• १३ साउन २०८१, आइतबार

आचारसंहिता पालनाबारे सूक्ष्म निगरानी

blog

ललिता साह

वोदेवसाईन (सप्तरी) कात्तिक २० गते । आगामी मङ्सिर ४ मा हुन गइरहेको आसन्न निर्वाचनमा आचारसंहिताको पालना भए नभएको बारेमा निर्वाचन आयोगले सूक्ष्म अनुगमन गरिरहेको सप्तरीका मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले बताउनुभएको छ । जिल्ला निर्वाचन कार्यालय सप्तरीको आयोजनामा आइतबार जिल्लाका सञ्चारकर्मीसँग निर्वाचन आचारसंहितासम्बन्धी गरिएको अभिमुखीकरण कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । 

अन्यत्रभन्दा सप्तरीमा न्यून मात्रामा आचारसंहिता उल्लङ्घन भएको तथा सञ्चारमाध्यममा आएका समाचारकै आधारमा सरकारी कर्मचारीबाटै भएका उल्लङ्घनका घटनाबारे हामीले आयोगमा तत्काल गरेको रिपोर्टिङ्गको आधारमा २४ घण्टे स्पष्टीकरण सोध्ने काम आयोगले गरिरहेको उहाँले जानकारी दिनुभयो ।आचारसंहिता पालनामा थप कडाइका लागि आउँदा दिनमा सञ्चारकर्मीसहितको टोलीद्वारा जिल्लामा आचारसंहिता पालना भए नभएको अनुगमन गर्ने मुख्य निर्वाचन अधिकृत रावलले बताउनुभयो । 

पटक पटक सचेत गराउँदा पनि आचारसंहिता पालना नगर्ने दल तथा उम्मेदवारको उम्मेदवारी रद्द गर्नेसम्म अधिकार आयोगसँग सुरक्षित छ । यद्यपि आचारसंहिता कानुन भन्दा पनि नैतिक आधारमा पालना गर्नुपर्ने पक्ष भएकाले निर्वाचन सकसपूर्ण नबनोस् भन्नेमा सचेत हुनुपर्ने उहाँले बताउनुभयो । 

निर्वाचनको सुरक्षा सवालमा सप्तरीको पाँच सय ३६ मध्ये चार वटा बाहेक सम्पूर्ण मतदानस्थल अति संवेदनशील मानिएको उहाँको भनाइ छ । यस अवस्थामा निर्वाचनलाई भयरहित बनाउन सप्तरीमा ६८ किलोमिटर खुला सिमानाका रहेकाले चुनौती रहेको उहाँले बताउनुभयो । यस विषयमा हामीले गत साता सप्तरी र सुनसरी जिल्लाको प्रमुख जिल्ला अधिकारीले भारतसँगका अधिकारीहरुँगको छलफलमा कुनै प्रकारको अवरोध नहुने भनेर भारतीय प्रशासनले आश्वस्त गरेको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिनुभयो ।  

निर्वाचन बिथोल्ने खालका अवाञ्छित गतिविधि तथा क्रियाकलाप, सानाठूला हातहतियार, निर्वाचनमा प्रयोग हुन सक्ने सम्भावित खतरालाई ध्यान दिई जिल्लामा निर्वाचन लक्षित प्रहरीको विशेष सुरक्षा योजना र सर्च अभियान पनि थालिएको प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो । आमसभा लगायतको कार्यक्रम गर्ने पक्षले प्रशासनसँग लिखित अनुमति लिनुपर्ने जिल्ला निर्वाचन अधिकारी रमेश जोशीले बताउनुभयो ।  

निर्वाचन सुरक्षाका लागि १६ सय ३४ नेपाल प्रहरी, ३२ सय ६८ म्यादी, ५ सय सीमामा रहेका विओपी सम्बन्धित सशस्त्र प्रहरी खटाइएको प्रहरी कार्यालयले जनाएको छ । कारागार र विमानस्थलको सुरक्षा सोमबारबाट नेपाली सेनालाई हस्तान्तरण गरिएको छ । निर्वाचन भॉडनेलाई बल प्रयोगको अधिकार प्रहरीलाई रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अभिनारायण काफ्लेले जानकारी दिनुभयो ।