• १३ साउन २०८१, आइतबार

प्रचार सामग्रीले चोक कुरूप

blog

सप्तरी समाचारदाता 

सप्तरी, कात्तिक २१ गते । सप्तरीको राजविराजस्थित गजेन्द्र चोकलाई प्रचारप्रसारका सामग्री टाँस्ने स्थलका रूपमा प्रयोग गरिएको छ। नगरलाई सफा बनाउने नारा बोकेका राजनीतिक दल तथा उम्मेदवार नै गजेन्द्र चोकलाई  कुरूप र फोहोर बनाउन लागेका छन्। 

गत स्थानीय तहको निर्वाचनका बेला पनि गजेन्द्र चोकलाई घेरिएको पर्खालका भित्ता दल र उम्मेदवारका प्रचारप्रसारका पोस्टरले रङ्गिएका थिए। 

सरसफाइ अभियन्ताहरू गजेन्द्र चोकलगायत राजविराजलाई सफा बनाउन तल्लीन छन्। चुनाव जित्ने होडबाजीले दल र उम्मेदवारले जथाभावी चुनाव प्रचारप्रसार सामग्री टाँसिरहेका छन्। निर्वाचन आचारसंहिताविपरीत सडक छेउछाउका पोल, पर्खाललगायत धार्मिक आस्थासँग जोडिएका स्थलमा समेत प्रचारप्रसार गरिए पनि प्रशासन मौन छ।   निर्वाचान आचारसंहिताअनुसार कसैको घरजग्गा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सडकका सार्वजनिक पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झन्डा, दल वा उम्मेदवारको निर्वाचन चिह्न राख्न वा टाँस्न पाइँदैन। राजनीतिक दल र उम्मेदवारहरूले यसको उल्लङ्घन गरिरहेका छन्। 

नागरिक सञ्जालका अध्यक्ष सुखराम यादवले भन्नुभयो, “गजेन्द्र चोकको पर्खालमा टाँसिएको पोस्टरका बारेमा प्रशासनले कडाइ गर्नुपर्ने हो। प्रहरी प्रशासनको आँखा छलेर पोस्टर टाँस्ने गरिेएको छ।” पटक–पटक सर्वदलीय बैठकबाट निर्वाचन आचारसंहिता सबैले पालना गर्ने प्रतिबद्धता व्यक्त गरे पनि बेवास्ता गर्ने गरिएको उहाँले बताउनुभयो। 

सप्तरीका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जथाभाबी टाँसिएका पोस्टर हटाइने बताउनुभयो।