• १३ साउन २०८१, आइतबार

कांग्रेस मधेश प्रदेशको संकल्पपत्र सार्वजनिक

blog

संकल्पपत्र सार्वजनिक गर्दै कांग्रेस मधेस प्रदेश । तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह

जनकपुर, कात्तिक २० गते । नेपाली कांग्रेस मधेश प्रदेशले प्रदेशको संकलल्पपत्र आइतबार सार्वजनिक गरेको छ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी १० बुँदे मधेश प्रदेश संकल्पपत्र सार्वजनिक गरेको हो । 

संविधानको रक्षा, स्थिरता, र समुन्नतिको आधार कांग्रेस नेतृत्वमा मधेश सरकार मूल नाराका साथ सार्वजनिक गरिएको संकल्पपत्रमा लोकतन्त्र तथा सुशासन, आर्थिक विकास, भौतिक पूर्वाधार, सामाजिक विकास, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा जलवायु परिवर्तन, युवा तथा खेलकुद विकास, दलित, जनजाति, मुस्लिम, तथा पिछडा वर्ग उत्थान, अन्तरप्रादेशिक प्रदेश सम्बन्ध, प्रदेश सङ्घ सम्बन्ध र मधेश प्रदेशको समग्र विकास समेटिएको छ । 

‘व्यवस्था होइन, व्यवस्थापनलाई परिवर्तन गरौँ’ भन्दै लोकतन्त्र तथा सुशासन अन्तर्गत भ्रष्टाचारमुक्त प्रशासनका लागि सबैको साथ विकास मूलमन्त्रलाई अवलम्बन गरिने उल्लेख गरिएको छ ।  यस्तै ‘आयात घटाऔँ, निर्यात बढाऔँ’ भन्ने आर्थिक विकास अन्तर्गत कृषि क्षेत्रको विकासमा घरघर खाद्य, खेतखेतमा सिँचाइ, सिँचाइ प्रयोजनको विद्युत् महसुल निःशुल्क, सडक सञ्जालको प्रबन्ध लगायतलाई प्राथमिकतामा राखिएको छ ।

पर्यटन प्रवर्द्धन तथा संस्कृति जगेर्नाका लागि जानकी मन्दिर, छिन्नमजस्ता भगवती मन्दिर, धनुषाधाम जलेश्वरनाथ मन्दिर, भाथाधाम, परौलस्थान, सलहेश फूलबारी, गढीमाई, गहवाइ मन्दिर परिसरलाई भौतिक रूपमा सुधार गर्ने प्रतिबद्धता पनि गरिएको छ । 

यसैगरी, भौतिक पूर्वाधारमा ‘घरघर बिजुली, घरघर पानी र घरघर सञ्चार’ दिगो लक्ष्य लिएको जनाएको छ । यसअन्तर्गत हुलाकी सडक निर्माण यथाशीघ्र निर्माण पूरा गराउने, पूर्व–पश्चिम लोकराजमार्गसँग जोडने, वीरगन्ज जनकपुर, राजविराजमा अन्तरप्रदेश स्मार्ट बस टर्मिनल निर्माण गरी प्रदेशस्तरीय बस सञ्चालन गरिने जनाइएको छ । 

त्यस्तै ‘मधेश पढौँ, मधेश पढाऔँ, राम्रा विद्यालय हाम्रा विद्यालय’ मूलमन्त्र दिएको शिक्षाअन्तर्गत इन्जिनियरिङ क्याम्पस, चिकित्सक क्याम्पस, नरसिंह क्याम्पस, ल क्याम्पस, ललितकला क्याम्पस स्थापना गरी सञ्चालन गरिने लक्ष्य लिएको छ । 

कांग्रेस मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवसहितकाले संकल्पपत्र सार्वजनिक गर्दै आसन्न निर्वाचनलाई केन्द्रित गर्दै पाँच वर्षे विकास रणनीति र कार्ययोजना उल्लेख भएको बताउनुभयो । 

कांग्रेसले मधेस प्रदेशलाई समृद्धि, नमुना विकासमैत्री योजना, शिक्षा, स्वास्थ्य, विकास पूर्वाधार, कृषि र सिँचाइ र नागरिकको भावनालाई समेत संकल्पपत्रमा समेटेको कांग्रेस मधेसका सूचना सञ्चार तथा प्रचारप्रसार नितेशकुमार गुप्ताले जानकारी दिनुभयो ।