• १९ असोज २०८१, शनिबार

रुपन्देही २ मा एमाले–राप्रपा–जसपाको प्रतिबद्धतापत्र जारी

blog

छविलाल पाण्डे 

बुटवल, कात्तिक २० गते । रुपन्देहीको निर्वाचन क्षेत्र नं. २ मा नेकपा (एमाले), राप्रपा र जसपाको संयुक्त प्रतिबद्धतापत्र आइतबार सार्वजनिक भएको छ । बुटवलमा पत्रकार सम्मेलन गरी प्रतिबद्धतापत्र सार्वजनिक गरिएको एमालेले जनाएको छ । 

प्रतिनिधि सभा सदस्य उम्मेदवार विष्णु पौडेल तथा प्रदेश सभा सदस्य उम्मेदवार लीला गिरी र भोजप्रसाद श्रेष्ठ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता निरञ्जन थापा, समानुपातिक उम्मेदवार एवम् प्रदेश अध्यक्ष प्रदीपकुमार उदय, मृगेन्द्रकुमार शेरचन लगायत उम्मेदवार तथा नेताहरूले प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभयो ।  

प्रतिबद्धतापत्रमा एकीकृत विकास र रूपान्तरणकारी पूर्वाधारसहितको बृहत् लुम्बिनी, शिक्षा, स्वास्थ्य, पूर्वाधार, आवास तथा भूमि व्यवस्था, युवा उद्यमशीलता, श्रम तथा रोजगार, पर्यटन, कला र संस्कृतिको विकास गरिने उल्लेख छ । 

प्रतिबद्धता कार्यक्रमलाई सम्बोधन गर्दै रुपन्देही –२ बाट प्रतिनिधि सभामा उम्मेदवारी दिनुभएका एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले आफ्नो ड्रिम प्रोजेक्टको रूपमा कालीगण्डकी–तिनाउ नदी डाइभर्सन परियोजना अघि बढाउने प्रतिबद्धता जनाउनुभयो । 

प्रतिबद्धतापत्रमा बुटवल, तिलोत्तमा, सैनामैना, सिद्धार्थनगर, देवदह लगायत समग्र रुपन्देही र पश्चिम नवलपरासीको त्रिवेणी, बर्दघाट, रामग्रामदेखि कपिलवस्तुका तिलौराकोट, कृष्णनगर, शिवराजसम्मको क्षेत्रलाई समेटेर वृहत् लुम्बिनी विकास गुरुयोजना तयार गरी कार्यान्वयन गरिने प्रतिबद्धतामा चर्चा गरिएको छ । 

यस्तै, बृहत् लुम्बिनी क्षेत्रअन्तर्गतका सहरलाई उच्चस्तरीय एवम् आधुनिक सडक सञ्जालबाट जोड्ने र सुविधायुक्त सार्वजनिक यातायात सञ्चालन गरिने प्रतिबद्धता गरिएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गरिने प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ ।

कृषि र सिँचाई, सडक, खानेपानी, विद्युत् तथा आधारभूत पूर्वाधार, युवा तथा खेलकुद, महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित एवम् उत्पीडित वर्ग र सामाजिक सुरक्षा, सूचना, प्रविधि र सञ्चार, सुशासन र सेवा प्रवाहका क्षेत्रमा नागरिकलाई सेवा र सुविधा दिने प्रतिबद्धता गरिएको छ ।