• १२ असोज २०८१, शनिबार

चुनावी मैदानमा मन्त्रीदेखि पूर्वमुख्यमन्त्रीसम्म

blog

प्रकृति अधिकारी / सचिन पोखरेल

इटहरी (सुनसरी), कात्तिक २३ गते । आसन्न निर्वाचनमा राजनीतिक रूपमा प्रभावशाली र मन्त्रीको अनुभवसमेत लिइसकेका उम्मेदवारका कारण सुनसरीका चारवटै निर्वाचन क्षेत्रलाई निकै चासोका साथ हेरिएको छ। 

सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरीको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका लागि सत्ता गठबन्धनका साझा उम्मेदवार हुनुहुन्छ। उहाँका प्रतिस्पर्धीका रूपमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का तर्फबाट प्रदेश १ का पूर्वउद्योगमन्त्री जगदीशप्रसाद कुसियैत हुनुहुन्छ। सो क्षेत्रमा मन्त्री कार्कीको यो दोस्रो उम्मेदवारी हो भने कुसियैतको चौथो पटकको उम्मेदवारी हो। 

यसअघि सोही निर्वाचन क्षेत्रबाट मन्त्री कार्की विजयी हुनुभएको थियो। उहाँले २०७४ सालको निर्वाचनमा एमालेका रमेश श्रेष्ठलाई पराजित गर्नुभएको थियो। उहाँले त्यतिबेला ३२ हजार ३४७ मत ल्याउँदा एमालेका श्रेष्ठले २५ हजार ७५० मत प्राप्त गर्नुभएको थियो।

सञ्चारमन्त्री कार्कीले सो क्षेत्रमा विकास निर्माणका कार्यलाई प्राथमिकता दिनुभएकाले उहाँको लोकप्रियता बढ्दै गएको हो। उहाँले सप्तकोसी कटान नियन्त्रण तथा बाढीपीडित उद्धारका सम्बन्धमा विशेष योजना ल्याउनुभएको थियो भने सांसद विकास कोषमार्फत सो निर्वाचन क्षेत्रमा शिक्षा, स्वास्थ्य, सडक निर्माण, पुल, विद्युत्, खानेपानीसम्बन्धी थुप्रै योजनाका साथै कोसीटप्पु वन्यजन्तु आरक्ष वरपर बसोबास गर्ने मध्यवर्ती क्षेत्रका गरिब तथा विपन्न वर्गको आर्थिक जीवनस्तर उकास्ने विशेष कार्यक्रम ल्याउनुभएको थियो। सरकारका प्रभावशाली मन्त्रीका रूपमा परिचित उहाँकै पहलमा श्रीलङ्का टापुमा पहिलो पटक विद्युत् विस्तार गरिएको थियो।

सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ बाट पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार उम्मेदवार बन्नुभएको छ। सो क्षेत्रमा उहाँको यो सातौँ पटकको उम्मेदवारी हो। उहाँले हालसम्म पराजय बेहोर्नु परेको छैन। उहाँका प्रतिस्पर्धीका रूपमा एमालेकी भगवती चौधरी हुनुहुन्छ। पछिल्ला तीनवटै निर्वाचनमा गच्छदार र चौधरीबीच प्रतिस्पर्धा हुँदै आएको छ। गत २०७४ सालको निर्वाचनमा गच्छदारले ३८ हजार ९७२ र चौधरीले ३८ हजार ६५१ मत प्राप्त गर्नुभएको थियो। 

सुनसरी क्षेत्र नम्बर २ बाट गठबन्धनका तर्फबाट पूर्वराज्यमन्त्री सीताराम मेहता र एमालेका तर्फबाट प्रदेश १ का पूर्वमुख्यमन्त्री भीमप्रसाद आचार्य प्रतिस्पर्धामा हुनुहुन्छ। मेहताले २०७४ सालको निर्वाचनमा पनि यही निर्वाचन क्षेत्रबाट विजय हासिल गर्नुभएको थियो। त्यस निर्वाचनमा उहाँले माओवादी केन्द्रका डम्मरु सुवेदीलाई पराजय गर्नुभएको थियो। आचार्य २०७० सालमा सम्पन्न संविधान सभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ६ बाट निर्वाचित हुनुभएको थियो भने २०७४ सालको निर्वाचनमा निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट प्रदेश सभामा विजयी हुनुभएको थियो।   

सुनसरी क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी (जसपा) सङ्घीय परिषद्का अध्यक्ष अशोक राई उम्मेदवार हुनुहुन्छ। यो निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य मुकेश मुक्साहाङ म्याङ्ग्बो उम्मेदवार हुनुहुन्छ भने धरानका पूर्वनगरप्रमुख मनोज म्याङ्ग्बोले स्वतन्त्रबाट उम्मेदवारी दिनुभएको छ। एमालेबाट उम्मेदवारी नपाएपछि उहाँले स्वतन्त्र उम्मेदवारी दिनुभएको हो। २०७४ सालको निर्वाचनमा जसपाका राई एमालेका जयकुमार राईसँग पराजित हुनुभएको थियो। त्यो बेला राई सङ्घीय समाजवादी फोरम नेपालका तर्फबाट नेपाली कांग्रेसको समर्थनमा उम्मेदवार हुनुभएको थियो। 

सुनसरीमा प्रदेश सभामा पनि प्रतिस्पर्धा रोचक मानिएको छ। निर्वाचन क्षेत्र नम्बर २ (क)मा एमालेका रेवतीरमण भण्डारी र गठबन्धनका तर्फबाट माओवादी केन्द्रका द्वारिकालाल चौधरीबीचको प्रतिस्पर्धा देखिएको छ। भण्डारी एमाले सुनसरी जिल्ला अध्यक्ष तथा इटहरीका पूर्वउपप्रमुख हुनुहुन्छ भने चौधरी लामो समय एमालेमा रहेर जिल्ला अध्यक्ष हुनुका साथै इटहरीका पूर्वप्रमुख हुनुहुन्थ्यो। माओवादी केन्द्रमा प्रवेश गर्नुभएसँगै उहाँले उम्मेदवारी पाउनुभएको हो। सुनसरीमा ५९१ मतदान केन्द्र कायम गरिएको छ भने यहाँ पाँच लाख ४४ हजार ९४१ मतदाता छन्।