलाइएको हो।