• १३ साउन २०८१, आइतबार

लोसपा अध्यक्ष ठाकुर कडा प्रतिस्पर्धामा

blog

प्रतिनिधि सभा सदस्यका उम्मेदवार महन्थ ठाकुर , हरिनारायण यादव, रामआधार कापर । तस्बिर: गोरखापत्र

जलेश्वर, कात्तिक २२ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ३ को प्रतिनिधिसभा सदस्य पदमा दोस्रो पटक निर्वाचन लड्नुभएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरलाई यो वर्ष अन्य वर्ष जस्तो सहज नहुने देखिएको छ । ठाकुरलाई एमाले, जसपा गठबन्धन र स्वतन्त्र उम्मेदवारसँग कडा रूपमा चुनौती सामना गर्नुपर्ने भएको छ । 

अहिले महोत्तरीको निर्वाचन क्षेत्र नं. ३ का चुनावी वातावरण निकै रोमाञ्चक भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेपाल कम्युनिस्ट पार्टी (एमाले) गठबन्धनका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार हरिनारायण यादव र स्वतन्त्र उम्मेदवार रामआधार कापरले लोसपा अध्यक्ष ठाकुरलाई कडा चुनौती दिने आम मतदाताको अड्कल  छ । 

२०७४ को चुनावमा आफ्ना निकटतम प्रतिद्वन्द्वीसँग १८ हजार ३३६ मतान्तरले विजयी हुनुभएका ठाकुरलाई मङ्सिर ४ गते हुने चुनाव सहज नहुने देखिएका छ । अघिल्लो पटक ठाकुरलाई नेपाली काँग्रेसले अन्तिम समयमा आफ्नो उम्मेदवार बजरङ्ग नेपालीको उम्मेदवारी फिर्ता लिन लगाई सहयोग गरेपछि महन्थको जित सहज भएको थियो । 

यस पटक पाँच दल गठबन्धनमै रहेर चुनाव लड्नुभएका ठाकुरलाई स्वतन्त्र उम्मेदवार कापर र वाम गठबन्धनका उम्मेदवार यादवको चुनौती थपिएको हो । स्थानीय तहको निर्वाचनमा महोत्तरी निर्वाचन क्षेत्र नं. ३ मा पहिलो जातीय आधारमा मत खसेको, दोस्रो व्यक्तिगत प्रभाव, तेस्रोमा दलीय हिसाब र चौथो मधेसी सेन्टीमेन्टको आधारमा उम्मेदवारले मत पाएका थिए । 

तर मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावी माहाैल स्थानीय तहको जस्तो नहुने मतदाताहरूको भनाइ छ । यसपालिको निर्वाचनमा कुनै उम्मेदवारलाई बलियो र कसैलाई कमजोर भनेर व्याख्या गर्न सक्ने अवस्था नरहेको राजनीतिक जानकार कृष्णचन्द्र झा भन्नुहुन्छ ।

Author

महेशकुमार दास