• १३ साउन २०८१, आइतबार

विद्यापति मैथिली भाषा साहित्य पुरस्कार चौधरीलाई

blog

धर्बेन्द्र झा 

धनुषा, कात्तिक २० गते । विद्यापति पुरस्कार कोषले २०७९ मा प्रदान गरिने मैथिली भाषाको विभिन्न चार विधाको पुरस्कार घोषणा गरेको छ । कोषका सदस्य सचिव रुद्रकुमार झाले आइतबार विज्ञप्तिमार्फत पुरस्कारबारे जानकारी गराउनुभएको हो ।  

मैथिली भाषा साहित्यको क्षेत्रमा नोबेल पुरस्कार मानिएको नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार २०७९ वाट धनुषाको विदेह नगरपालिका वडा –२ दुहबी निवासी वरिष्ठ साहित्यकार अयोध्यानाथ चौधरीलाई पुरस्कृत गर्ने घोषणा कोषले गरेको छ । सो पुरस्कारको राशि २ लाख रहेको कोषका सदस्यसचिव झाले जानकारी दिनुभयो । 

त्यसैगरी कोषले नेपाल विद्यापति मैथिली कला संस्कृति पुरस्कार २०७९ मैथिली भाषाका गायक आभास लाभ र अभिनय कर्मी वैद्यनाथ राय कुर्मीलाई प्रदान गर्ने घोषणा गरेको छ । सो पुरस्कारको राशि १ लाख रुपियाँ भए पनि यस पटक एउटै पुरस्कार दुई जनालाई प्रदान गरिएको कोषका सदस्यसचिव झाले जानकारी दिनुभयो । 

त्यसैगरी नेपाल विद्यापति मैथिली पाण्डुलिपि पुरस्कार २०७९ वरिष्ठ साहित्यकार महेन्द्रकुमार मिश्र र नेपाल विद्यापति मैथिली अनुवाद पुरस्कार २०७९ रमेशकुमार यादवलाई प्रदान गर्ने निर्णय कोषले गरेको छ । दुवै पुरस्कारको राशि एक एक लाख रुपियाँ रहेको छ । मैथिली भाषाका महाकवि विद्यापतिको नामबाट २०६८ मा नेपाल सरकारले मैथिली भाषा साहित्यको उत्थानका लागि गठन गरेको सो कोषले प्रत्येक वर्ष मैथिली भाषा साहित्यको क्षेत्रमा काम गर्ने स्रष्टालाई पुरस्कार प्रदान गर्दैआएको छ ।