• १२ असोज २०८१, शनिबार

पुनः मतदान गर्नुपर्ने अवस्था आउन दिन्नौँ : प्रमुख निर्वाचन आयुक्त

blog

‘निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरूको भूमिका” विषयक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया । तस्बिर : निर्वाचन आयोग

झापा, कात्तिक २० गते । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने स्थिति सृजना हुन नदिने गरी निर्वाचन सम्पन्न गराउने तयारीका साथ निर्वाचन आयोग अघि बढेको बताउनुभएको छ ।

मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनका सन्दर्भमा आज (आइतबार) झापाको बिर्तामोडमा निर्वाचन आयोग, नेपाल र नेपाल कानुन समाजले आयोजना गरेको ‘निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरूको भूमिका” विषयक कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख आयुक्त थपलियाले ठूलो प्राकृतिक विपत्तिबाहेक अन्य कारणले मतदान स्थगित हुने अवस्था नहुने बताउनुभयो ।

उहाँले सुरक्षाका कारण वा राजनीतिक दलले कुनै पनि मतदातालाई प्रभाव पार्ने कु नियत राखेको खण्डमा त्यस्ता तत्त्व वा व्यक्तिलाई नियमसंगत कारबाही गरिने जानकारी दिनुभयो ।  उहाँले सोही कारण पुनः मतदान हुन नदिने स्थिति सिर्जना गराउन आयोग जुटेको बताउनुभयो ।

कुनै पनि मतदाताले आफूलाई लोभलालच र धाकधम्कीका कारण मतदान गर्नबाट अप्ठ्यारो स्थिति सृजना गरियो भन्ने गुनासो आउने वातावरण सृजना नै नहुने गरी आयोग देशभर सचेतनामूलक कार्यक्रम लिएर हिँडिरहेकाे उहाँको भनाइ थियो ।


प्रमुख आयुक्त थपलियाले निर्वाचन आचारसंहिता र निर्वाचन खर्चको पालनासहित स्वच्छ र स्वतन्त्र निर्वाचन गराइने बताउनुहुँदै उहाँले सामाजिक सञ्जालमार्फत हुन सक्ने मिथ्या सूचना, दुष्प्रचार र घृणाष्पद अभिव्यक्तिलाई नियमन गर्नसमेत आयोग लागि परेको बताउनुभयो ।

निर्वाचनको स्वच्छतासँगै लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको भरपुर उपभोग गर्न सक्ने वातावरणका साथ यो निर्वाचनलाई सम्पन्न गराउन आयोग अघि बढेको उहाँले स्पष्ट गर्नुभयो । कार्यक्रममा झापाका मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवाली, प्रमुख जिल्ला अधिकारी छवि रिजाल, जिल्ला प्रहरी प्रमुख विश्वमणि पोखरेल, नेपाल बार एसोसिएसनका पदाधिकारी, विभिन्न उम्मेदवार, जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र नागरिक समाजका प्रतिनिधिको उपस्थिति रहेको थियो ।