• १३ साउन २०८१, आइतबार

परिगाउँ क्षेत्रमा पर्ने गरी महाकाली नदीमा पक्की पुल बनाउँछु : प्रधानमन्त्री देउवा

blog

आलिताल गाउँपालिका –५ गोदाममा आयोजित आमसभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिर : पुष्कर भण्डारी

पुष्कर भण्डारी

डडेल्धुरा, कात्तिक २० गते । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाकाली नदीमा पक्की पुल बनाउने प्रतिबद्धता जनाउनुभएको छ । गृह जिल्ला डडेल्धुराको लालढुङ्गस्थित जोगबुडा रङ्गशालामा आइतबार आयोजित चुनावीसभामा उहाँले सो प्रतिबद्धता जनाउनुभएको हो ।

प्रधानमन्त्री देउवाले परशुराम नगरपालिका –५ परिगाउँ र भारत जोड्ने महाकाली नदीमा पक्की पुल बनाउने उहाँको भनाइ छ । “परिगाउँमा महाकाली नदीमा पक्की पुल बनाउँछु, बनाउँछु, बनाउँछु” प्रधानमन्त्री देउवाले भन्नुभयो, “यहाँको विभिन्न ठाउँमा झोलुङ्गे पुल पनि बनाउँछु ।”  



डडेल्धुराको परशुराममा आयोजित आमसभामा सहभागी सर्वसाधारण । 

पुल बनाउन नेपाल–भारत दुबैबीच समन्वयको आवश्यकता पर्ने भन्नुहुँदै प्रधानमन्त्री देउवाले आफूले भारतीय प्रधानमन्त्रीसँग पुलका विषयमा कुराकानी गरिरहेको जानकारी दिनुभयो । परिगाउँबाट भारत उत्तराखण्डको टनकपुर, बनबासा सहर नजिक पर्छ । महाकाली नदीमा पुल बनाउन सके नेपालका चारधाम मध्येको एक धाम परशुरामधाम र भारतको पूर्णागिरि मन्दिरलाई धार्मिक रुटमा जोड्न सकिने स्थानीयको बुझाइ छ ।

पुल बनेमा पर्यटन गतिविधि बढाउन र स्थानीयको भारतीय बजारमा आउजाउ गर्न सहज हुने प्रधानमन्त्री देउवाले बताउनुभयो । कञ्चनपुरको दैजी–लिप्ना–जोगबुडा–बुडर सडक कालोपत्रे गर्ने काम भइरहेकाले यसले पनि स्थानीयको जीवनस्तरमा परिवर्तन ल्याउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।  

महाकाली नदी, रंगुन र पन्तुरा खोलाले आलिताल, जोगबुडा क्षेत्रमा खेत बगाउने, बाढीले धनजनको क्षति हुने गरेको भन्दै उहाँले रंगुन खोलाको आलितालदेखि नै महाकाली नदीसम्म पक्की तटबन्ध निर्माण गर्ने बताउनुभयो । खानेपानी समस्या भएका गाउँमा मूलको खोजी गरी शुद्ध खानेपानीको व्यवस्था गर्ने पनि प्रधानमन्त्री देउवाले बताउनुभयो । 

चार दिन गृह जिल्ला डडेल्धुरामा रहँदा देउवाले यहाँका सात वटै स्थानीय तहमा पुगी चुनावी आमसभालाई सम्बोधन गर्नुभएको थियो । उहाँले कात्तिक ११ गते नवदुर्गा र गन्यापधुरा गाउँपालिकामा, १९ गते अजयमेरु र भागेश्वर गाउँपालिका र आइतबार आलिताल गाउँपालिका र परशुराम नगरपालिकामा आयोजित आमसभालाई सम्बोधन गर्नुभयो ।